लक्ष्मीमार्गमा असोज ४ गतेदेखि अन्तराष्ट्रिय गोल्डकप हुने

बेलबारी । मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा तेस्रो लक्ष्मीमार्ग अन्तराष्ट्रिय आमन्त्रित गोल्डकप २०७६ आयोजना हुने भएको छ । यहि असोज ४ गतेदेखि ११ गतेसम्म प्रतियोगिता आयोजना हुन लागेको आयोजक डाँगीहाट युथ क्लबले सोमबार बिहान पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । प्रतियोगितामा बिजेताले ५ लाख र उपबिजेताले २ लाख ५० हजार नगद पुरस्कार,ट्रफि र मेडल प्राप्त गर्नेछन । प्रतियोगितामा एपिएफ काठमाण्डौ,मदन भण्डारी स्पोर्टस एकेडेमी काठमाण्डौ,नेपाल पुलिस क्लब काठमाण्डौ,रोयल क्लब भारत,रुपन्देही ११,आयोजक डाँगीहाट युथ क्लब र धरान फुटबल क्लब सुनसरी सहभागी हुने भएका छन ।

प्रतियोगितामा ३१ लाख खर्च हुने र ३३ लाख आम्दानी हुने अनुमान गरिएको आयोजक क्लबका अध्यक्ष बिक्रम राईले जानकारी दिएका छन । प्रतियोगितालाई बुद्ध एअरले प्रायोजन गर्ने भएको छ भने टुबोर्ग बियर सहप्रायोजक रहेको छ । प्रतियोगितामा हरेक दिन म्यान अफ दि म्याच सहित ६ वटा बिधामा पुरस्कार प्रदान गरिने जनाईएको छ । यसअघि दुईपटक गोल्डकप आयोजना गरिसकेको क्लबले गत बर्षको तुलनामा पुरस्कार राशि समेत दोब्बर बनाएको अध्यक्ष राईले जानकारी दिए ।

पत्रकार सम्मेलनमा खेल संयोजक अजित अधिकारी,बेलबारी वडा नम्बर ११ का वडाध्यक्ष यामबहादुर पोख्रेल (राजन) लगायतले यो प्रतियोगिता यस क्षेत्रको गौरवको बिषय भएको र सबैले प्रतियोगिता सफल बनाउन जुटनुपर्ने बेला भएको बताए । प्रतियोगिता सफल बनाउन बिभिन्न उपसमितिहरु निर्माण गरी काम समेत शुरु गरिएको छ । बेलबारी ११ लक्ष्ममिार्गको लक्ष्मी मावि खेलमैदानमा आयोजना हुने प्रतियोगितामा १० हजार बढी दर्शकहरुले गोल्डकप अबलोकन गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…