स्वस्थानी व्रतकथा भाग – ७, (दक्षसेना बधवर्णन)

कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि, सतीदेवीले यज्ञमा फाल हानी प्राण छोडेको देखेर त्यहाँ भएका सबैले आश्चर्य मानी ओहो ! कस्तो अनर्थ हुन गयो, अब के हुने हो ? भन्न लागे । त्यसपछि अकस्मात धुलो उडी आकाश ढाक्न लाग्यो । आँधीबेह्री आई चारैतिर अन्धकार भयो र विनाबादल नै मेघ गर्जन लाग्यो । सबैका आँखामा धुलो पर्न गयो र कति भूइँमा घोप्टो परे । कसैलाई आँधीले उडाइ लगे । कति रुन कराउन लागे त कति आफ्नै सम्भार र सुरक्षामा लागे । यस्तो महाउत्पात भएको देखी मन धैर्य गराएका दक्ष प्रजापतिले ‘डराउनु पर्दैन, सबैले धैर्य राख’ भनी आफ्ना सबै पाहुना र गुरु पुरोहितहरूलाई सम्झाई बुझाई आफ्ना गुरु बृहस्पतिसित बिन्ती गरे – ‘हे गुरुदेव ! अकस्मात् यस्तो के अनर्थ हुन गयो ? हाहाकार मच्चियो अब कसो गरुँ ?’

हे अगस्त्य मुनि ! त्यसैबेला नारद ऋषिले पनि सतीदेवी अग्नीकुण्डमा प्रवेश गरी देह त्यागेको देखी वायु वेगले कैलाशमा पुगी महादेवका चरणमा साष्टाङ्ग दण्डवत् गरी उठेर हात जोडी भन्न लाग्नुभयो – ‘हे जगदीश्वर ! हे करुणामय ! पापिष्ठ दक्ष प्रजापतिले नाना तरहले हजुरको निन्दा गरी ‘त्यो कहाँको देवता हो ? त्यो ता बौलाहा हो, त्यसलाई मेरा यज्ञमा नडाके मलाई के होला ?’ भनेको सुनी हजुरकी प्राणप्रिया सतीदेवीले सहन गर्न नसकी अत्यन्त क्रोध गरी लात्तले भूइँमा हानी, कसैको मुख पनि नहेरी, यज्ञलाई प्रदक्षिणा गरी बारम्बार हजुरको नाम लिंदै यज्ञकुण्डमा फाल हाली प्राण त्याग गर्नुभयो । हे ईश्वर ! हजुरका भयले अग्निले जगदीश्वरी सतीदेवीको शरीरलाई दग्ध गर्न सकेका छैनन् । वहाँ अहिले प्राण मात्र छोडी शयन गरेझैं यज्ञकुण्डमा नै रहनु भएको छ । हे ईश्वर ! यही कुरा विन्ती विसाउनका निम्ति सरासर आउँदैछु ।’

नारदजीले भनेका कुरा सुनेपछि महादेवबाट आज्ञा भयो – ‘हे नारद मुनि ! के मेरी प्राणप्रिया सतीदेवीले अग्निप्रवेश गरी प्राण छोडेको सत्य हो ?’ महादेवको यस्तो आज्ञा सुनी नारदजीले फेरि भन्नुभयो – ‘हे जगतका पति ! हे महेश्वर ! हजुरका अगाडि म कसरी असत्य बोल्न सकुँला ? कुरा सत्य हुन् । नभए हजूरले ध्यानदृष्टिद्वारा हेरिबक्सियोस् ।’ नारदजीका यी कुरा सुनेपछि दक्ष प्रजापतिदेखि उठेका रिसले तीनै नेत्रबाट अग्निज्वाला निकाली, दाह्रा किट्दै, हात मुठ्ठी पार्दै शिवले भन्नुभयो – ‘हे नारद ! बेलैमा यो कुरा सुनायौ, राम्रो भयो । तेत्तीस कोटि देवताले रक्षा गरिएको त्यो पापिष्ठको अब म निर्मूल नपारी छोड्दिन । तिमी आफ्ना आश्रममा जाऊ ।’ भनी नारदजीलाई विदा दिनुभयो । नारदजी पनि महादेवमा साष्टाङ्ग दण्डवत् बिन्ती चढाई बिदा भएर ब्रह्मलोकतर्फ लागे ।
त्यसपछि सतीदेवीका विरहले व्याकुल भएका महादेवले अत्यन्त क्रोधित भई आफ्ना शिरबाट एउटा जटा उखेली जसै पृथ्वीमा पछार्नुभयो, त्यसबाट मेघ गर्जे झैं ठूलो भयानक शब्द गरी कराएर चौसठ्ठी योगिनी, भूत, प्रेत, प्रमथगण सहित महाकाली उत्पत्ति भइन् । ती कस्ती थिइन् भने डरलाग्दा आँखाबाट अग्निका ज्वालाजस्तो तेज निकालेकी, लामालामा दाह्रा र बङ्गारा भएकी, आकाश जत्रो पेट भएकी, कम्मरमा बाघको छाला बेष्टित गरेकी, केश फिंजिएकी, हातमा खड्ग लिएकी, लब्लबाउँदो जिब्रो निकाल्दै कहिल्यै हाँस्ने र जिब्रो चलाउने त्यस्ती महाकाली महादेवका अगाडि खडा भई र ‘मलाई के कामले आराधना गर्नुभयो ? आज्ञा गर्नुहोस्’ भनेर कठोर स्वरमा भन्दी भइन् । त्यसपछि फेरि पनि महादेवले अर्को एउटा जटा उखेलेर भूइँमा पछार्नुभयो । जसबाट धर्ती नै डोलायमान हुने गरी सिंह झैं गर्जी हजार सूर्यको जस्तो तेज भएका, नरमुण्डको माला लगाएका, दाहिने हातमा त्रिशूल लिएका, भीममूर्ति भएका वीरभद्रले महादेवका अगाडि आएर बिन्ती गरे – ‘हे भगवन् ! किन हाम्रो आराधना गर्नु भो ? आज्ञा गर्नुहोस् ।’

महादेवबाट आज्ञा भयो – ‘हे महाकाली ! हे वीरभद्र ! तिमीहरू गएर तेत्तीस कोटि देवताद्वारा रक्षा गरिएको पापिष्ठ दक्ष प्रजापतिको यज्ञलाई ध्वंश गरी दक्षको संहार र तेत्तीस कोटि देवताहरूलाई समेत नाश गरी आओ । यसै कारण मैले तिमीहरूलाई आराधना गरेको हुँ ।’ महादेवको आज्ञा सुनेका महाकाली र वीरभद्रले नन्दी, भृङ्गी, विषमज्वर, चतुःषष्ठी योगिनी, भूत, प्रेत, पिशाचसहित भर्इ मेघ गर्जिए झैं गर्जी, पृथ्वी डोलायमान गराउँदै, यमराज नै आए झैं गरी अति क्रोधले युक्त हुँदै कैलाशबाट दक्ष प्रजापतिले यज्ञ गरेको ठाउँ कनखलका निम्ति प्रस्थान गरे । तिनीहरूको गर्जनाले गर्दा पृथिवीलाई थाम्न साह्रै गाह्रो भयो र डोलायमान भइन् । सात समुद्र कम्पायमान भयो । जलचर, स्थलचर, यावत प्राणीहरू त्राही त्राही हुन गए ।

उता दक्ष प्रजापतिका यज्ञमा पनि अनेकौं उत्पात हुन लागे । ठूलो आँधीबेह्री आई धुलो उडेर अन्धकार छायो । मण्डलाकार गरी कराउँदै उड्न लागेका गिद्ध र कागले आकाश ढाकियो । दुबै आँखा र मुखबाट अलच्छिन दृष्टि र शब्द निकाल्दै कराउँदै स्यालहरू हिंड्न थाले । आकाशबाट रक्तवृष्टि हुनुका साथै वायुदेव पनि उल्टो दिशाबाट बग्न थाले । कहिल्यै नदेखेको र नभोगेको यस्तो उत्पात देखेर यज्ञका वरिपरि रहेकाहरू सबै हाहाकार गरी रोई कराई चारैतिर भाग्न थाले । केटाकेटी, बुढाबुढी, रोगी र गर्भिणीहरू भाग्न नसकी भूइँमा घोप्टो परी रुन र कराउन थाले । यस्तो महाउत्पात देखी देवताहरू पनि आश्चर्यमा परी त्राही त्राही भइरहे । त्यसैबेला गणले सहित भएका महाकाली र वीरभद्र पनि मेघ गर्जे झैं गर्जी हात्तीका वथानमा सिंह पुगे जसरी दक्ष प्रजापतिका यज्ञमा पुग्दा भए । तहाँ उप्रान्त यज्ञमा रहेका देवता, यक्ष, गन्धर्व, किन्नर, दैत्य र नागहरूसँग शिवगणको महासङ्ग्राम सुरु भयो ।

