हराउँदै गयो तिहारको मौलिकता

गलेश्वर / चारैतिर शरदऋतुको उल्लासमय वातावरण । खेतबारी र पाखापखेरामा ढकमक्कै फुलेका सयपत्री र बैजनी रङका मखमली फूलले प्रकृतिलाई दुलही झैँ सिँगारिदिएका छन् । बिजुली बत्तीको झिलीमिली उज्यालोले रातलाई पनि दिनजस्तै बनाइदिएको छ । प्रकृतिसँग मानिस रम्ने चाड तिहारको मौलिकता भने हराउँदै गएको छ । युवापुस्ता आयातीत संस्कृतिको प्रभावमा पर्दै गएपछि सांस्कृतिक विरासतका मौलिक चाडपर्वले आफ्नो मौलिकता गुमाउँदै गएका संस्कृतिविद्को भनाइ छ ।

नेपालीका लागि दशैँपछिको दोस्रो ठूलो चाड तिहार पशुपक्षी, प्रकृति र पुरुष (भाइ) पूजा गरिने एकमात्र चाड हो । दशैँमा बलि दिने प्रचलनले कहीँकतै कसैलाई नरमाइलो लाग्छ भने तिहारमा सबै उमेर, वर्ग र सम्प्रदायका मानिस रमाउने गर्दछन् । हिन्दू संस्कृतिका अध्येता पं भीमनाथ पराजुलीका अनुसार तिहार प्रकृति, पुरुष र ऐश्वर्य (लक्ष्मी)लाई खुशी बनाउने रोमाञ्चक चाड हो । तर पछिल्लो समय यो चाडमा पनि निकै विकृति भित्रिएकाले यसको सांस्कृतिक पहिचान नै ओझेलमा पर्दै जान थालेको उहाँ बताउनुहुन्छ ।

आधुनिकतासँगै तिहार पर्वमा पनि अनेक खालका विकृति देखिन थालेको पं पराजुलीले बताउनुभयो । “अरुबेला वास्ता नगरिने पशुपक्षीलाई पनि तिहारमा पूजा गरिन्छ, पं पराजुलीले भन्नुभयो, “यसले सबै प्राणीबीच समदृष्टिकोण राख्नुपर्दछ भन्ने सन्देश दिन्छ । काग, कुकुर, गाई, गोरु, लक्ष्मी र भाई (दाजुभाइ) लाई तिहारमा पूजा गरेर सुख, शान्ति र ऐश्वर्यको कामना गरिने यस पर्व अहिले केबल औपचारिकतामा सीमित भएको उहाँको भनाइ छ ।

माटाको दियोबाट मैनबत्ती हुँदै बिजुलीको झिलीमिलीमा तिहार

पहिलापहिला माटाको दियो र अमिलाको पातमा बाति (बत्ती) बालेर जिम फाल्ने चलन हराएको छ । घरको मूलढोका, सहायक ढोका, आँगनको डिल, तुलसीको मोठ, धनसार, गोठ, जुठेल्नो जतातलै बत्ती बालेर जिम फाल्ने चलन थियो । तर अहिले भने जताततै बिजुली बत्ती बालेर उज्यालो बनाइने गरिन्छ । बेनी नगरपालिका– २ बगरफाँटका ८३ वर्षीय बेदप्रसाद शर्मा भन्नुहुन्छ, “यसबाट मनोरञ्जन त प्राप्त हुन्छ तर जिम फाल्ने विधान र तिहारको मौलिकता हुँदैन ।

माटाको दियो, अमिलाको पात र मैनबत्ती हुँदै अहिले बिजुलीको झिलीमिली बत्तीमा मनाइने तिहारको मौलिकता कुनै चिजमा पनि बाँकी नरहेको बूढापाकाको भनाइ छ । पहिलापहिला दियो माटोको हुन्थ्यो । अचेल बालिने कृत्रिम बत्तीका कारण मानिसलाई मनोरञ्जन त हुन्छ तर मौलिकता रहँदैन । अचेल माटोको पाला पूजाकोठामा सीमित भएको भन्दै उहाँले माटोको दियोपछि मैनबत्ती र मैनबत्तीलाई उछिन्दै बिजुली बत्तीमा अहिलेको तिहार भुलेको छ ।

झ्ाल ढोकामा देखिँदैन तेलको धारा

यमराजलाई बाटो छेक्नका लागि विशाल नदीको प्रतिकका रुपमा घरको मूल ढोकामा हालिने तेलको धाराले प्रतिकात्मक अर्थ दिन्थ्यो । दाजुभाइलाई यमराजबाट सुरक्षित राख्नका लागि दिदीबहिनीले मूल ढोकामा तेलको धारा हालेर बाटो छेक्ने प्रचलन पछिल्लो समय हराउँदै गएको शर्माले बताउनुभयो ।

