कोसी पीडितले मुआब्जा नपाउनुमा दुवै देशको कमजोरी : गच्छदार

विराटनगर / कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले बहुचर्चित कोसी सम्झौताअनुसार मुआब्जा वितरण नहुनुमा नेपाल र भारत दुवै देशको कमजोरी रहेको औंल्याएका छन् ।
विराटनगर विमानस्थलमा मंगलबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सप्तकोसी नदीबाट पीडित भएकाले लामो समयसम्म क्षतिपूर्ति र मआब्जा नपाउनुमा नेपाल र भारत दुवै देशका सरकार दोषी रहेको उल्लेख गरेका हुन् । ‘कोसी व्यारेज निर्माणका बेला नेपाली भूभागमा गरिएको जग्गा अधिग्रहरणले हजारौं परिवारको विल्लीबाठ भएको थियो,’ गच्छदारले भने, ‘तर अहिलेसम्म पीडितले क्षतिपूर्ति पाउन नसक्नु दुःखद् हो ।’

कोसी पीडित तीन साता अघिदेखि मुआब्जा लगायतका माग राखेर आन्दोलित छन् । पीडितहरु आन्दोलित भइरहँदा कांग्रेस उपसभापति गच्छदारले विगत र बर्तमान सरकार कोसी पीडितका लागि अनुदार बनेको टिप्पणी गरे । ‘विगतमा पनि सरकारले केही गरेन,’ उनले भने, ‘अहिले पनि कोसी पीडितको समस्या सुल्झाउन केपी शर्मा ओली नेत्रृत्वको सरकारले कुनै चासो दिएको छैन ।’ कोसी पीडितलाई मुआब्जाविहीन बनाएर थप पीडित बनाउने काम भइरहेको भन्दै उनले सबै समस्या सरकारकै गैरजिम्मेवारीपनका कारण उत्पन्न भएको आरोप लगाए ।

बर्तमान सरकारकै कारण पीडितहरु अहिले पनि मुआब्जा माग्दै आन्दोलनमा उत्रनु परेको गच्छदारले बताए । ‘मुआब्जा सम्बन्धी सबै दोष सरकारलाई जान्छ,’ उनले भने, ‘दुवै देशका सरकारले गम्भीर रुपमा छलफल गरेर समस्या समाधानको बाटो खोज्नु पर्छ ।’ एकअर्को प्रशंगमा उनले सरकारप्रति जनतामा दिनप्रतिदिन निराशा छाएर गएको बताए । सरकारको कार्यशैली हैकमवादी भएको भन्दै गच्छदारले त्यसप्रति जनतामा वितृष्णा पैदा भएको जिकिर गरे । सरकारको काम गर्ने क्षमता कमजोर भएकाले जनता निराश बनेको उनको टिप्पणी छ ।

तपाईको प्रतिक्रिया

Loading…