रिफ्रेसमेन्ट सेन्टरप्रति ट्राफिक प्रहरीको उदासीनता, चेतना अभावमा ९२ प्रतिशत दुर्घटना

बिर्तामोड / जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले ५ वर्षअघिदेखि सञ्चालनमा आएको रिफ्रेसमेन्ट सेन्टर आवश्यक नभएको बताएको छ ।

दुर्घटना न्यूनीकरणका लागि भन्दै लामो दूरीका गाडी चलाउने चालकहरुका लागि ट्राफिक प्रहरीले नै रिफ्रेसमेन्ट सेन्टर (आराम कक्ष) बनाएको थियो । आर्थिक वर्ष २०७०÷०७१मा तत्कालीन ट्राफिक प्रहरी प्रमुख सूर्य सुवेदीले रिफ्रेसमेन्ट सेन्टर निर्माण गरे पनि हाल उक्त सेन्टर बन्द रहेको छ ।

दमकस्थित आदिवासी रंगशाला नजिकै पाँडाजुगीमा ट्राफिक प्रहरीले सञ्चालन गरेको रिफ्रेसमेन्ट सेन्टर हाल बन्द छ । उक्त सेन्टर सञ्चालन गर्ने विषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख होमप्रसाद अधिकारीले कुनै चासो नदिएको मात्र होइन रिफ्रेसमेन्ट सेन्टर आवश्यक नै नभएको प्रतिक्रिया दिए । जिल्ला ट्राफिक प्रहरी प्रमुख अधिकारीले भने– रिफ्रेस सेन्टर पूर्वाञ्चलको सुनसरीमा छ त्यसैले झापामा यसको आवश्यक छैन् । ट्राफिक नियम सिकाउन स्कुल–स्कुल पुग्ने गरेका झापा ट्राफिक प्रमुख अधिकारीले रिफ्रेसमेन्ट सेन्टर आवश्यक नभएको भन्दै गैर–जिम्मेवारी अभिव्यक्ति दिएको बताइन्छ ।

राजधानी काठमाडौंसहित लामो दूरीमा सवारी हाँक्ने चालकहरुका लागि पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दमकमा रिफ्रेसमेन्ट सेन्टरको स्थापना गरिएको थियो । लामो दूरीका गाडी केहीबेर रोक्न लगाई पानी र चिया खुवाएर रिफ्रेस बनाउने उद्देश्यका साथ यो सेन्टरको स्थापना गरिएको ट्राफिक प्रहरीको भनाइ छ । बसका चालकसहित यात्रुहरुका लागि पनि दिसापिसाब गर्ने व्यवस्था मिलाइएको थियो ।

दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ स्थापना गरिएको सेन्टर सञ्चालन गर्ने विषयमा ट्राफिक प्रहरी प्रमुख अधिकारीले चासो नदिँदा दुर्घटनाको सम्भावना बढेको यात्रुहरुले गुनासो गरेका छन् । लगातार गाडी हाँक्नाले चालकको स्वास्थ्यमा असर पर्ने र यसले दुर्घटना पनि बढाउन सक्ने भएकाले यी दुबैलाई रिफ्रेस सेन्टरले घटाउने विश्वास व्यक्त गरिए पनि ट्राफिक प्रमुख अधिकारीले उक्त विषयमा वास्ता नगर्ने गरेको चालक तथा यात्रुहरुको भनाइ छ ।

लामो दूरीमा चल्ने सबै किसिमका सवारीसाधनलाई यहाँ रोकेर रिफ्रेस गराइने गरिएको थियो । विशेष गरी रातको समयमा चल्ने सवारी साधनहरुलाई लक्षित गरी सञ्चालन गरिएको भए पनि हाल रिफ्रेससेन्टर कहाँ छ भनेर खोज्नुपर्ने अवस्था रहेको स्थानीयले बताए । सडक दुर्घटना न्यूनीकरण गर्न सरकारले लामोदूरीका सवारीमा अनिवार्य दुई चालक रहनुपर्ने व्यवस्था गरेको छ । लामो दूरीमा चल्ने सवारी साधन एउटै चालकले हाँक्दा निद्राका कारण सवारी दुर्घटनामा पर्ने गरेको ट्राफिक प्रहरीको निष्कर्ष छ ।

उता १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक भीम दाहालले भने– रिफ्रेसमेन्ट सेन्टर आवश्यक छ, झापा प्रमुखले के सन्र्दभमा छैन भने म तत्काल उनीसँग स्पष्टीकरण सोध्नेछु । प्रदेश–१का १४ जिल्लामा दुर्घटनाका कारण दैनिक एक जनाले ज्यान गुमाउने गरेको तथ्याङ्क छ ।

सवारी दुर्घटनाका कारण गतआर्थिक वर्ष २०७५÷०७६मा तीन सय ७४ जनाले ज्यान गुमाएका थिए भने आर्थिक वर्ष २०७४÷०७५मा चार सय २४ जनाको मृत्यु भएको थियो । गतआर्थिक वर्षमा १२ दशमलव ५ प्रतिशतले मृत्युदर घटाउन प्रदेश प्रहरी सफल भएको प्रहरी उपरीक्षक दाहालले बताए ।

उनका अनुसार ९२ प्रतिशत मानवीय कारणले दुर्घटना हुने गरेको छ । ४३ प्रतिशत लापरबाहीका कारण, ४० प्रतिशत तीब्र गतिका कारण र ९ प्रतिशत मादक पदार्थ सेवन(मापसे)का कारण दुर्घटना हुने गरेको छ । प्रदेश–१ को प्रवेश क्षेत्र कोशी कटान क्षेत्रमा रिफ्रेसमेन्ट सेन्टर निर्माणको काम भइरहेको तथा दुहवी, भेडेटार, मूलघाट र ताराबारीमा पनि रिफ्रेसमेन्ट सेन्टर सञ्चालन गर्दै अझ ब्यवस्थित गर्ने योजनाका साथ काम भइरहेको प्रमुख दाहालको भनाइ छ ।

झापामा रिफ्रेसमेन्ट सेन्टर आवश्यक रहेको भन्दै उनले आवश्यक छैन भन्ने प्रहरी अधिकारीसँग कारण खोज्ने बताए । उनले ट्राफिक नियमको पालना गरेर सहयोग गरिदिन सबैसँग आग्रह समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया

Loading…