खाँटी र खोटासिक्का छुट्याएर बोक्न सक्दा झोलाका झोला डलर नेपाल मै पाइँदो रहेछ !!

गौरादह न.पा.को स्विकृत बजेट कार्यक्रम अन्तरगत, लागत साझेदारीमा “शैक्षिक सरोकारवालाको अवलोकन भ्रमण”कार्यक्रमको नेतृत्व गौरादह स्रोतकेन्द्रका स्रोतव्यक्ती तथा ज मा वि गौरादहका सिनियर शिक्षक हरिप्रसाद अधिकारीको संयोजकत्वमा ५१ सदस्यीय भ्रमण टोलीमा गौरादह नगरपालिका वार्ड नं.२ र ६ का वार्ड अध्यक्षहरु क्रमश: हेमन्त कार्की र खड्ग पराजुली साथै जलवर्षा राजवंशी सहित केही वार्डका महिला जनप्रतिनिधिहरु, शैक्षिक सरोकारवाला प्रवुद्धवर्गहरु, शिक्षक महासङ्घ झापा तथा शिक्षक संगठन प्रदेश नम्बर-१ का अध्यक्ष बुद्धिमान कार्की,गौरादह बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख खगेन्द्र नेउपाने,प्रगति मा.वि.गलडुब्बाका प्रधानाध्यापक तथा निवर्तमान स्रोत व्यक्ती डिल्लीराम अधिकारी,ज मा बि गौरादहका सहायक प्रधानाध्यापक भानु ढुङ्गाना गौरादह प्याब्सनका उपाध्यक्ष लक्ष्मीप्रसाद कोइराला,गौरादह प्याब्सन कार्यसमिति सदस्यहरु टेकनाथ तिम्सिना र हुलास राजवङ्शी,सामुदायक विद्यालय अमर मा बि बाट प्र.अ. चिन्तामणी काफ्ले,डुरामारी मा.बि.प्र.अ केदार भन्डारी लगायत अरु विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधित्व गर्ने अरु शिक्षक, शिक्षिका,बद्री दाहाल लगायत न.पा.का कर्मचारीहरु, वि.व्या.स.अध्यक्ष श्याम पोख्रेल,वालकक्षा शिक्षक, विद्यालय कर्मचारी,धार्मिक विद्यालय समेतको प्रतिनिधिमुलक रुपमा सो अवलोकन भ्रमण टोलीमा सहभागीता थियो।

२०७६ साल कार्तिक ३ गते आइतबार बिहान मुनाल यातायात र चुलाचुली यातायातका दुईवटा गाडी लिएर चालक र सहचालक सहित ५५/५६ जनाको जम्बोटोली गौरादहदेखि लगभग आधाआधी नेपाली भूभाग अर्थात नेपालका २५/३० वटा जिल्लाहरु झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा,धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा,मकवानपुर,धादिङ, चितवन,तनहुँ, स्याङ्जा, कास्की, पर्वत,बाग्लुङ, म्याग्दी, मुस्ताङ,पाल्पा, कपिलवस्तु, रुपन्देही, नवलपरासी सम्मका जिल्लाको आन्तरिक पर्यटन प्रवर्द्धन र विकासका लागि अवलोकन भ्रमण गर्ने अवसर नगरशिक्षा शाखा गौरादहले जुन तिथिमिति जुरायो त्यो निकै सराहनीय कदम मान्नुपर्छ।

गौरादहदेखि बिहान ५ बजे प्रारम्भ गर्ने भने तापनि समयको ख्याल नगर्ने प्रवृत्तिले त्यहाँपनि छाडेन।परिणाम स्वरुप ७ बजेदेखि प्रारम्भ भएको पहिलो दिनको यात्राको लक्ष्य पोखरासम्म पुगेर बास बस्नका लागि होटल बुक भै सकेको सुनिन्थ्यो ।बिहान ५ बजे भनेकोमा ७ बजेमात्र सरहरु ज.मा.वि पछाडिको खेलमैदानमा भेला हुनुभयो। यसरी २/२ घण्टा डिलो भएको हुनाले गन्तव्यमा पुग्न पनि डिलो हुने निश्चित थियो। बीचबीचमा तेल हाल्नु पर्ने,रुट लिनु पर्ने,बेलाबेलामा बाहिर निस्की रहनुपर्ने जस्ता तु गरिहाल्नु पर्ने प्राविधिक कुराहरुले हाम्रो हतारोलाई समयको चटारोले जितेको भान हुन्थ्यो ।

