दुवई पठाइदिने भन्दै लाखौं उठाएर फरार

विराटनगर / वैदेशिक रोजगारीका लागि दुवई पठाइदिने भन्दै लाखौं रुपैयाँ उठाएर सुनसरीको हरिनगरा गाउँपालिका–४ का ३५ वर्षीय गिरेन्द्र साह फरार बनेको घटना सार्वजनिक भएको छ । आकर्ष कमाईको लोभ देखाएर सात युवामाथि प्रति व्यक्ति एक लाख ७० हजार रुपैयाँ असुल्ने काम भएको हो । सात जनामाथि ११ लाख ९० हजार उठाएर साह सम्पर्कविहीन बनेका छन् । उनीबाट हरिनगरा–४ का गन्नु मण्डल सरवरिया, अनिलकुमार मण्डल, इन्द्रदेवकुमार मण्डल, महेशकुमार मेहता, महेशप्रसाद मेहता, रौदी महतो र सञ्जय मण्डल ठगिएका हुन् ।

पीडित युवाहरुले श्रम तथा रोजगार कार्यालय विराटनगरका उजुरी दिएका छन् । कार्यालयका बरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलका अनुसार सबै युवा १९ देखि ३५ वर्षबीचका छन् । कार्यालयले साहका नाममा पक्राउ पुर्जी जारी गरेर खोजीका लागि प्रहरी परिचालन गरेको छ । सञ्जेलले आर्थिक अवस्था कमजोर भएका युवा विदेश जान खोजेको र उनीहरुबाट त्यही मौकामा रकम उठाएर एक व्यक्ति फरार भएको पुष्टि हुने जनाए ।

सबै प्रमाणले ठगी गरेको पुष्टि भएपछि साहलाई पक्राउ गरेर कानुन अनुसार कारबाही अघि बढाइने उनको भनाइ छ । वैदेशिक रोजगारीका लागि दुवई पठाउने भनेर गत वैशाख ७ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलसम्म पु¥याएपछि आफूहरु फिर्ता आउनु परेको युवाहरुले दिएको उजुरीमा खुलाइएको छ । कामदारका रुपमा लैजाने भने पनि पर्यटक भिषामा पठाउन लागेको भन्दै विमानस्थलले फिर्ता गरिदिएको पीडित मध्येका महेशकुमार मेहताले बताए । उनका अनुसार पर्यटक भिषा भएका व्यक्तिले कामदारका रुपमा जान नपाउने भन्दै विमानस्थलले फिर्ता पठाइदिएको हो ।

त्यही दिनदेखि साह सम्पर्कविहीन बनेको पीडित मध्येका सञ्जय मण्डलले बताए । उनका अनुसार काम गर्नका लागि दुवईको बलतिया कम्पनीमा पु¥याउने र नेपालको ५४ हजार रुपैयाँ मासिक तलब हुन्छ भनेर साहले सबैसँग गत चैतबाट पैसा उठाएका हुन् । मण्डलले सबैको राहदानी लिएर साह सम्पर्कविहीन बनेको बताए ।
यता युवाहरुले आफूहरुबाट उठाएको रकम फिर्ता हुनु पर्ने माग गर्न थालेपछि ठगीमा संलग्न साहका बुवा रामफल साहले जिल्ला अदालत सुनसरीमा पीडितहरु विरुद्ध रिट हालेका छन् । विभिन्न धाक, धम्की दिएको भन्दै विपक्षीका नाममा अल्पकालिन अन्तरिम आदेश जारी गरिदिनु पर्ने माग गर्दै उनले रिट दायर गरेका हुन् । सबैले अदालतमा उपस्थित भएर प्रतिउत्तर फर्काउने काम गरिसकेको युवाहरुले बताए ।

श्रम अधिकृत सञ्जेलले दुवई पठाइदिन्छु भन्दै ठगी गरेका युवाको नाममा नेपालमा कुनै पनि मेनपावर दर्ता नभएको बताए । ‘मेनपावर नभइकन कोही कसैलाई विदेश पठाउन पाइँदैन र त्यस्तो प्रलोभन पनि देखाउन पाइँदैन,’ उनले भने, ‘कोही कसैले त्यसो गरेमा वैदेशिक रोजगार ऐन अन्तर्गत कारबाही हुन्छ ।’

तपाईको प्रतिक्रिया

Loading…