झापामा अपराधको जालो : बिप्लका कार्यकर्ता पक्राउ परे पालै पालो

झापा / गत फागुन २८ गतेको मन्त्री परिषद बैठकबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेत्र विक्रम चन्द विप्लव समूहलाई सरकारले प्रतिवन्द लगाएसंगै धमाधम चन्द समूहका कार्यकर्ताहरु देश भर नै पक्रा गरिरहेका छन् । हिंसात्मक गतिविधि गरेको भन्दै चन्द समूहलाई सरकारले प्रतिवन्द लगाएसंगै पछिल्लो समय झापामा पक्राउ परेका आठ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । चन्द समूहका जिल्ला सेक्रेटरी प्रविण मिश्र मनिष सहित आठ जनालाई जिल्ला प्रहरी कार्यालय झापाले मंगलवार जिल्ला प्रहरी परिसरमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो ।

उनीहरुलाई जिल्लामा श्रङ्खलाबद्ध बम विस्फोट गराएको आरोपमा प्रहरीले पक्राउ पछि सार्वजनिक गरेको हो । विप्लव समूहका कार्यकर्तासँग बरामद गरिएका हातहतियार, चन्दा रसिद, पार्टीका दस्ताबेज लगायतका सामग्री समेत प्रहरीले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ । पछिल्लो समयमा झापाका विभिन्न पालिकामा श्रङ्खलाबद्ध रूपमा बम विष्फोट गराएर जनजिवन त्रसित बनाएको भन्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय झापाले संयुक्त टोलीले विप्लव समूहका तेता तथा कार्यकर्तालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा झापा जिल्ला सेक्रेटरी इलाम माङ्सेबुङ गाउँपालिका – १ निवासी ३४ वर्षीय प्रविण मिश्र (मनिष), जिल्ला सदस्य झापा हल्दिवारी गाउँपालिका – ५ निवासी ४४ वर्षीय टीका पोखरेल र मकवानपुर भिमफेदी गाउँपालिका – २ निवासी २६ वर्षीय अनुल सारु मगर रहेका छन् । बिर्तामोडमा डेरा गरी बस्दै आएका सेक्रेटरी मनिष, जिल्ला सदस्य पोखरेल सडक विभागको ठेकेदारको काम र मगरले जापनिज भाषा सिक्न बसेको भन्दै ढाँटेर डेरामा बस्ने गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

प्रहरीले तीनै जनालाई विशेष सूचनाको आधारमा सोमबार बिर्तामोडबाट पक्राउ गरेको थियो । सेक्रेटरी मनिष र सदस्य पोखरेल सोमबार बिहान पक्राउ परेका थिए भने मगरलाई दुई थान कटुवा पेस्तोल, त्यसमा लाग्ने गोली, चन्दा रसिद, पार्टीका दस्ताबेजसहित प्रहरीले सोमबार साँझ उनकै डेराबाट पक्राउ गरेको प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।

पक्राउ परेका मगर बम बनाउने काममा सक्रिय रहेको अनुसन्धानको क्रममा खुलेको श्रेष्ठको भनाई छ । उनीहरूले भदौ २२ गते बिर्तामोड र गौरदाहमा बम विस्फोट गराएको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताउनुभयो ।