इटहरीमा गाडीको रुटपर्मीट लिन यातायात कार्यालय गएको मौका पारी बिहानको खाजा खाने निर्णय गरियो।कसैले फलफुल किनेर खानुभयो कसैले चाउचाउ किनेर खानु भयो। हामी केहिले चना खायौँ।कसैले एक प्लेट चना रु ५० को र बोइल गरेको एउटा अन्डा रु ५० को गरि १०० तिर्नु भयो। त्यसपछि गाडी हुइँकियो पश्चिमतिर। अर्को गाडीले हामीलाई निकै छोडी सकेको थियो।सायद केही साथिले खाजा खान कोशीपारि पुग्ने सुझाव दिनुभएको हुनुपर्छ र त्यसो भएको हुनुपर्छ।
झुम्का,इनरुवा हुँदै गाडी कोशीब्यारेज पुग्यो। गुडिरहेको गाडीको झ्यालबाट मैले चियाएर हेर्दा कोशी नदि धमिलो बगिरहेको देखेँ । सायद युगौँ युगदेखि धमिलै बगिरहेको हुनुपर्छ ।अनि मलाई के लाग्यो भने कोशीमा युगौँयुगदेखि बगिरहेको त्यो पानीमात्र होइन हामीले जान्दामा हाम्रो र हाम्रा सन्ततिको जिन्दगानी हो ।दिदीबहिनीले लगाउने यारलिङ्ग र शिरबन्दी हो। त्यो पहेँलो सुन होइन नेपाल र नेपालीको अनमोलरत्न हीरा र सेतो मोती हो। त्यसैले नेपाल र नेपालीको भविष्य बेफ्वाँकमा बगाइ रहनुपर्दा कोशी नदी धेरैधेरै रिसाएर धमिलै बगिरहेको जस्तो मैले अनुभूत गरेँ ।

गाडी कोशी ब्यारेज पार गर्दा निकै ढिलो भै सकेको थियो।लालगड पुग्दा दिउँसोको २ बजेको थियो। इटहरी होटल नामक होटलको अगाडि गाडी रोकियो। नेटबाट खोजेको होटल साथिहरु भन्नू हुन्थ्यो।ब्यस्थापन फितलो भएपनि पहिलो दिनको बिहानको खाना दिउँसो-२ बजे लालगडमा खाइयो।

साथिहरु निकै भोकाउनु भएको थियो ।अनि खाना खान हतारिनु भएको थियो। हाप र झाप गर्नुहुन्थ्यो। हुनत: नौ बजे खाना खान बानी परेका हामी शिक्षकहरु त्यसमा पनि हेडसरहरुले टिफिन खाजा खानेबेला टर्दापनि बिहानको खाना खान पर्खनुपर्दा हाप र झाप गर्नु स्वभाविक थियो। फेरि सबैलाई एकैचोटी खाना पुगेन।पुनः खाना बनाएर खादा ढिलोमा झन ढिलो भयो तथापि खाना खाएर नै अगाडि बड्यो हाम्रो टोली ।

ढल्के,पतलैया,अमलेखगञ्ज ,हेटौंडा,भरतपुरहुँदै मुङ्लिङ पुग्दा बेलुकाको ९ बजेर ३० मिनेट गएको थियो।केही साथिहरु यतै मुङ्लिङ्तिरै खाना खाएर जाऊँ भन्नू हुन्थ्यो तर भ्रमण ब्यस्थापनको जिम्मेवारी लिएका र नेतृत्व लिएका केही साथिहरुले पोखराको होटलमा खाने बस्नेको ब्यस्थापन गरिसकेको जानकारी आएपछि मुङ्लिङबाट त्रीसुलीको पुलतर्दै सटासट पोखरातिर अर्थात पृथ्वी हाइवेको उकालो चड्न थाल्यो गाडी। दिउँसो भएको भए मलाई रम्घाको पाखामा भानु उदाएको हेर्न मन थियो । अझै तनहुँको घाँसीकुवा हेरेर केही गर्ने प्रेरणा लिन मन थियो होला अरु साथिहरुलाई तर चुक घोप्ट्याएको जस्तो रातमा त्यो सम्भव थिएन र भएनपनि ।

