मुलुकलाई कम्युनिष्ट ‘स्टेट’ बनाउने ध्याउन्नमा सरकार : देउवा

विराटनगर / कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेको सरकार मुलुकलाई कम्युनिष्ट ‘स्टेट’ बनाउने ध्याउन्नमा लागेको आरोप लगाएका छन् । कम्युनिष्ट ‘स्टेट’ बनाउन सरकार लागि परेको भन्दै उनले त्यसमा कांग्रेसको आपत्ति रहेको जनाए । मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै देउवाले केपी शर्मा ओली नेत्रृत्वको अहिलेको सरकार मुलुकमा कम्युनिष्ट साशन लाद्ने प्रयत्नमा रहेको जिकिर गरे । ‘अहिलेको सरकार आएदेखि मुलुकमा सबै कुरा लथालिंग हुँदै गइरहेका छन्,’ उनले भने, ‘प्रजातन्त्रको मूल्यमान्यतामाथि हस्तक्षेप भइरहेको छ ।’

सरकारले गर्ने गलत काम कांग्रेसलाई मान्य नहुने देउवाको भनाइ छ । विधिको साशन नहुँदा वर्तमान सरकार भ्रष्ट्राचारलाई बढाउने गतिविधीमा लागेको, सञ्चार क्षेत्रमाथि हस्तक्षेप गरेको तथा मानवाधिकार जस्ता संवेदनशील विषयमा गम्भीर नभएको आरोप उनले लगाए । सञ्चार क्षेत्रमाथिको हस्तक्षेपसँगै लोकतन्त्र खतरामा रहेको बताउँदै सभापति देउवाले भने, ‘प्रेसलाई अंकुश लगाएर संकुचन गर्ने प्रवृत्ति र त्यस्ता कानुनको कांग्रेसले सधैं विरोध गरिरहन्छ ।’ प्रेसमाथि अंकुश लगाउँदा लोकतन्त्रमाथि खतरा रहेको कुरा सबैले बुझ्न जरुरी रहेको उनले बताए ।

पार्टीभित्र अझै पनि गुटउपगुट रहेको भन्ने प्रश्नमा देउवाले प्रजातान्त्रिक पार्टी भित्र गुटउपगुट भन्दा पनि एकता भएको दाबी गरे । ‘पार्टीमा कुनै बैमनश्यता छैन,’ उनले भने, ‘हामी नेता सबै एक भएर मिलेका छौं । सभापति देउवासहित पूर्व अर्थमन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की, प्रकाशसरण महत, सांसद विनोद चौधरी लगायत सुनसरीको इनरुवामा हुने कांग्रेसको दोश्रो राष्ट्रिय जागरण अभियानको उद्घाटनका लागि आएका हुन् ।

तपाईको प्रतिक्रिया

Loading…