इच्छा (कविता)

इच्छा

कलकल सरिताको छालमा रम्न पाऊँ
हरदम धरतीकै गीत भाका सुनाऊँ।।
मधुर धुन बिनायो बाँसुरी सुन्न पाऊँ
रनवनसित डुल्दै गाउँमै मीत लाऊँ।।

हिमगिरि तिर डाँफे गर्वले नाच्न पाउन्
समथर तिर मैना हर्षले हाँस्न पाउन् ।।
नियमित झरनामा आँत यो भिज्न पाओस्
हरदिन दिल मेरो राष्ट्र देख्दै रमाओस् ।।

मुलुक र जनतामा मित्रता भाव जागोस्
अवगुण जति हट्दै देशमा शान्ति आओस्।।
सदन गुटहरूमा फैलियोस् ज्ञान राम्रो
वरपर दुनियाँमा गुञ्जियोस् नाम हाम्रो।।

तरुण युवकले यो देश सत्ता चलाऊ
प्रतिपल निगरानी घूसखोरी हटाऊ।।
जलथल सब धर्ती भ्रष्टले बेच्न सक्छन्
शिखर सगरमाथा दुष्टले टेक्न सक्छन्।।

कतिपय निमुखाका आङ नाङ्गा छँदैछन्
विचलित मन सारा दीर्घरोगी रुँदैछन्।।
युवक र युवती हो जाग ओछ्यानबाट
अवनिभर सुनौलो आउला नै प्रभात।।

= सुन्दरहरैंचा (मोरङ)

तपाईको प्रतिक्रिया

Loading…