हेर्दा गाडी मै साथिहरु मस्त निदाइ सकेका झैँ लाग्थ्यो तर बीचबीचमा खगेन्द्र नेउपाने सरको हस्यौली ठट्यौली सुरु भएपछि निदाउदा निदाउदै भनौं या निदाइ निदाइ भनौं जे भनेपनि साथिहरु हाँस्न थालि हाल्नु हुन्थ्यो।कतै उकालामा गाडी चुइँचुइँ गर्दै छुचुन्द्रो झै चुइँकिदै हुन्थ्यो त कतै सबै कल पाटपुर्जा नटबल्टु नै उछिट्याउला झै खन्द्र्याङ्ग र खुन्द्रुङ्ग गर्थ्यो ।खुब हल्लाउथ्यो,खुब उफार्थ्यो तैपनि साथिहरु किन निदाउनु भाको होला भनी यसो घडी हेरेको त रातको १२ बजेको रहेछ पोखराको लेक साइडमा अवस्थित होटलमा पुग्दा । तर ब्यस्थापन फितलो थियो। नहोस् पनि कसरी र? समय निकै बितिसकेको थियो।बाटामा हुँदा फोन गर्दै एकछिनमा आउछौँ भन्नू पर्थ्यो फेरि अर्कोछिनमा आउदैनौँ भन्नू पर्थ्यो तथापि पोखरा पुगेर सबैले खाना खाइसक्दा भोलिपल्ट सोमबार बिहान २ बजे भयो र सुतियो।

दोस्रो दिन अर्थात ४ गते सोमबार बिहानै पोखरा घुमियो।दिउँसो पोखराको निक्कै सफल विद्यालयको अवलोकन गर्न जाने वातावरण बुद्धिमान सरले मिलाउनु भएको थियो बिहानैदेखि साथिहरु कोहीकता कोहीकता छरिनु भएको विविध कारणले अमरसिंह मा वि जान पाइएन। दिउसोको खाना १ बजेतिर खाएर २ बजे म्याग्दिको सदुरमुकाम बेनी बजारतिर लागियो।जबजब गाडीले पोखरा छोड्दै जान्थ्यो तबतब एकपछि अर्को गर्दै प्राकृतिक सौन्दर्यका दृष्टान्तहरु गाडीको झ्याल बाहिर तँछाडमछाड गर्दै कुद्थे।मलाई हेरौँहेरौँ लागि रहन्थ्यो।लुम्ले पुग्दा लुम्लेको हावाले….भन्ने गीत त्यसै सृजना भएको रहेनछ भन्ने भान भयो ।साँच्चै हावा शिरशिर चलिरहेको थियो।धानका फाँटहरु,सुन्तला र कागतिका बोटहरु शरदकालीन मौसम भएको हुनाले सयपत्री र मखमली ढकमक्क फुलेर लुम्लेका पाखाहरु सजिएका देखिन्थे।त्यहाँबाट देखिने माछापुच्छ्रे हिमालले हामीलाई पुच्छर हल्लाउँदै स्वागत गरेको या बिस्तारै बिस्तारै मोदी खोलाको किनारैकिनार गएमा पर्वत जील्लाको सदरमुकाम कुस्माबजार पुगिन्छ भन्ने सुचना सम्प्रेषण गरेको छुट्याउन सकिन्नथ्यो। नभन्दै त्यही बाटाको किनारमा रहेको मोदीखोला जलविद्युत परियोजना गाडीबाटै झल्याकझुलुक हेर्दैहेराउदै गाडी अगाडि बढिरहेका थियौँ।