“ओखर फोरिन्थ्यो, तेलको धार हालिन्थ्यो, देउसीभैलो खेलिन्थ्यो, साथीभाइ एकै ठाउँमा भएर जुवातास खेली रमाइलो गरिन्थ्यो”, शर्माले भन्नुभयो, “अब ती सबै कुरा हराइसके, तिहार केबल औपचारिकतामा सीमित हुन थालिसकेको छ ।

भाइमसला बनाउन फुर्सद छैन दिदीबहिनीलाई

सूचना र प्रविधिले विश्वलाई नै साँघुरो बनाइदिए पनि अपनत्व र सौहाद्र्रतालाई भने निकै टाढा पु¥याइदिएको छ । मोबाइल र इन्टरनेटको बढ्दो प्रभाव र प्रयोगका कारण मानिस यति व्यस्त भएका छन् कि उनीहरुलाई आफ्नो नजिकैको मान्छेले के गर्दैछ र के भन्दैछ भन्ने कुराकोसमेत पत्तो हुँदैन ।

युवापुस्ताका दिदीबहिनी पनि सूचना प्रविधिको यो प्रभावबाट मुक्त हुने कुरै भएन । सूचना प्रविधि र सामाजिक सञ्जालको प्रभावका कारण दिदीबहिनी पनि बेफुर्सदिला हुने गरेका र झण्झटिला कामप्रति उनीहरुको रुचि घट्दै गएको भुक्तभोगीले बताउने गर्दछन् ।

दिदीबहिनीको बेफुर्सदिलो समयको आंशिक प्रभाव तिहारको मौलिकतामा पनि परेको छ । फूल, खोज्ने, माला गाँस्ने, भाइमसला बनाउने, खाना परिकार तयार गर्ने र समग्रमा तिहारको रौनक बढाउने प्रमुख भूमिका दिदीबहिनीको नै हुने गर्छ । तर दिदीबहिनी पनि बेफुर्सदिला बनिदिँदा तिहारको मौलिकतामा पनि असर गरेको छ भन्नुहुन्छ अर्मनका खडानन्द सापकोटा ।

सापकोटाका अनुसार अहिले बजारमा प्याक गरेर राखिएका भाइमसलाले दिदीबहिनीले काम चलाउने गरेका छन् । सापकोटाको भनाइसँग सहमत हुनुहुन्छ अर्मनकै रसिला जैसी पनि । “पहिला पहिला दिदीबहिनी भेला भएर तिहार शुरु हुनेबित्तिकै भाइमसलाको खोजी गथ्र्यौं, ओखरदेखि लिएर सम्पूर्ण सामग्रीको जोहो गरेर भाइमसला बनाउथ्यौँ, ६३ वर्षीया जैसीले भन्नुभयो, “अहिले त कसैलाई कामले फुर्सद छैन, कसैलाई मोबाइलले ।”

देउसीभैलो : पैसा असुल्ने माध्यम

तिहारको आकर्षणमध्येको एक मानिएको देउसीभैलो आजकल आशिष दिने, मनोरञ्जन लिने र साथीभाइसँग रमाउने माध्यम नभई पैसा असुल्ने माध्यम बन्दै गएको आरोप लाग्न थालेको छ ।

केही सामाजिक सङ्घसंस्था र व्यक्तिले मेमोरीमा रेकर्ड गरिएका गीतको सहयोग लिइ बेतालको नृत्य (डान्स) देखाउँदै देउसीभैलोलाई पैसा असुल्ने माध्यम बनाइरहेका स्थानीय व्यापारीले बताएका छन् । हुन पनि आजकल गाइने देउसीभैलो र देखाइने नृत्यमा कुनै पनि मौलिकता देखिँदैन । अधिकांश भैली समूहले हिन्दी र नेपाली चलचित्रका गीत एवं एल्बममा राखिएका देउसीभैलो गीतमा नाच्ने गरेका छन् । न उनीहरुले मादल बोकेका हुन्छन् न मुरली र खैजडी नै ।

ठूलाठूला साउन्डबक्समा गीत घन्काउँदै हल्ला गर्दै देउसीभैलो समूहहरु हिँडेका देखिएका छन् । यस्तै हो भने केही वर्षपछि लोकबाजा र भैलीको मोलिकता हराउने निश्चित छ । त्यस्तै बेनीका ज्येष्ठ नागरिक डम्मरबहादुर कार्कीले देउसीभैलो खेल्दा सबैले लोकगीत आफैँले गाउने, मुरली, मादल, खैजडी, झ्याली, टयाम्कोलगायतका मौलिक बाजा बजाउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “अब ती सबै कुरा एकादेशका कथामा परिणत भए, तिहारको मौलिकता हराउँदै गयो, आयातीत संस्कृतिले फस्टाउने मौका पायो ।”

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…