कतारमा नेपालीलाई गोली हानेर दिइयाे मृत्युदण्ड

दोहा / कतारमा एक जना नेपालीलाई मृत्युदण्ड दिइएको छ । महोत्तरीको औराही–१,का अनिल चौधरीलाई गोली हानी मृत्युदण्ड दिइएको हो । अनिल चौधरीलाई सुनाइएको सजाय कार्यन्वयन गराइएको भनेर कतार सरकारले एक महिनाअघि जानकारी पठाएको कतारस्थित नेपाली दूतावास स्रोतले जनाएको छ । दूतावासले काठमाडौंस्थित कन्सुलर विभागमा यसबारे जानकारी गराइसकेको जनाएकाे छ ।

चौधरी एक कतारी नागरिकको हत्याको आरोपमा गत २०१७ अप्रिलको पहिलो हप्ता पक्राउ परेका थिए । उनलाई कतारी नागरिक उमैर मोहम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्याको अभियोगमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाइएको थियो ।

चौधरीलाई माफी दिनको लागि पीडित कतारी परिवारले अस्वीकार गरेको थियो । तल्लो अदालतको फैसलालाई सर्वोच्च अदालतले पनि अनुमोदन गरेपछि जेल प्रशासनले मृत्युदण्डलाई कार्यान्वयन गरेको हो । कतारमा नेपालीलाई मृत्युदण्ड दिइएको यो पहिलो घटना हो ।

तपाईको प्रतिक्रिया