अकस्मात एउटा गाउँ आयो।नाम थाहा भएन।अगाडि हेर्दा भरखरै पैरो गएझै लाग्ने नजिकमा पुग्दा पहरो फुटाएर बाटो निर्माण गर्दा त्यस्तो सेतो धुलाम्मे भएको थाहा भयो ।त्यही बस्तिमा गाडी रोकेर सबैले चिया खायौँ। अनकन्टार पहाडको फेदीमा गाउँ थियो त्यता मगर समुदाएको बस्ती रहेछ।मैले मगर भाषामा डि राको राको भने।होटलकी बजु हास्नु भयो अनि पानी दिनु भयो। भाषा सोधासोध भयो।साथिहरुले चिया खाने भने। चियाको मूल्य सोधियो। रु २० मात्रै हो भनिन् चियापसले एउटी मगर्नी बहिनीले। खै कति टाडाबाट हो कोनी पाइपमा पानी ल्याइएको थियो।

पोखरा,लुम्ले,मोदी परियोजना,कालीगण्डकीको किनारै किनार,पर्वत जिल्लाको कुस्माबजार हेर्दै घुम्दै बेलुकाको ७ बजेतिर म्याग्दि जिल्लाको सदरमुकाम बेनी बजार पुगियो।हामीले होटल देखेका थिएनौ। बस स्टेसनमा गाडी रोकेर बुद्धिमान सर,डिल्लीराम सर,खगेन्द्र सर,भानु सर,वार्ड अध्यक्ष खगेन्द्र पराजुली र म लगाएत पहिलो रातो गाडीमा चढेका सबै सरहरु गाडीबाट झर्यौँ। हिड्दै एभरेस्ट होटल सोद्धै खोज्दै गाडीमै झोलीझ्याम्टा छोडेर होटल पुग्यौं। गुरुजी अगाडि नै आएर होटल पत्ता लगाइ गाडी लिन जादा खलासीले गाडी त्यतै पार्कीङ गरेको सुनियो। सबै सरहरु सामान बोकेर होटलमा आइपुग्नु भयो।हाम्रो सामान गाडीमै छुट्यो। डिल्ली सरले ड्राइभरलाई फोन गरेर गाडी यतै ल्याउ,पार्किङ गर्ने यही हो,होटलमै ठाउँ छ भनेपछि गाडी ल्याइयो। अनि सबै भेला भएर त्यही होटलमा बास बसियो। सादा खानाको रु २३० तिरेर खाना खाइयो।बुद्धिमान सर,डिल्लीराम सर,भानु सर र म गरि ३ जना एउटा रुमको ४ वटा बेड एकएकवटा लियौँ।भोलिपल्ट ६ बजे मुस्ताङ प्रस्तान गर्ने ठूलो सपना साँचेर हामी सुत्यौँ ।

तेस्रो दिन अर्थात मङ्गलबार बिहान बेनीको होटलमा चिया खाएर लागियो मुक्तिनाथको बाटो। अलिकति उकालो लागेपछि गलेस्वर महादेवको दर्शन गरेपछि कालीगण्डकी किनारै किनार गाडी कछुवा गतिमा हिड्थ्यो। वारिपारी पहराको बीचबाट बगेको कालीगण्डकी सुसाइ रहेको सुनिन्थ्यो ।नेपाली सेनाले पहाड फोरेर बाटाको ट्रयाक खोलेको साथिहरु भन्नु हुन्थ्यो ।यात्रा निकै जटिल थियो। तल हेरौँ कालीगण्डकी छ माथि हेरौँ अक्करे भिर छ। बेडमै सुतौँ न त भन्दापनि निदाउन भन्दापनि अवलोकन भ्रमण गर्न हिडेका थियौँ हामी ।बाटामा उडेको धुलो धुलोजस्तो थिएन।त्यो धुलो हाम्रोतिरको सिमेन्टभन्दा कम थिएन। कालीगण्डकीको किनार छिचोल्दै थियौँ ।