त्यस्तै प्रहरीले बिर्तामोडको वडा कार्यालयमा बम विस्फोट गराएको आरोपमा पाँचथर जिल्ला इन्चार्ज ताप्लेजुङ त्रिवेणी गाउँपालिका वडा नम्बर – ३ पञ्चमी टोल निवासी २७ वर्षीय राजु दास, ताप्लेजुङ जिल्ला इन्चार्ज जिल्ला ताप्लेजुङ सिद्धिङबा गाउँपालिका – ४ निवासी ३५ वर्षीय सकल भन्ने सागर लिम्बू , मेची ब्युरो समन्वय समिति अध्यक्षका साथै केन्द्रीय सदस्य ताप्लेजुङ त्रिवेणी गाउँपालिका– ५ दोभान गाउँ निवासी २४ वर्षीय सन्देश भन्ने गणेश कार्की (ढोली), ताप्लेजुङ जिल्ला सेक्रेटरी (सचिव) सोही जिल्ला फक्तामलुङ गाउँपालिका– २ खेजेनिम बस्ने ५५ वर्षीय नरपति पौडेल र ताप्लेजुङ जिल्ला कमिटी सदस्य सोही जिल्ला फक्ताङलुङग गाउँपालिका – २ निवासी ३८ वर्षीय योगेश भन्ने यामबहादुर लिम्बू लााई समेत पक्राउ गरिएको भन्दै पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको छ ।

वम विष्फोटको जिम्मा कुसैले नलिएपनि झापामा पटक – पटक श्रङ्खलाबद्ध बम विष्फोट हुँदै आएको थियो । पछिल्लो समय बिर्तामोड नगरपालिका – २ चारपानेमा रहेको सहारा नेपाल सरकारी संस्था र गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले चढ्ने बा २ झ २५७० नम्वरको गाडीमा वम विष्फोट भएको थियो । उक्त वम विष्फोट समेत विप्लव समूहले गराएको आंशङ्कामा प्रहरीले विप्लव समूहका कार्यकर्ताको खोजी तीब्र बनाएको थियाो । सोही क्रममा प्रहरीले बिर्तामोडबाट जिल्ला सेक्रेटरी सहित तीन जनालाई पक्राउ गरेपछि उक्त विष्फोटका घटना विप्लव समूहले नै गराउँदै आएको प्रहरीले दावी गरेको छ ।

पछिल्लो दुई महिनाको अवधिमा विप्लव समूहका कार्यकर्ताले जिल्लाको बिर्तामोड, भद्रपुर, दमक, गौरदाह, अर्जुनधारा लगायतको क्षेत्रमा रहेका वडा कार्यालयको भवन, एनसेल टावर र सहकारीको भवनमा समेत बम विस्फोट गराएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । भदौ २२ गते मध्यरातमा बम विस्फोट हुँदा गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले प्रयोग गर्दै आएको बा २ झ २५७० नम्बरको बोलेरो गाडी पूर्ण रुपमा क्षति भएको छ ।

यता सोही राती बिर्तामोड नगरपालिका – २ स्थित चारपानेमा रहेको सहारा नेपाल सहकारी संस्थाको नव निर्मित भवन अगाडि शक्तिशाली बम विस्फोट गराउँदा भवनको झ्यालको सिसी फुटेको, सुरक्षा गार्ड बस्ने पोस्ट भत्किएको र सहकारीको भवन नजिकै रहेको मे १ च १८५१ नम्बरको गाडीको सिसी फुटेको थियो । गत साउन २७ गते बिर्तामोड ८ स्थित बिर्तामोड नगरपालिकाको ७, ८ र ९ नम्बर संयुक्त वडा कार्यालयमा प्रेसर कुकर बम विस्फोट भएको थियो । वडा कार्यालयमा भएको विस्फोटबाट कार्यालय भवन भत्किनु साथै कार्यालयका सम्पूर्ण कागजात जलेर नष्ट भएको थियो । त्यस्तै विप्लव समूहले भद्रपुर, अर्जुनधारा र दमकको रहेको एनसेल टावरमा विस्फोट र आगजनीको प्रयास गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका चन्द समूहका नेता तथा कार्यकर्तालाई प्रहरीले मुलुकी अपराध संहिता २०७४ को हातहतियार खर खजाना, विस्फोटक पदार्थ, राज्य विरुद्धको कसुर, चन्दा, सङ्गठित अपराध सम्बन्धी मुद्दा चलाएर कारबाही प्रक्रिया अघि बढाउने तयारी भइरहेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित