नलगाउनुस् अग्ला हिल भएका जुत्ता, हुन सक्छन् यस्ता समस्या

शहरी महिला अग्ला हिलयुक्त जुत्ता–चप्पल लगाउन मन पराउँछन्। हिलयुक्त जुत्ता–चप्पल लगाएर युवतीहरू आफूलाई ‘फेसनेबल’ देखाउन खोज्छन् । कम उचाइ भएका युवतीहरू आफूलाई अग्लो देखाउन यस्ता जुत्ता–चप्पल लगाउँछन् ।

फेसनेवल देखाउन र आत्मसन्तुष्टिका लागि प्रयोग गरिएका यस्ता जुत्ता–चप्पलले स्वास्थ्यमा भने गम्भीर खालका समस्या निम्त्याउन सक्छ। अग्ला हिलयुक्त जुत्ताले तत्कालीन रूपमा दुर्घटनाको खतरा बढाउँछ भने दीर्घकालीन रूपमा शरीरमा विभिन्न किसिमका समस्या सिर्जना हुन्छ ।

हिल लगाउँदा शरीरको सन्तुलन मिल्दैन। अग्ला हिल लगाएर बाटोमा हिँड्दा दुर्घटनाको डर हुन्छ। नमिलेको, ओह्रालो बाटोमा हिल सजिलैसँग अड्याउन गाह्रो हुने समस्या हुन्छ । यस्तो अवस्थामा लडेर ठूला चोटपटक लाग्ने तथा हात खुट्टा भाँचिने खतरा हुन्छ ।

लामो समयसम्म अग्ला हिल भएका जुत्ता–चप्पल लगाउँदा खुट्टामा समस्या देखिन्छ। यसले खुट्टाको स्वरूप नै बिगार्ने, सुन्निने, लगातार खुट्टा दुख्ने तथा नसामा समस्या आउनेजस्ता समस्या देखिन्छन्। यसका कारण खुट्टाको अगाडिको नसा र कुर्कुच्चा सुन्निने समस्यासमेत हुन्छ ।

पैताला दुख्ने समस्या समेत आउँछ। यस्तै पैतालाको मांसपेशी तन्किएर दीर्घकालीन रूपमा नसासम्बन्धी रोगको सम्भावना समेत बढ्छ।

अग्लो हिल लगाउँदा कालान्तरमा घुँडा र मेरुदण्डमा नकारात्मक असर पार्छ। घुँडामा अतिरिक्त दबाब परेर अर्थाइटिस, ब्याक पेन, मांसपेशीमा दुखाइजस्ता समस्या देखिन्छन्। त्यस्तै कम्मरको नसामा समस्या देखिनुका साथै साइटिका नामक रोग लाग्ने सम्भावना हुन्छ।

तपाईको प्रतिक्रिया

Loading…