दुई वर्ष आफूसँगै राखेकी महिलाको हत्या गरेर फरार रहेका चूँडाल पक्राउ

विराटनगर / एक महिलाको हत्या गरेर फरार रहेका झापाको गौरादह नगरपालिका–६ दामुना बजार घर भएका ४५ वर्षीय पुण्य चूँडाललाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिजुवाबाट प्रहरी निरीक्षक मोहन रायमाझीको नेत्रृत्वमा खटिएको टोलीले मोरङको उर्लाबारीस्थित दुर्गापुरीबाट मंगलबारराति उनलाई पक्राउ गरेको हो । हत्या गरिएकी अन्दाजी ३५ वर्षीय महिलाको भने अहिलेसम्म पहिचान खुल्न सकेको छैन । पक्राउ परेका व्यक्तिले ती महिलालाई दुई वर्षदेखि आफूसँगै राख्दै आएको खुलेको छ । प्रहरीका अनुसार नाम सिर्जना पोखरेल र घर झापाको बिर्तामोड भनेर प्रारम्भिक जानकारी आए पनि यकिन भइसकेको छैन ।

गत शनिबार बिहान रतुवामाई नगरपालिका–६ का हरिबहादुर खड्काको खाली रहेको ग्वाली घरमा शरीर भरी नलिडाम र चोटपटक रहेको अवस्थामा ती महिला अचेत भेटिएकी थिइन् । प्रहरीले उद्धार गरेर उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याएकी उनको आइतबारराति मृत्यु भएको थियो । दुई वर्षदेखि ती महिला पुण्यसँगै हिँड्ने गरेको र अत्यधिक मदिरा सेवन गरेर हिँड्न नसकेको भन्दै ग्वालीमा ल्याएर छाडेर काम गर्न जान्छु भन्दै त्यहाँबाट उनी हिँडेको जानकारी स्थानीय बासिन्दाले प्रहरीलाई दिएका थिए ।

स्थानीयले दिएको सूचनाका आधारमा प्रहरीले उनको खोजी थालेको थियो । शुक्रबारराति अत्यधिक मदिरा सेवन गरेर दुवै जनाबीच झगडा भएको र त्यही क्रममा पुण्यले लात्ता र मुक्काले प्रहार गर्दा महिलाको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीकाअनुसार दुई वर्ष अघि झापाको दमकमा ज्याला मजदुरी गर्ने क्रममा पुण्य र ती महिलाको भेट भएको खुलेको छ । ‘दुई वर्षदेखि दुवै जना सँगै बस्दा रहेछन्,’ मोरङ प्रहरीका डीएसपी घनश्याम श्रेष्ठले भने, ‘मदिरा सेवनका कारण उत्पन्न विवादपछि महिलाको ज्यानै जाने गरी कुटपिट गरेर छाडेको पाइयो ।’ डीएसपी श्रेष्ठले दुई वर्षदेखि आफूसँगै राखे पनि ती पुरुषले महिलाको नाम र ठेगाना आफूलाई यकिन नभएको प्रहरीलाई बताएका छन् ।

‘काम गर्ने क्रममा भेट भएपछि दुवै जना सँगै बस्ने सल्लाह ग¥यौं । दुवै मिलेर मदिरा सेवन गर्ने गरेका थियौं,’ उनलाई उद्रित गर्दै प्रहरीले भन्यो, ‘तर उनको नाम र ठेगाना कहाँ हो भन्ने कुरा मलाई थाहा छैन । दुई जना सँगै बस्ने भएपछि केही समय धनुषाको ढल्केबरमा गएर होटलमा भाँडा माझ्ने काम पनि गरें ।’
डीएसपी श्रेष्ठकाअनुसार दुवै जनाको बस्ने ठाउँको यकिन थिएन् । काम गर्ने क्रममा जहाँ पुग्यो त्यहीं बस्ने गरेको खुलेको उनले बताए । घटना भएको रात कसैले पनि बास नदिएपछि दुवै जना एउटा बाँस झ्याङमा गएर बसेको र त्यहीँ कुटपिट गरेपछि महिलालाई एउटा घर नजिकैको ग्वालीमा लगेर छाडिदिएको खुलेको प्रहरीको भनाइ छ । पुण्य यस अघि पनि विभिन्न अपराधिक गतिविधीमा संलग्न रहेको प्रहरीले जनाएको छ । चोरी, सर्वजनिक अपराध, महिलामाथिको दुरव्यवहार लगायतका घटनामा उनी पटक–पटक जेल परेर छुटेको पुष्टि भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार विभिन्न अपराधिक गतिविधीमा संलग्न भएकै कारण उनलाई गाउँले र घर परिवारले पनि बहिस्कार गरेको पाइएको छ । श्रीमतीले पनि छाडेर हिँडेको प्रहरीले जनाएको छ । बहिस्कारपछि उनी गाउँमा नजाने र बाहिरबाहिरनै बस्ने गरेको खुलेको छ । बाहिर काम गरेर बस्ने क्रममै भेट भएकी महिलालाई विभिन्न प्रलोभनमा पारेर लामो समयदेखि आफूसँगै राखेको र मदिरा सेवनका कारण उत्पन्न विवादपछि हत्या गरेर उनी फरार बनेको जनाइको छ ।

पक्राउ परेका पुण्य विरुद्ध बुधबार कर्तव्य ज्यान मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । मदिरा सेवन गरेर झगडा गर्न थालेपछि लात्ता तथा मुक्काले कुटपिट गरेको र उठ्नै नसक्ने भएपछि छाडेर हिँडेको उनले प्रहरीलाई बताएका छन् । डीएसपी श्रेष्ठले घटनाको बारेमा अनुसन्धान तीव्र पारेर महिलाको नाम र ठेगाना यकिन गर्ने प्रयास भइरहेको बताए ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…