प्रहरी र सिकारीबीच गोली हानाहान, भरुवा बन्दुक सहित ३ जना पक्राउ

सुन्दरहरैचा । लकडाउनको मौका छोपेर मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ८ मा रहेको सलकपुर सामुदायिक वनको उत्तरी सिमाना क्षेत्रमा सिकार खेलिरहेका ३ जना शिकारी पक्राउ परेका छन ।

जंगलमा सिकार खेलिरहेका ३ जनालाई भरुवा बन्दुक सहित डिभिजन वन कर्यालय सलकपुरबाट खटिएको संयुक्त सुरक्षाटोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा केराबारी गाउँपालिका आमजुँगीका ३५ वर्षीय डम्बरबहादुर जोगी, सोही ठाउँका २७ वर्षीय किसान कार्की र झापाको धाइजनका २७ वर्षीय किरण धिमाल रहेका छन् ।

सलकपुर र केराबारीका गरी ४० जना जतिको समूहमा सिकार खेलिरहेको सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल हाइवे सुरक्षा पोष्ट सलकपुरका प्रहरी निरीक्षक विदुर भट्टराईको नेतृत्वमा गएको टोलीलाई देखेपछि सिकारीले फायर गरेका थिए । सिकारीको संख्या ठूलो भएको र हतियार सहित आमनेसामने भएपछि सशस्त्र प्रहरी बलबाट जवाफी फायर गरेर नियन्त्रणमा लिइएको शसस्त्रका प्रहरी निरिक्षक भट्टराईले बताए ।

वन रक्षकबाट ७ राउण्ड, सशस्त्र प्रहरीबाट १ राउण्ड र सिकारीबाट ९ राउण्ड फायर भएको प्रहरी निरीक्षक भट्टराईले बताए । सिकारीको साथबाट २ सय ग्राम बारुद र एउटा मोबाइल नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएका सिकारीलाई कानुनी कार्वाहीका लागि प्रक्रिया अघि बढाइने सब डिभिजन बन कार्यालय सलकपुरका प्रमुख लालबहादुर माझीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

Loading…