हे अगस्त्य मुनि ! त्यो देखेर यज्ञमा रहेका दक्ष प्रजापतिका छोरीहरू, देवकन्याहरू, अप्सराहरू, ऋषिहरू, ब्राह्मणहरू , गुरुपुरोहितहरू र बालबालिकाहरू तथा आशामुखीहरू ‘हे नारायण ! हे भगवान् ! बचाऊ ! बचाऊ !’ भन्ने ठूला शब्दले रुँदै कराउँदै दशै दिशामा ठेलिँदै र मिचिँदै भागाभाग गर्न थाले । भाग्न नसकेकाहरू त्यहीँ नै लडेर मुण्टो जोतेर कष्टमा परिरहे, कसैका खुट्टा मर्किए, कत्ति आत्तिएर मूर्छा परे ।

यस्तो भयानक स्थिति देखेपछि विष्णुप्रभृत्ति तेत्तीस कोटि देवता, यक्ष, गन्धर्व, किन्नर, दैत्य र नाग आदिले दक्ष प्रजापतिको रक्षामा निम्ति आआफ्ना शस्त्रास्त्रद्वारा महाकाली र वीरभद्रमाथि प्रहार गर्न थाले । दुबैतर्फबाट हुँदै गरेको यो घनघोर युद्धका योद्धाहरूले परस्परमा सिंहनाद गर्न लागे । इन्द्रादि तेत्तीस कोटि देवताहरूले गणसहित आइलागेका महाकाली र वीरभद्रमाथि अनेकौं शस्त्रास्त्र क्षेपण गरे । ती शस्त्रास्त्रमा ब्रह्मास्त्र, इन्द्रास्त्र, वारुणास्त्र, अग्न्यास्त्र, तोमर, भिन्दिपाल, गदा, खड्ग, मुसल, नागपाश आदि थिए ।

यस्ता सश्त्रास्त्रद्वारा आफूहरूलाई प्रहार गरेको देखी वीरभद्रका गणहरूले पनि दक्ष प्रजापतिका फौजमाथि पसेर ठूलो गर्जना गरी कत्तिका टाउको निमोठी दिए, कत्तिका हात भाँचिदिए, कत्तिका खुट्टा भाँचिदिए, कत्तिलाई मुड्कीले हानी रगत छदाई कपाल उखेली बैरी पक्षलाई हाहाकार पारिदिए । महाकालीले पनि कालजस्तै खड्ग हातमा लिई राताराता आँखा गरी, वर्षाकालमा मेघ गर्जिए झैं गर्जी लामालामा सुस्केरा हाली, मृगका झुण्डमा एक्लो सिंह अथवा पराल वा कपासको रासमा आगो लागे झैं एकैछिनमा बैरी पक्षका धेरैका संहार गरिन् । फेरि आफूमाथि शस्त्रास्त्रको वर्षा गराएको देखेर क्रोधले आकुल भएका वीरभद्रले पनि नन्दी, भृङ्गी, चतुःषष्ठी योगिनी, भूत, प्रेत, पिशाच, पार्थगणसहित भएर शत्रुवर्गमध्ये कसैको शिर छुट्याए, कसैको हातपाउ छुट्याए, कसैको रगत चुसे त कसैका त मांसभक्षण नै गरे । यसपछि रगतले मातेका छँदा कोही नाच्न, कोही हाँस्न र दगुर्न लागे । यसरी देवता र दक्ष प्रजापतिका सेनाको निकै संहार भयो ।

उताबाट यक्ष, गन्धर्व, किन्नर, दैत्य, नाग र दक्षसेनाले छाडेका अस्त्रहरू महाकालीमाथि पर्नासाथ डढेर भष्म भैजान्थे । महाकाली, चतुःषष्ठी योगिनी, भूत, प्रेत, पिशाच, पार्थगण आदि एकातिर दक्षसेनासित लड्दै थिए भने अर्कातिर शिवगण मध्येका एक गण विषमज्वरले शत्रुपक्षका सबैका शरीरमा प्रवेश गरी निश्चेष्ट गराए । तब आफ्नापट्टिका सबैको अचेष्टा भएको देखी वैकुण्ठनाथ विष्णुले आफ्ना शरीरबाट शीतज्वरोको उत्पत्ति गर्नुभई सबैलाई होशमा ल्याउनुभयो । यसपछि नाना शस्त्रास्त्र लिई वीरभद्रमाथि जा्र्इ लाग्नुभयो ।