अकस्मात गाडीमा खैलाबैला भयो।कारण के र छ भने त्यो बाटामा नै ततातोपानी आउन लागेको रहेछ। केही साथिहरु त्यहाँ नुहाउन चाहनु हुँदोरहेछ।सायद त्यहाँ नुहायो भने चर्मरोग निको हुने किँवदन्ती प्रयोगमा ल्याउन चाहनु हुन्थ्यो।नभन्दै त्यो कुण्ड आयो। चिन्तामणी सर,हुलास सर,बद्री सर,राम सर लगायत धेरै साथिहरुले नुहानु भयो।मैले भने त्यो स्विमिङ्ग पुलमा नुहाइन बरु त्यहाँ ल्याइएको तातोपानीको उद्गमस्थल पुगेर हेरेँ।मुख धुन अँजुलीमा पानी लिन खोज्दा आगामा उमाले झैँ लाग्ने तातोपानीले मुख धोएँ अनि यताउता हेरेँ।त्यहाँबाट मोटरले पानी तानेर स्विमिङ्ग पुलसम्म लगेको कुरा बुझेँ ।हरि सर र नेत्र सरले साथिहरुलाई गाडीमा बस्न हुटहुटी लगाउनु भयो।अनि गाडी हिड्यो।

तातोपानीबाट २०/२५ मिनेट अगाडि बडेपछि बाटैमा म्याग्दिको चर्चित रुप्से झरना आइ पुग्यो।त्यहीँ किनारमा थकाली होटल रहेछ।गाडी रोकेर खाना खाने निर्णय भयो।गाडीबाट उत्रनासाथ साथिहरुको फोटो सेसन भयो । अरु ठाउँमा पारीपट्टी भिरमा सुकि सकेको झरना देख्दा त क्लिक हान्ने साथिहरुलाई त्यो रुप्से झरनाले खानासाना नै भुलाउला झै लाग्थ्यो।सादा खानाको रु २५०तिरेर टिकट लिइयो अनि दाल,भात,तरकारी,गुन्द्रुक र भटमासको अचार सहितको खाना खाइयो। कसैले माछा सहितको खाना खानुभयो।आफुलाई मन परेको खाना आफूआफैले पैसातिरेर खानुपर्ने भएको हुनाले मनपरेको चीजबीज खान छुट थियो।त्यस्तै भयो पनि।
त्यो ठाउँ अन्नपूर्ण हिमाल र गौरीशंकर हिमालको बीच आधारक्षेत्र निकै रमाइलो रहेछ। यसो यताउता हेर्दा प्रकृतिले नेपाल सृजनागर्दा फुर्सदको समयमा सोचीसोची, ठाउँ हेरिहेरि,माटो छानी छानी,हावापानी फेरिफेरि गरेको रहेछ ।अनि हामीलाई प्राकृतिक सम्पतिजति सबै उपहार दिएको रहेछ।हिमाल चाहिनेलाई बिहानै मुस्कुराउने हिमाल दिएको छ। पहाड चाहिनेलाई हरिया रङ्गीबिरङ्गी च्यादर ओडेका चुरेभावर र महाभारत पहाडश्रृङ्खला,दुन,बेँशी सबै दिएको छ।तराई चाहिनेलाई लटरम्म र पहेलपुर धानका बालाझुल्ने तराई दिएको छ तैपनि हामी हाम्रो नेपाल यति राम्रो नेपाल घुमेका रहेनछौँ ।

जोमसोममा बास बसेर बिहान मुक्तिनाथको दर्शन गर्न जाने पहिलेको सल्लाह परिवर्तन भै बेलुका नै पुगेर बासबस्न जोमसोम आउने भैयो।त्यही सल्लाह अनुसार गाडी उकालो लाग्यो कालीगण्डकीको किनारले सातदिन सातरात छोडेन। घासा,लेते,मार्फा,टुकुछे,जोमसोम, कागबेनीसम्म नै कालीगण्डकीको किनारै किनार मुक्तिक्षेत्र पुगिगो । हामी जादा कागबेनीबाट १० किलोमीटर पक्की बाटो बनेको पाइयो।हिउँ पग्लिएर सकिएका सुक्खा र खैरा पाखाहरु,हिउँ नभएका,वनस्पति तथा बिना उद्विदका चट्टानका थुप्राहरु,पहाडहरु बुच्काबुच्का देखिने खै कुन झार या वनस्पति हो त्यो मात्रै देखिन्थ्यो।

