महरा प्रकरण : थुनछेक बहस आज, ७ वर्ष जेल सजायको माग

काठमाडौं । संसद सचिवालयकी महिला कर्मचारीमाथि जबरजस्ती गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्ण बहादुर महराविरुद्ध आज थुनछेक बहस हुँदैछ । आफ्नै कर्मचारी रोशनी शाहीमाथि यौन दुव्र्यवहारको आरोप लागेका पूर्वसभामुख महराविरुद्ध आज थुनछेक बहस हुन लागेको हो । बहसमा पीडितका तर्फबाट सरकारी वकिलले र प्रतिवादीका तर्फबाट महराका निजी कानुन व्यवसायीले बहस गर्नेछन् ।

महराविरुद्ध अभियोजनकर्ता जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बिहीबार काठमाडौं जिल्ला अदालतमा जबरजस्ती करणी उद्योगको अभियोगपत्र दर्ता गरेसँगै यस विषयले अदालतमा प्रवेश पाइसकेको छ । महराको शुक्रबार मात्रै बयान लिइएको थियो । बयानमा उनले आफु शाहीको डेरामा नगएको बताएका थिए । कर्मचारी समायोजनसँग सम्बन्धीत केही समस्या भएको कारण शाहीले त्यसको रिस पोखेको महराको आरोप छ ।

file photo

यो सँगै उनले अनुसन्धानका लागि रगत, मोबाइल लगायत सामाग्रि पनि उपलब्ध नगराएको प्रहरीको आरोप छ । आजको बहसपछि अभियुक्तलाई पुर्पक्षमा राख्ने, धरौटी वा साधारण तारेखमा छोड्दै मुद्दाको पुर्पक्ष गर्ने भन्ने निर्णय न्यायाधीशले गर्नेछन् । महराविरुद्ध प्रहरीले पाँच वर्ष र विशिष्ट व्यक्ति भएकाले थप दुई वर्ष गरी सात वर्ष कैद सजाय माग गरिएको छ । प्रहरी प्रतिवेदनले जबरजस्ती करणी उद्योगको कसूर प्रमाणित गर्ने विभिन्न प्रमाणहरूसमेत फेला पारी पेस गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया