कोरोना भाग्ने हौवाको पछि लाग्दै घरघरमा दिपबत्ति

इनरुवा / नेपालीलाई हौवाको पछि लाग्ने समाज भनिएको पक्कै हैन रहेछ । केहि हप्ता अघि कोरोना भगाउन हेलिकप्टरबाट औषधी छर्कदै भन्ने अफवाहको पछि दौडिएको समाज आज पूनः अर्को लहैलहैमा देखिएको छ । सामाजिक सञ्जालमा छाएको विषयलाई लिएर गाउँगाउँमा घर अगाडी दीप प्रज्वलन गरिएका छन् ।

एकले दीप बाल्दा त्यसैको पछि लागेर हरेकजसो परिवार आफ््नो घर अगाडी दियोमा बत्ति बाल्न आतुर देखिएका छन् । तर बत्ति बाल्नुको अर्थ भने कोहीकसैलाई थाहा छैन् । स्थानीय प्रमिला पोखरेलले भनिन्,“ सबैले बाले अनि मैले नि बालिदिए । ” बाटोमा एकपछि अर्को बत्ति बाल्नेको संख्या बढ्दै गएको छ । इनरुवाका विभिन्न भेगका वस्तीहरुमा दियो बालिएको खबरहरु प्राप्त भएका छन् । केहिले रातीको ९ बजे पछि दियो बाल्ने भन्दै पर्खि बसेको समेत पाइएको छ ।

सामाजिक सञ्जालमा भनिए अनुसार घरघरमा बत्ति बाल्दा विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाग्छ रे । त्यही हल्लाको पछि लागेर नेपालीहरु यतिबेला आआफ्नो ठाउँ र घरबाट कोरोना भगाउनमा व्यस्त छन् ।  वास्तवमा आज बाल्ने बत्तिको प्रशंग भारतीय प्रधानमंत्री नरेन्द्र मोदीको सम्बोधन र आग्रहसँग जोडिएको छ ।

कोरोनासँग जुधिरहेको भारतमा जारी लक डाउनले आजित बनेका जनताको आत्मबल बढाउदै भाइरस विरुद्धको लडाईमा एकतावद्ध रहेको सन्देश मोदीले उक्त कदम अघि बढाएका हुन् । यसअघि समेत उनले जनतालाई थाल ठटाएर सरकार र जनता सँगसँगै कोरोना विरुद्धको अभियानमा छौं भन्ने सन्देश दिन भनेका थिए । उक्त अभियानमा जनताले साथ दिएकाले पूनः मोदीले आज ९ बजे ९ मिनेटका लागि विजुली बन्द गरी दियो, मोमबत्ति, टर्च, मोबाइल जस्ता साधन प्रयोग गरी प्रकाश फैलाउन जनतामाझ आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया

Loading…