अहो! पहुँच भएका र हुनेखाने विशिष्ट व्यक्तित्वहरुले लाखौं र अरबौँ खर्च गरेर यहाँको यो वैभव अवलोकन गर्न छोडेर छोराछोरी केहीकोही नै नभएको निर्जन घरको आगन जस्तो देशलाई सम्झेर विदेशतिर ओइरि हाल्नुपर्ने अवस्था रहेनछ। प्राकृतिक सम्पतिभन्दा आर्जित सम्पति ठूलो नमान्दा हुने रहेछ। हुनत:विश्वले वैज्ञानिक र प्राविधिक क्षेत्रमा मारेको फड्को हेर्न त जाऊँ सिकेको सिप र अनुभव यही माटोमा प्रयोग गर्ने हो भने हाम्रा पाखा पाखामा डलर फल्दो रैछ।त्यसलाई टिपेर हामीले झोलाका झोला भर्न सक्ने रहेछौं अनि बोराका बोरा पैसाका क्याँट राख्ने रहेछौँ ।

मुक्तिनाथ मन्दिर केही तल बसपार्कबाट हामी हिडेर गयौँ। डिल्ली सर,स्याम सर,खड्ग सर अनि पुष्प गुरागाईँ सहितका सरहरुले रु ३०० तिरेर मन्दिर छेउसम्म घोडा चढेर जानूभयो।हिडेर जाँदा लगभग ३०/३५ मिनेट लाग्दोरहेछ ।एक/सबासय सिढी उक्लेपछि मुक्तिनाथ मन्दिर पुगिदो रहेछ। बाटाका छेउछाउमा खै कुन प्रजातिका हुन को नि केही रुखहरुको जङ्गलजस्तो भेटिदो रहेछ।केही साथिले त्यसलाई लहरे पिपल भन्नू भयो।मौसमका कारण पात पहेलै भएको देखिन्थ्यो।त्यस्को बिस्तारै चिसो बढ्दै थियो।मुक्तिनाथ मन्दिरमा घुमेर फर्कदा साँझ झमक्क भएको थियो। निर्मला पौडेल र पार्वता राउत मेडमहरुलाई लेक लाग्यो।लक्ष्मीप्रसाद देवकोटाको “मुनामदन” खण्डकाव्यमा मदनलाई बाटामा लेकलाग्दा भोटे दाइले भेट्टाउदाको क्षण झैँ खड्ग थापा सर र म मन्दिर पेरिफेरिबाट बसस्टेन्ड फर्कदै थियौँ। बाटामा निर्मला पौडेल मेडम लेक लागेर बसिरहेको भेट्टायौँ ।हामी दुईजनाले मेडमको हात समाएर गाडी पार्किङ सम्म ल्यायौँ।बीचमा पदम अधिकारी सरले पनि सघाउनु भयो।अर्कोतिर पार्वता राउत मेडमलाई पनि त्यस्तै भएछ।उहाँलाई पनि मेडमहरुले ल्याएर गाडीमा चडाउनु भयो।

अगाडिको सिटमा सजिलो हुन्छ म त्यहीँ बस्छु भनेपछि खड्गा थापा र मैले अगाडिको सिट हामीले छोडी दियौँ।हुनत: म ढाडको बिरामी गाडीको पछाडीबस्ता समस्या हुन्छ भनेर अगाडि बसेको थिएँ झन म भन्दा बिरामी आएपछि त्यो ठाउँ छोडिदिनु मेरो कर्तव्य थियो।भानु सरले भुटेको भट्मास र चना बाड्नु भयो।रत्न सर र टेकनाथ सरले अदुवा दिनुभयो।चिन्तामणी सरले बेलाबेलामा बोझो र बेसार बाड्नु हुन्थ्यो।एकजना सरले भुटेको मटर बाड्नु भयो।समुन्द्र सतहदेखि हाराहारी ८०/९० मिटरको उचाइदेखि गएका हामी एकैचोटि ३८००मिटर हाराहारीको उचाइमा पुग्दा हामीलाई लेक लाग्नु अनौठो थिएन तैपनि एकदुई जनाबाहेक हामी धेरैले लेकलाई जित्यौँ ।मुक्तिनाथको दर्शन गर्यौँ अनि झापा सधैँ अगाडि सबैमा अगाडि भन्दै फर्कियौँ बेलुकाको बासबस्न जोमसोमको कालीगण्डकी किनारको होटल तिर।एकरातको खाना र सुताइको रु ८०० र बेनी-कागबेनी भाडा रु २००० माव्यवस्था मिलाइएको थियो। नेत्र खड्का सरले नाम लेख्दै पैसा सङ्कलन गर्नुभयो ।