वीरभद्रले पनि सिंह झैं गर्जिएर त्रिशूल उठाई सुकेका खरमा आगो लागे झैं दक्ष प्रजापतिका कोटिकोटि सेनाहरू एकै क्षणमा नाश गरिदिए । कसैका शिर थिएनन्, कसैका गोडा थिएनन्, कोही लडीबडी गर्दै थिए, कोही छट्पटार्इ रहेका थिए, कोही पानी ! पानी ! भन्दै हप्याकहप्याक भइरहेका थिए, जहाँ हेर्यो त्यहीं रक्तका नाला बगिरहेका थिए, कोही रक्षा गर भन्दै थिए, कोही भाग्दै थिए, कोही भाग्न नसकी भूइँमा पछारिंदै थिए । वीरभद्रद्वारा यस्ता प्रकारले यज्ञविध्वंश गरी भेटे जत्तिलाई समात्दै यज्ञमा होम्दै गरेको देखी भगवान विष्णुले अत्यन्तै क्रोधित हुँदै लाललाल नेत्र गरी नागले झैं सुस्केरा हाली, अग्निको ज्वालाजस्तो रूप लिई, दाहिने हातले कौमोदकी गदा उठाई, बायाँ हातले पाञ्चजन्य शङ्ख बजाई संहारकालका महारुद्र झैं भएर वीरभद्रका सेनामाथि जार्इ लागे ।

यो देखेर सहारा पाई आत्मबल मिलेका देवता, यक्ष, गन्धर्व, किन्नर, दैत्य, नाग र दक्ष प्रजापतिका सेनाहरूले ‘धन्य धन्य विष्णु ! तपाईंको जय जय होस् ‘ भनी आआफ्ना शस्त्रास्त्र लिएर विष्णुको साथ लिई लड्न थाले । त्यो देखी महाकाली पनि अग्निका ज्वालाजस्तो तेज ज्वाला निकाली चतुःषष्ठी योगिनी, भूत, प्रेत, पिशाच र पार्थगणले सहित भई दायाँ हातले खड्ग उठाई बैरीसित लड्न लागिन् । ठूलो वायु चल्दा टुक्राटुक्रा भई जसरी मेघ फाट्दछ, त्यसरी नै महाकालीले देवता र दक्षसेनाहरूलाई दश दिशामा भगार्इन् ।

त्यो देखी वीरभद्रको छाती ताकी विष्णुले कौमोदकी गदा प्रहार गर्नुभयो । त्यो गदा वीरभद्रको छातीमा लाग्यो र चोट सहन नसकी ती मूर्च्छा परे । त्यसपछि नन्दी, भृङ्गी, चतुःषष्ठी योगिनी, भूत, प्रेत, पिशाच र प्रमथगणलाई विष्णुले पाञ्चजन्य शङ्खको शब्द गरी गदाले प्रहार गर्नुभयो । त्यसका चोटले कोही मूर्च्छा परी भूइँमा लडे, कोही भागाभाग गर्दै परपर पुगे । देवता, यक्ष, गन्धर्व र किन्नरहरूले ‘धन्य विष्णु ! जय होस्, जय होस्’ भन्दै पुष्पवृष्टि गरे । यसरी देवता, यक्ष, गन्धर्व, किन्नर, दैत्य, नाग र दक्षप्रजापतिका सेनाहरूले ‘धन्य विष्णु ! धन्य विष्णु !’ भन्दै जयगान गरेको शब्द मूर्च्छामा रहेका महावीर वीरभद्रका कानमा परे, जसले गर्दा उनको मूर्च्छा खुल्न गयो । उठेर हेर्दा आफ्ना सेनाहरू कोही भूमिमा लडेका, कोही भाग्दै गरेका देखी अत्यन्तै क्रोधित भई काल समानको त्रिशूल उठाई विष्णुलाई ताकी बेगले प्रहार गरे ।

त्यो गएर विष्णुका छातीमा बज्रन पुग्यो, जसको वेदना सहन गर्न नसकी त्यो रणभूमिमा लोटी विष्णु मूर्च्छा पर्नुभयो । यो देखी प्रलयकालको मेघ झैं गर्जी वीरभद्रले दक्षसेनामाथि जार्इ लागी कैयन देवताहरूको संहार गरे । कत्ति देवताहरू वीरभद्रको गर्जना सुनेर त्राही त्राही भन्दै हाहाकार गर्दै जता पायो त्यतै भाग्न थाले । यस तरहको महासङ्ग्राम भएकाले दक्षप्रजापतिका सेनाहरूको नाश हुन गयो । महाकाली र वीरभद्रले देवताहरूमाथि जार्इ लागी कसैका टुप्पी समाती पछारेर खड्ग प्रहार गरी मारे, कसैलाई मुड्कीले हिर्काएर मारे । चतुःषष्ठी योगिनीले पनि कसैलाई निमोठेर मारे, अनि कसैका कोखामा प्वाल पारेर मुख लगाई रक्तपान गर्न लागे त कसैलाई यज्ञमा होमेर मारे । देवताहरूका सेनाहरूको यसरी नाश भएकाले चरैतिर हाहाकार मच्चियो । वीरभद्रका सेनाले जयजयकार गरी आफ्नो विजयको सङ्केत दिन थाले ।

