३७ औं विपी स्मृति दिवस ,देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ / प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३७ औँ स्मृति दिवस उनकाे योगदानको स्मरण गर्दै आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते भएको थियाे । विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा कोइराला प्रथम निर्वाचित प्रधानमन्त्री बनेका थिए । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो ।

उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्‍याएका छन् । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन्। उनका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’, एवम् ‘बाबु, आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित भएका छन्। त्यसैगरी दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चस्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’, प्रकाशित छ।

जीवनको लामो समयसम्म काङ्ग्रेसको नेतृत्व गरी २०१५ सालको आमनिर्वाचनमा पार्टीले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभएका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गर्नुभयो । प्रधानमन्त्रीत्वकालमा उहाँले बिर्ता उन्मूलन र ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम अगाडि बढाउनु भयो ।

तपाईको प्रतिक्रिया

Loading…