मुस्ताङ्ग जोमसोमबाट बिहान ६ बजेतिर मेडमहरुले लानु भएको सातु र चिया खाएर हामी फकियौँ।बेलुकाभन्दा बिहान निक्कै चिसो थियो। बजारमा सोपिङ्ग गर्ने भन्नु हुन्थ्यो गाडीले निकै तल लगेर रोक्यो।केही साथिहरुले गुरुजीलाई सम्झाउन खोज्दा रिसाएर गाडी हुँइक्यायो।गाडीभित्र भानु सर एक्लै हुनुहुन्थ्यो। ए!कता लगेको साथिहरु छुट्नुभयो,रोकभन्दा अपाच्य शब्दहरु बोल्दै गाडी फर्काए छ र ल्यायो हामी भए ठाउमा।बोटमै टिपेर लिदापनि स्याउ प्रति के जी रु १०० पर्दो रहेछ ।स्याउलाई प्रसोधन गरेर निकालेको एक प्रकारको ह्विस्की जसलाई मार्फा भन्दा रहेछन्। त्यता/यता निकै चलनचल्तीमा रहेछ। होटल व्यवसायीले कार्टनका कार्टन किनेर लैजादै गरेको देखिन्थ्यो।

निकै तल फर्किएपछि मुस्ताङ्ग लेते स्थित ज्ञानोदय माध्यमिक विद्यालयको अवलोकन गरियो। हिमाली काखमा सञ्चालित यो विद्यालय मुस्ताङमै निकै उत्कृष्ट मानिदो रहेछ ।विद्यार्थीको अनुशासन,शैक्षिक गतिविधि,दुर्गम र सुगमता बीचका भौगोलिक चुनौतीहरु तथा अन्य विविध गतिविधिका विषयमा छलफल र अनुभव साटासाट भयो। मौसम र भौगोलिक कठिनाइका कारण मङ्सिरमा वार्षिक परीक्षा सकेर विद्यालय लगभग ३ महिना छुट्टी गर्नुपर्दो रहेछ। १७० हाराहारी विद्यार्थी भएको त्यो विद्यालयमा प्राविधिक विषय सञ्चालन गरेको पाइयो।

अन्त्यमा हामी हतारोमा थियौ।म्याग्दी,पर्वत,स्याङ्जा र बाग्लुङका अरु विद्यालयको अवलोकन गर्ने कुरा चलाउदै त्यहाँबाट हिड्यौँ।बिचमा गाडी जाममा पर्यो।खाना खाने होटल नजिक भएको हुनाले समयको सदुपयोग पनि भयो।एककिसिम फाइदै भयो भन्दा अतियुक्ती नहोला। खाना खाएर खगेन्द्र सर लगाएत केही साथिहरु तातोपानीसम्म हिडाइको अनुभवलिन १ घण्टा हिडेर आउनु भएछ। फोन नलाग्ने हुनाले खोज्दाको दास्ती ।केही साथिले उहाँहरु अगाडि जानुभएको देख्नु भएको रहेछ।अनि गाडीको झ्यालबाट हेर्दै खोज्दै आयौँ ।तातोपानीमा भेट भयो अनि गाडी चड्नु भयो।त्यसपछि गाडी लाग्यो म्याग्दीको बेनीबजारतिर ५ बेलुका पुगियो।त्यहाँको बेनी मा वि मा गएर अन्तरक्रिया गरियो।अनि आआफ्ना अनुभव साटासाट गरियो।त्यसपछि होटल आइयो।खाना खाइयो।होटलमै सास्कृतिक कार्यक्रम गरियो।सबैजना नाचियो।पुरस्कार चै होटलवालाले जितिन। त्यसपछि रातको १ बजेतिर पुन:म्याग्दी बेनीबजारमा सुतियो।भोलिपल्ट उठेर पोखरा हुँदै पाल्पा लागियो।पाल्पाको करुवा र ढाकाटोपी किनियो र बेलुका बुटवलमा बासबस्न पुगियो।

