कर्मकाे कमाइ : पहाड, उन्यू र म (कविता)

जिन्दगी उन्यूको बोटजस्तो
दिउलहरू बोकेर हरियो खोपडीभरि
उम्रिरहेछन् फूलहरूको बगैँचाभन्दा पर
सोत्तर सोहर्नेहरूको डढेल्नाभरि
र, म उन्यू फुल्छ भनेर
फूलबारीभरि उन्यूका दिउलहरू छरिरहेछु ।

जिन्दगी बगैँचामा फुलेको फूल छुनुहुन्न रहेछ
जो आफ्ना लागि थोरै र अरूका लागि ज्यादा फुल्छ
जो आफ्नै सौन्दर्यले आफैँ बाँच्न भुल्छ
र, मन्दिरमा चढाउनेहरूसँगै बलि चढ्छ
म, उन्यूलाई औधी माया गर्न थालेको छु
ऊ फुल्नुभन्दा नफुलेकै राम्रो लाग्न थालेको छ ।

धनकुटे कान्छा

म पहाडको बास्ना आँखामा सुँघेर सोच्छु
हिमाललाई दैलोमा उभ्याएर सुन्छु
झरनालाई मनमा झङ्झङाएर हेर्छु
यी बतासहरूले चराहरूको गीत बोकेको पहाड
आज मेरो उन्यूघारीको बाटो भएर
लेकसम्म ऐंसेलु टिप्दै–दिप्दै गयो
र, गोठ सार्दै गरेको गोठालाहरूसँगै
सुसेल्दै–सुसेल्दै आयो
कि, म आज सहरमा बसेर पहाड नियालिरहेछु ।

टाढा भएर सम्झँदा–सम्झँदा पहाड हुँदोरहेछ
बसाइँ सरेको मन बोकेर मुग्लान लाग्नेहरूको सपनाजस्तो
म बिरानो सहरबाट पहाडलाई चिठ्ठी पठाउँदै छु
म मुटु राखेर अक्षरहरूमा पहाडलाई माया पठाउँदै छु ।

कसरी पोत्न सकेको होला यो चित्रकारका आँखाहरूले
उन्यूका दिउलहरूमा मान्छेका मुटुहरु
र, कसरी रंग्याउन सकेको होला यो चित्रकारका पाइतालाहरूले
पहाडका टाउकामा मान्छेका छाँयाहरु
म मेरो भित्ताको चित्र हेरेर भित्तो भएको छु
कि, म उन्यू भएर उम्रिन सकिँन
यो घरै घरको सहरमा
कि, म पहाड भएर उभिन सकिँन
यो गजुरै–गजुरको सहरमा ।

सत्य ! रिकुटे नसम्झिदिनुहोला
म, पहाड फर्किदा एउटा कविको भरिया भएर फर्कदैछु ।

तपाईको प्रतिक्रिया

Loading…