शोकसभा सम्पन्न

काठमाडौँ/ बौद्ध साहित्यको विकासमा योगदान पु¥याउनुभएका भिक्षु अश्वघोष महास्थवीरको स्मृतिमा आज शोकसभा गरिएको छ । अखिल नेपाल भिक्षु महासङ्घलगायत संस्थाको सहयोगमा गरिएको कार्यक्रममा सहभागी वक्ताले उहाँको निधनले बौद्ध दर्शनका क्षेत्रमा अपूरणीय क्षति पुगेको विचार व्यक्त गर्नुभएको छ ।पूर्वसभामुख सुवाष नेम्वाङले धर्म निरपेक्षताका लागि तत्कालीन संसद्मा भिक्षुले अभिव्यक्ति दिनुभएका कारण अहिले संविधानमा सोही विचारलाई समावेश गर्न सकिएको बताउनुभयो । सांसद कृष्णगोपाल श्रेष्ठ, कृष्णलाल महर्जनलगायतले बौद्धदर्शन तथा साहित्यको माध्यमबाट भिक्षुले मुलुकको शान्ति र समृद्धिका लागि कार्य गर्नुभएको विचार व्यक्त गर्नुभयो ।

महासङ्घका अध्यक्ष भिक्षु मैत्रेयले सरकारले गरेको उहाँको सम्मानको सराहना गर्दै भिक्षुको आदर्शलाई अविलम्ब गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । गत चैत २२ गते ९३ वर्षको उमेरमा निधन भएका भिक्षु अश्वघोषको योगदानलाई मूल्याङ्कन गर्दै २४ गते गरिएको अन्त्येष्टिमा सरकारले राष्ट्रिय सम्मानसमेत प्रदान गरेको थियो ।बहुदलीय व्यवस्थामा तत्कालीन एमालेका तर्फबाट राष्ट्रियसभामा सांसद हुनुभएका उहाँले लुम्बिनी विकास कोषका उपाध्यक्ष र धर्मोदयसभाका अध्यक्षको जिम्मेवारी पूरा गर्नुभएको थियो । ललितपुर ओकुबहाल निवासी आमा लक्ष्मीमाया शाक्य र पिता चन्द्रज्योति शाक्यको कोखबाट १९८३ सालमा जन्मिनुभएका उहाँको गृहस्थ नाम बुद्धरत्न शाक्य थियो । १६ वर्षको उमेरमा कुशीनगरमा भिक्षु अमृतानन्दको आचार्यत्वमा श्रामणेर अश्वघोष नामले प्रवजित हुनुभएको थियो ।

उहाँ आचार्य महानायक डा भिक्षु अमृतानन्द महास्थवीरका प्रथम शिष्य हुनुहुन्थ्यो । भिक्षु तपस्वी धम्मका अनुसार सन् २००० मा ¥यान्मा सरकारले उहाँलाई ‘अग्गमहासद्धम्मजोतिकधज’ पदवी प्रदान गरेको थियो । नेसं ११२८ मा नेपाल भाषा परिषद्बाट ‘भाषाथुवाः’ उपाधिबाट विभूषित गरिएको थियो । नेपाली र नेपालभाषामा उहाँका बुद्ध धर्मसम्बन्धी करीब १५० पुस्तक प्रकाशित छन् ।

तपाईको प्रतिक्रिया

Loading…