अन्त्यमा नेपालीहरु नजिकको तिर्थ हेला भन्ने उखानका पक्षपाती होइनन् तर व्यवहारले त्यस्तै देखाउदै आएको रहेछ।समुद्रको हरियोपानी हेर्नका लागि र किनारमा उभिएर सेल्फी हान्नका लागि नेपालमा सम्भव छैन भन्थेँ म तर त्यो होइन रहेछ। सेल्फी हान्न हरियो या निलो पानी नै चाहिने हो भने स्याङ्जा,पाल्पा र गुल्मी छेउछाउमा निर्मित कालीगण्डकी हाइड्रो परियोजना हेर्न जादा मज्जाले सेल्फीहान्न बेनीभेरी काफी रहेछ।त्यसकारण समुन्द्र ठूलो हुनुहुन्न हाम्रोलागि हिमाल ठूलो हुनुपर्छ ।यसका लागि हामीले गर्व गर्नुपर्छ अनि समुद्रको किनारमा उभिएर सेल्फी हानेको भन्दा सम्भवभए सगरमाथाको शिखरमा नेपाली झन्डाबोकेर उभिएको तस्बिरको महत्व अनमोलरत्न हुनेकुरा बुझ्नुपर्छ ।

अझै एउटा अर्को उदाहरण जस्तो कि असोज-कार्तिक शरदकालिन समयमा साइबेरिया देखिका सयौँ प्रजातीका चराहरु चिसो छलेर बच्चा कोरल्न कोशीटप्पु सिमसारतिर आउँछन् तर हामी साइबेरियादेखि आएका चराहरु हेर्न कोशीटप्पुतिर जादैनौँ।बरु यो समयमा हामी साइबेरियाको छेउछाउतिर,मरुभूमिका पठारतिर घुम्न जान्छौँ। हामीलाई चितवन सौराहाको हात्ती सफारीभन्दा मरुभूमिको ऊँट सफारी मज्जा लाग्न थालेको छ।सायद ऊँट सफारीको महत्व भनेको पैसा सफारी हो र मुस्ताङ मुक्तिनाथ जान घोडासफारी गर्नु भनेको आन्तरिक पर्यटनको विकास र प्रवर्द्धन गर्नु हो ।यो हामी बुझ्दैनौँ।

त्यसैले नेपालमा घुमेर र हेरेर नसकिने प्राकृतिक सम्पतिहरु अथाह छन् र रहेछन् ।जसलाई उपयोग र प्रयोग गर्न जानेमा सबै पैसाका क्याँट हो रहेछन् ।खाँटी सिक्का रहेछन्। यो कुरालाई हामी किन बुझ्दैनौँ ? बरु खाँटीलाई खोटा र खोटालाई खाँटी देखेर अर्थात अन्धाले हात्ती छामेको अनुभुति महसुस गर्नुभन्दा नेपालको प्राकृतिक वैभवलाई हेरेर परिभाषित गर्ने हो भने नेपाल भनेको खाँटी सिक्का नै हो रहेछ र बाँकी सब खोटो सिक्का ।अर्थात खाँटी र खोटासिक्का छुट्याएर बोक्न सक्दा झोलाका झोला डलर नेपाल मै पाइदो रहेछ !!! अझै यहाँका कलासाधकका लागि हाम्रा खोलानालाले कविता सिकाउँदा रहेछन्।रुपसे र पातले छागा जस्ता झरना र छागाहरुले गीत गाउँदा रहेछन् ।त्यसैले रम्घाको पाखामा भानु उदाएका रहेछन् ।धेरै अर्घौअर्चलेहरुले लेखनाथ जन्माएका रहेछन् ।गोसाइँकुण्डको यात्रामा देवकोटा गुनगुनाएका रहेछन् ।कालो औंसीको रातमा मोती चम्केका रहेछन् । दमौलीको गुफामा वेदव्यास पलेटी कसेका रहेछन् ।

*****धन्यवाद******

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…