इँटा उद्योगको प्रदूषण ९० प्रतिशत घटेको दाबी

विराटनगर / इँटा व्यवसायीहरूले देशभरीको इँटा भट्टाको ९० प्रतिशत प्रदूषण अन्त्य भएको दाबी गरेका छन् । नयाँ उपकरण र प्रविधिहरू भित्र्याएर इँटा भट्टाबाट हुने प्रदूषण काम गरिएको उनीहरूले दाबी छ । कोसी इँटा उद्योगी व्यवसायी संघको विराटनगरमा बुधबार भएको ९ औं वार्षिक साधारण सभामा इँटा व्यवसायी महासंघका केन्द्रीय महासचिव केशवप्रसाद अवालले देशभरीमा एक हजार इँटा व्यवसायीहरू भएकोे जानकारी दिँदै इँटा भट्टाबाट हुने प्रदूषण अन्त्य भएको दाबी गरे । ‘अहिले नयाँ–नयाँ प्रविधिहरू आएका छन्,’उनले भने, ‘हामी पनि त्यसलाई फलो गर्दै अगाडि बढेका छौं ।’ ९० प्रतिशत व्यवसायीहरूले प्रदूषण नहुने उपकरणहरू खरिद गरेर ल्याएको उनको भनाइ थियो ।

‘विगतका दिनहरूमा इँटा भट्टाबाट कालो धुवाँको मुस्लो बाहिर जाने गरेको थियो,’ उनले भने, ‘अहिले तपाइहरूले हेर्नुभयो भने त्यस्तो छैन । अहिले सेतो मात्र निस्किन्छ । त्यो पनि प्रदूषणरहित ।’ समय अनुकूल व्यवसायीहरू परिवर्तन भएर जाँदा पनि इँटा व्यवसायीहरूलाई हेर्ने दृष्टिकोण हेपाहा प्रवृत्तिको भएको अवालको आरोप छ ।

त्यस्तै मोरङको रंगेली नगरपालिकाका प्रमुख तथा इँटा व्यवसायी दिलिप बगडियाले फारस ड्रास ‘चिम्नी’ इँटा भट्टामा प्रयोग गरिने भएकोले प्रदूषण नहुने दाबी गरे । ‘यो चिम्नी तेस्रो मुलुकबाट आयत हुने हो,’ उनले भने, ‘यसको प्रयोगले प्रदूषण हँुदैन ।’ प्रदेश १ का प्रदेशसभा सदस्य तथा इँटा व्यवसायी लिलम बस्नेतले इँटा उद्योगहरूले धुवाँ र धुलोरहित बनाउँदै आफ्नो व्यवसाय अगाडि बढाइरहेको बताए । उनले स्वदेशमा इँटा भट्टामा काम गर्ने मजदुर नभेटेर भारतबाट ल्यानु परेको बताए । उनले नेपाली मजदुर भेटिए ५० प्रतिशत बढी पारिश्रमिक दिएर राख्न आफूहरु तयार रहेको बताए ।

स्वदेशी मजदुरको अभावमा भारतसम्म पुगेर मजदुर ल्याउनुपर्ने र उनीहरुको परिवारकै सम्पूर्ण जिम्मा लिएर राख्नुपर्ने हुँदा उद्योगीहरुले हैरानी व्यहोर्नु परेको बस्नेतले बताए । ‘भारतमा गएर मजदुर लिएर आएर मात्रै हुँदैन । उनीहरुको बस्ने खाने सबै व्यवस्था मिलाउनु पर्दा हैरान छ,’ उनले भने, ‘यदी स्वदेशी मजदुर भेटिने हो भने हामी ५० प्रतिशत बढी पारिश्रमिक दिएर राख्न तयार छौं ।’

मोरङ र सुनसरीमा ३३ वटा इँटा कम्पनीका ४३ वटा इँटा उद्योग छन् । प्रत्येक उद्योगमा ३ सय देखि ४ सयसम्म मजदुरहरु कार्यरत छन् । उद्योगमा इँटा पकाउने, बनाउने र ग्रेडीङ गर्ने मुख्य काममा भारतीय मजदुरहरु नै कार्यरत रहेको इँटा व्यवसायी संघ कोसीका अध्यक्ष महेन्द्र साहले बताए । स्वदेशी मजदुर नपाउने भएकाले भारतबाट मजदुर ल्याउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

स्थानीय तहको कर असुल गर्ने अव्यवस्थित प्रणालीले समेत इँटा उद्योग धराशायी बनेको साहले बताए । उद्योगको लगानी र उत्पादन क्षमता अनुसार कर लगाउनुपर्नेमा स्थानीय तहले आफूखुसी सबै क्षमताका उद्योगलाई एउटै दरको कर लगाएको उनले बताए । ‘सुनसरीको इटहरी र मोरङको कटहरीमा मेरो इँटा उद्योग छ,’ साहले भने, ‘तर कर भने फरक–फरक तिर्नुपर्छ । इटहरीमा म वार्षिक २५ हजार कर तिर्छु त्यही क्षमताको उद्योग रहेको कटहरीमा भने वार्षिक दुई लाख ५० हजार तिर्नुपर्छ ।’

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले इँटाको ब्राण्ड चोरी गर्ने समस्याले पनि इँटा व्ययसायी हैरान बनेको बताए । प्रदेश २ का केही इटा व्यवयासीहरुले सुनसरी र मोरङका आनन्द, एबीआई र जयनेपाल जस्ता नाम चलेका इँटाहरुको ब्राण्ड चोरी गरेर मोरङ र सुनसरीमै बिक्री गरिरहेको उनको भनाइ छ । एउटै भ्याटबिललाई पटक–पटक प्रयोग गरेर केही इँटा व्यवसायीहरुले कर छली गरिरहेको बताउँदै घिमिरेले राज्यलाई राजस्व तिरेर ढुक्कले व्यवसाय गर्न आग्रह गरे ।
प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले ग्रामीण क्षेत्रको गरिबी निवारण र रोजगारीका लागि इँटा उद्योगले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले विदेशी भन्दा स्वदेशी मजदुरलाई पहिलो प्रथामिकता दिएर रोजगारको वातवरण सिर्जना गरिनुपर्नेमा जोड दिए । उनले भारतीय मजदुरको संख्या घटाएर यहींका मजदुरहरुलाई उत्पादनको काममा लगाउन व्यावसायीहरूसँग आग्रह गरे ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…