उद्योग बाणिज्य संघ ईटहरीमा प्रतिष्ठाको लडाँई : बिरासत फर्काउने जोडबलमा काँग्रेस, किल्ला सुरक्षित गर्ने मुडमा कम्युनिष्ट

ईटहरी । सुनसरीको ईटहरीस्थित उद्योग बाणिज्य संघको आसन्न निर्बाचनले माहोल तताएको छ । निर्बाचनको मिति नजिकिँदै जाँदा जेठको गर्मीमा अध्यक्षका लागी दुई उम्मेदवारको टकरावका कारण ईटहरीको माहोल गर्माएको हो । अध्यक्षका लागी नेपाली काँग्रेसका तर्फबाट ब्यबसायी भिम पौडेल र नेकपाका तर्फबाट शैलेस बिष्ट अध्यक्षका उम्मेदवार बनेका छन भने अन्य केही ब्यत्तिहरु समेत आँकाक्षी देखिएपनि उनीहरुको चर्चा खासै छैन ।

कुनैबेला प्रदेश १ को राजधानी ईटहरी हुने हल्लाले गर्माएको ईटहरी राजधानी बिराटनगर तोकिए सँगै सेलाएको थियो । राजधानीको आशा मत्थर हुँदै गएका बेला ब्यबसायीहरुको नेतृत्व गर्ने र आफनो पहुँच समेत प्रर्दशन गर्न सकिने बिश्वासका साथ अध्यक्षका लागी दुई आँकाक्षी कम्मर कसेर लागेका छन । यो निर्बाचनलाई ब्यबसायीले त नेतृत्व चयनका लागी महत्वका साथ हेरेकै छन,त्यसमाथि राजनीतिक दलहरुले समेत आफ्नो शत्ति प्रर्दशन गर्ने महत्वपुर्ण अबसरका रुपमा हेरेका छन ।

लामो समय सम्म नेपाली काँग्रेसको पकडमा रहेको उवासंघ ईटहरीमा अघिल्लो निर्बाचनमा तत्कालीन एमालेका तर्फबाट उम्मेदवार बनेका हालका प्रदेश सभा सांसद लिलम बस्नेतले काँग्रेसको बिरासत भत्काउँदै कम्युनिष्टको पोल्टामा उवासंघ ल्याउन सफल भएका थिए । पछि उनी सांसदको टिकट पाएर साँसद बनेपछि हाल अध्यक्षका उम्मेदवार बनेका उपाध्यक्ष शैलेस बिष्टलाई कार्यबहाक अध्यक्ष सुम्पिएका थिए । बिष्टले सोही अबसरलाई भरपुर सदुपयोग गर्दै यो चुनावमा पनि कम्युनिष्टको बर्चस्व कायम राख्ने ध्याउन्नमा छन भने काँग्रेसका उम्मेदवार भिम पौडेल नेपाली काँग्रेसको बिरासत फर्काउनेमा जोडबल गरिरहेका छन । यो निर्बाचनलाई ब्यबसायिक भन्दा पनि प्रतिष्ठाको लडाँईका रुपमा समेत हेरिएको छ ।

को हुन अध्यक्षका उम्मेदवार पौडेल र बिष्ट ?

प्रदेश १ मा ब्यबसायी भीम पौडेल कुनै नौलो नाम होईन । बेलाबेला उनको चर्चा परिचर्चा भई नै रहन्छ । पछिल्लो समय ईटहरी उद्योग बाणिज्य संघको अध्यक्षमा उम्मेदवारी दिने घोषणा सँगै उनको चर्चा शुरु भएको छ । करिब ३ दशक अघि तेह्रथुमको बसन्तपुरबाट ब्यबसाय शुरु गरेका उनको ब्यबसाय यतिबेला प्रदेश १ भरि बिस्तार भईसकेको छ । उनका दर्जनौ ब्यापार ब्यबसाय यतिबेला प्रदेशभरि फैलिएका छन ।

आयोडिनयुत्त नुन को ब्यबसाय शुरु गरेर ब्यबसाय क्षेत्रमा होमिएका उनका यतिबेला बिभिन्न क्षेत्रमा ब्यबसाय फैलिएको छ । पछिल्लो समय सुनसरीको ईटहरीमा स्थायी बसोबास रहेका पौडेलका टिपर, क्रसर, अटोमोबाईल्स, साल्ट ट्रेडिङ लगायतका ब्यबसाय सञ्चालित रहेका छन । प्रदेश १ का सबै जिल्लामा मार्के्टिङ गर्दै पुगेका र हरेक दुःख सुखका सारथी बनेका पौडेल आफुले निर्बाचन जितेमा ईटहरीमा सार्बजनिक शौचालय, सफा र स्वच्छ ईटहरी, सुरक्षित ब्यबसाय लगायतका बिषयमा आफुले काम गर्ने बताएका छन ।

करिब १ महिनापछि हुने उद्योग बाणिज्य संघ ईटहरीको चुनावलाई लिएर यतिबेला ईटहरीमा चुनावी सरगर्मी बढेको छ । अध्यक्षका लागी समेत आधा दर्जन बढी ब्यत्तिहरु आकाँक्षी देखिएका छन । आकाँक्षी मध्येकै एक हुन बर्तमान बरिष्ठ उपाध्यक्ष शैलेस बिष्ट । संघमा ३ कार्यकाल बिभिन्न पदमा रहेर अनुभव बटुलेका बिष्ट अघिल्लो निर्बाचनमा बरिष्ठ उपाध्यक्षमा निर्बाचित भएका हुन ।

उनले कार्यबहाक अध्यक्षका रुपमा समेत केही समय काम गरिसकेका छन । ईटहरीमै जन्मिएर हुर्किएका उनी लामो समयदेखि ब्यबसायमा संलग्न रहेका छन । समग्र ब्यबसायीको हितका काम गर्न रुचाउने उनी आफु निर्बा्चित हुनेमा ढुक्क रहेको र ब्यबसायीको हितका लागी सदैव क्रियाशिल हुने समेत बताएका छन । दुबैजनाले बिपक्षी भन्दा आफु शसत्त,अनुभवी,ब्यबसायीको हित सोच्ने,सबैको लोकप्रिय बताएपनि निर्बाचनमा आफु सहित आफ्नो प्यानलले जित्नेमा आफु ढुक्क रहेको बताएपनि निर्बाचन पछिको मतपरिणाम कुर्नुको कुनै बिकल्प देखिँदैन ।

तपाईको प्रतिक्रिया

Loading…