विराटनगरमा एक पुरुषको हत्या गरेर घर भित्रै गाडियो शव

विराटनगर / विराटनगर महानगरपालिका–१४ का एक पुरुषको हत्या गरेर घर भित्रै खनेर शव गाडेको पाइएको छ । मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले हत्या गरेर ५५ वर्षीय सत्यराम चौहानको शव घर भित्रै पुरेको अवस्थामा बुधबार साँझ भेटिएको जानकारी दिए । उनका अनुसार हत्या गरेपछि चौहान सुत्ने खाटकै साइटमा लगभग दुई÷तीन फिट जति गहिरो खाल्डो खनेर गाडेको अवस्थामा शव भेटिएपछि गम्भीर रुपमा अनुसन्धान अघि बढाइएको छ । आफ्नै घर भित्र शव गाडिदिएका कारण घटना हत्या नै हो भन्ने प्रष्ट भए पनि रात परिसकेका कारण सबै कुरा खुल्न बाँकी रहेको अधिकारले बताए ।

प्रहरीका अनुसार सत्यरामका तीन छोरा मध्ये उनी अविवाहित रहेका जेठो छोरो २९ वर्षीय रोहितसँग बस्ने गरेका थिए । माइलो छोरो नागेन्द्र बिहे गरेर श्रीमतीसहित विराटनगर–१५ मा डेरामा बस्थे । कान्छो छोरो भने चार÷पाँच वर्षदेखि वेपत्ता रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार डुल्दै जाने क्रममा साँझ माइलो छोरो नागेन्द्र बुवा र दाजु बस्ने घरमा पुगे । चौहानको कर्कटपाता र काठले बनाएको एक तले घर छ । झ्याल ढोका केही पनि नलगाइकन सबैतिर खुल्लै छाडिएको घरमा नागेन्द्रले बुवा र दाजुलाई नदेखेपछि प्रहरीलाई खवर गरेका थिए ।

त्यसपछि चौहानको घरमा प्रहरी पुगेको थियो । प्रहरीले घर भित्र चौहान सुत्ने खाटको छेउमा केही दिन अघि खनेको माटो देखेपछि खनेर भित्र हेर्दा घर धनीकै शव फेला परेको एसपी अधिकारीले बताए । प्रहरी घरमा पुग्दा जेठो छोरो रोहित घरमा थिएनन् । केहीबेरपछि आइपुगेका उनले आफू घरमै रहे पनि दिनभर काममा जाने र केही दिनदेखि बुवालाई आफूले समेत नदेखेको प्रहरीलाई बताएका थिए । रोहितलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएको छ ।

प्रहरीले माइलो छोरो नागेन्द्रमाथि पनि सोधपुछ थालेको छ । शव एवं घटनास्थलको प्रकृतिका आधारमा चार÷पाँच दिन अघि नै हत्या गरेर शव पुरेको जस्तो देखिने एसपी अधिकारीको भनाइ छ । रात परिसकेका कारण घटनाका बारेमा धेरै कुरा बुझ्न नसकिएको र विस्तृत रुपमा अनुसन्धान गरेपछि सबै कुरा पत्ता लाग्ने उनले बताए । घर भित्रै खनेर गाडेको अवस्थामा भेटिएको चौहानको शव उत्खनन् गर्दै प्रहरीले पोस्टमार्टमका लागि कोसी अस्पताल लगेको छ ।

तपाईको प्रतिक्रिया

Loading…