शिवगण कराएको शब्द सुनेर मूर्च्छामा परेका विष्णु ब्युँझनुभयो । महाकाली र वीरभद्रले दक्षको यज्ञ विध्वंश गरी धेरै देवता र दक्षसेनाहरूको संहार गरेको देखी क्रुद्ध भएका विष्णुले भन्नुभयो – ‘हे पापिष्ठ वीरभद्र ! मबाट आज तेरो प्राण लिई दक्षप्रजापतिको यज्ञ पूर्ण हुनेछ, अनि मात्र सम्पूर्ण देवताहरूले सन्तोष मान्लान् । अब एकादश महारुद्र आएर तेरो सहाय भएपनि रक्षा गर्न सक्ने छैनन् ।

भनी सारा दुष्टहरूको नाश गर्ने आफ्नो सुदर्शन चक्र देखाउनुभयो । विष्णुले भन्नुभएका यी कुराहरू सुनी क्रोधले पूर्ण भएका वीरभद्रले भने – ‘हे विष्णु ! सम्पूर्ण दुष्टहरूको नाश गर्ने चक्र हो भनी मेरो पनि नाश गर्ने कुरा भनिस् । लौ अब तेरा भएभरका पराक्रम बटुलेर त्यो चक्र ममाथि प्रहार गर् । म पनि हेर्नेछु तेरो ताकत !’ वीरभद्रका यस्ता कुरा सुनेर झन् रिसाएका विष्णुले वीरभद्रलाई सुदर्शन चक्र प्रहार गर्नुभयो । त्यो सुदर्शन चक्र कोटी सूर्यजस्तो तेज र प्रलयकालका मेघको जस्तो गर्जनाको शब्द छोड्दै कालरुद्रकै रूपजस्तो भएर गयो । यस तरहले आफूतिर आउ्ँदै गरेको सुदर्शन चक्रलाई देखी नन्दी, भृङ्गी, चतुःषष्ठी योगिनी, भूतप्रेत, पिशाच र प्रमथगणहरूले ‘त्राही त्राही महादेव !’ भन्दै महावीर वीरभद्र र महाकालीका शरणमा गए ।

समुद्रमन्थन गर्दा चौध रत्नमध्ये विषको रूपमा एक रत्न निस्किएर सारा नाश हुन लगेको देखी भगवान शिवले त्यो हलाहल विषलाई जसरी निल्नुभएको थियो, त्यसरी नै त्यो चक्र आएको देखी वीरभद्रले मुख बाई दिँदा चक्र आएर मुखैमा पर्यो र निल्न ठीक पारे । त्यो देखी छिटो बेग गरी आएर विष्णुले वीरभद्रका मुखबाट झटपट गरी त्यो सुदर्शन चक्र झिकी अन्तर्ध्यान हुनुभई वैकुण्ठलोक पुग्नुभयो ।

इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये श्री स्वस्थानी परमेश्वर्याः व्रतकथायां ब्रह्माण्डवर्णनं नाम सप्तमोऽध्यायः ।।
ॐ उपनयतु मङ्गलं वः सकलजगन्मङ्गलालयश्रीमान्
दिनकर–किरण निबोधित–नव–नलिनदलनिभेक्षणः कृष्णः ।।
काले वर्षन्तु पर्जन्यः पृथिवीशस्यशालिनी ।
देशोऽयं क्षोभरहितो ब्राह्मणाः सन्तु निर्भयाः ।।
अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः ।
निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् ।।
तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च ।
तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राच्युतोदारकथाप्रसङ्गः ।।
या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता
या विणावरदण्डमण्डितकरा या श्वेतपद्मासना ।
या ब्रह्माऽच्युतशङ्करप्रभृतिभिर्देवैः सदा वन्दिता
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।।
कायेन वाचा मनसेन्द्रियैर्वा बुध्यात्मनावाऽऽनुसृतस्वभावात् ।
करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पये तत् ।।
अनन्य चेतसा भक्त्या श्रुतं यच्च कथामृतम् ।
समर्पयामि तत्सर्वं स्वस्थानीं परमेश्वरीम् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोर्ध्वञ्च वामे च वरमुत्पलम् ।।
चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।

तपाईको प्रतिक्रिया

Loading…