छोराछोरी लाइ अन्तिम सन्देश : ‘बाँचेर पनि केही गर्न सकेनौ…………. गुड बाई’

‘प्यारा छोराछोरी, (नाम) तिमीहरूको लागि हामीले बाँचेर पनि केही गर्न सकेनौ । सरी ल ! राम्ररी पढ्नु । अरूको कुरा नसुन्नु । सदैव तिमीहरूलाई हाम्रो आशीर्वाद छ, गुड बाई’ ।

बुधबार इलाममा एक दम्पतीको शव भेटिएपछि मृतकको घर भित्रबाट प्रहरीले बरामद गरेको अन्तिम सन्देश जो उनीहरूका छोराछोरीको लागि थियो ।

इलामको फाकफोकथुम गाउँपालिका ५ लुम्देको कैंजस्थित धनबहादुर खपांगी र उनकी पत्नी रिताको शव बुधवार दिउँसो घरको आँगनमा लडेको अवस्थामा फेला परेपछि प्रहरीले अनुसन्धानका क्रममा खाताको पानामा यस्तो सन्देश भेटाएको थियो । उक्त सन्देश धनबहादुरको हातले लेखेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । सन्देश माथि दुवै जनाको मोबाइल समेत भेटिएको थियो ।

खपांगी दम्पतीको शव रगतमा लतपतिएको अवस्थामा भेटिएको थियो । बिहान छोराछोरीलाई खाना खुवाएर परीक्षा दिन पठाएका उनीहरू परीक्षा दिएर फर्किएका १४ वर्षीय छोरा र ९ वर्षकी छोरीले रगतमा डुबेको अवस्थामा देखेपछि मात्र गाउँमा हल्ला भएको थियो ।

घोप्टो परेर लडिरहेका मृतक धनबहादुरले कम्मरमा खुकुरीको दाप भिरेको र खुकुरी उनको नजिकै भेटिएको थियो । घटनाको अनुसन्धान सकेर जिल्ला फर्किएका इलामका डिएसपीको हेमन्त भण्डारीले मृतक दुवै जनाको घाँटीमा गहिरो चोटका कारण अत्यधिक रक्तस्रावबाट उनीहरूको मृत्यु भएको बताए ।

घटनास्थलबाट बरामद भएको खुकुरीबाटै दुवै जनाको ज्यान गएको हुन सक्ने उनको भनाई छ । ‘शवको पोस्टमार्टमका लागि धरानस्थित विपी पठाएका छौ, केही दिनमै रिर्पाेट आउने छ त्यसपछि हामी घटनाको वास्तविकता बारे जानकारी दिनेछौ’ भण्डारीले भने ‘अहिले हामी अनुसन्धानकै क्रममा छौ’ ।

घटनाको अनुसन्धानको लागि १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट डिएसपी सुमनकुमार तिम्सिनाको नेतृत्वमा कुकुरसहितको एक घटनास्थल पुगेको थियो ।

घटनास्थलमा लगिएको कुकुर सोही घर आसपास मात्र घुमेको कारण पनि यो हत्या नभई आत्महत्या भएको बताइएको छ ।
पोस्टमार्टम रिर्पाेटमा भने मृतकको पत्नीको गर्दन र घाँटीमा गरी दुई ठाउँमा र धनबहादुरको भने घाटीमा गहिरो काटेको चोट भेटिएको प्रहरी स्रोतको दाबी छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले पनि दुबैजनाले घटनास्थलमा बरामद खुकुरीले एक अर्कोको घाँटी रेटेर आत्महत्या गरेको अनुमान गरेको छ । साथै सुसाइड नोट बरामद हुनुले पनि घटना आत्महत्या तर्फ सोझिएको प्रहरीको भनाई छ । बरामद खुकुरीको ल्याब टेस्टको लागि प्रहरीको विधि विज्ञान प्रयोगशाला पठाइएको छ । प्रहरीले यस घटनालाई आत्महत्या वा हत्या दुवै कोणबाट अनुसन्धान गरिरहेको बताइएको छ ।

अपराध न्युज बाट

तपाईको प्रतिक्रिया

Loading…