बालिका बलात्कार गर्ने दुई जना पक्राउ, पीडित गर्भवती हुँदा पनि गोप्य थियो घटना

माेरङ / मोरङको पथरीशनिश्चरेबाट १४ वर्षीया बालिकामाथि बलात्कार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पथरीशनिश्चरे नगरपालिका–८ का २८ वर्षीय रामकुमार माझी र २० वर्षीय विशाल माझी छन् । इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीका अनुसार रामकुमारले गत मंसिर २४ गते र विशालले यही चैत ८ गते बालिकामाथि बलात्कार गरेको खुलेको छ । रामकुमारले बलात्कार गर्दा बालिका गर्भवती पनि भएको खुलेको उनको भनाइ छ ।

विभिन्न डर, त्रास र धम्की दिँदै बलात्कार गरेका कारण बलात्कारबाट पीडित बनेर गर्भवती हुँदा पनि बालिकाले लामो समयसम्म घटना गोप्य राखेको डीएसपी गिरीले बताए । बारम्बार आफू बलात्कृत हुन थालेपछि भने बालिकाले घटनाका बारेमा अभिभावकलाई सुनाएको प्रहरीले पूर्वेली न्युजलाइ बताएकाे छ ।

बालिकाले आफन्तलाई पनि दोस्रो पटक बलात्कृत भएको घटनाका बारेमा मात्रै सुनाइएकी थिइन् । प्रहरीले बलात्कारको दोस्रो घटना गराउने विशाललाई पक्राउ गर्दै बालिकालाई स्वास्थ्य परीक्षणका लागि लग्यो । स्वास्थ्य परीक्षणबाट मात्रै पीडित बालिका गर्भवती रहेको र उनको पेटमा चार महिनाको गर्भ रहेको खुलेको थियो ।

त्यसपछि गत मंसिरमा पहिलो पटक रामकुमारबाट बालिका बलात्कृत भएको र पेटमा बच्चा रहेको पुष्टि भएको डीएसपी गिरीले बताए । त्यसपछि रामकुमारलाई पनि पक्राउ गरिएको उनको भनाइ छ । ‘लकडाउन’ र अदालत खुलेपछि दुवै जना विरुद्ध जबरजस्ती करणी मुद्दामा म्याद थप गरेर अनुसन्धान अघि बढाउँदै कानुनी प्रक्रिया सुरु गरिने डीएसपी गिरी पूर्वेली न्युजलाइ बताए ।

तपाईको प्रतिक्रिया

Loading…