सरकार र विप्लव जुहारी, सुमार्गी देखि प्रसाई सम्म टार्गेटमा !

ईटहरी । सरकारले प्रतिबन्धित नेकपा विप्लव समुहलाई आर्थिक तथा भौतिक सहयोग गर्नेहरुलाई कारबाही गर्ने बताईरहँदा बिप्लव माओवादीले भने नेकपा अध्यक्ष प्रचण्ड निकट मानिएका ब्यबसायीहरुलाई टार्गेटमा राखेर चन्दा अभियान तिब्र बनाएको छ । सरकारले २८ फागुनमा विप्लव समूहमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । प्रतिबन्ध लगाएको दुई साता वित्न नपाउँदै विप्लव समूहका शीर्ष नेता मध्येका एक हेमन्तप्रकाश वली सुदर्शन काभ्रेबाट पक्राउ परे । उनी सहित ८ जना पक्राउ परेका छन । लगत्तै आइतबार गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै विप्लव समूहको आपराधिक तथा विध्वंसात्मक क्रियाकलापमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न र सहयोग गर्ने व्यक्ति, संस्था वा समूहलाई समेत प्रचलित कानूनअनुसार कारबाही हुने प्रष्ट पारेको छ ।

‘यस्ता समूहहरुलाई कुनै किसिमको आर्थिक, भौतिक सहयोग नगर्न एवं त्रास, धम्की र प्रलोभनमा नपर्न तथा यदि कोही कसैबाट जबरजस्ती आर्थिक सहयोग माग गर्ने धम्की दिने कार्य भए गरेमा सो को सूचना तत्काल नजिकको प्रहरी प्रशासनलाई दिन मन्त्रालयले आग्रह गरेको छ । अर्कोतर्फ नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सत्तारुढ दलका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनजिक मानिएका व्यावसायीको सम्पत्ति कव्जा गर्ने अभियान थालेको छ ।

‘नेताका आडभरोसा र राज्यलाई नै भ्रममा पार्ने व्यावसायीमाथि पार्टीले निगरानी बढाएको छ । उक्त समूहले एनसेल लगायतका विभिन्न प्रकरणमा बाह्य देशमा सम्पत्ति थुपारेको भनिएका व्यावसायी अजेयराज पराजुली (सुमार्गी), ठेकेदार शारदा प्रसाद अधिकारी, मेडिकल व्यावसायी दुर्गा प्रसाई लगायतको सम्पत्तिको स्रोत र विवरणका आधारमा कव्जाको नीति अख्तियार गरेको छ ।

विप्लव समूहका प्रवक्ता प्रकाण्डको साथबाट फेला पारिएको भनिएको डायरीमा पनि केही व्यावसायीका नाम छन् । त्यतिमात्र होइन, स्वयम् प्रचण्ड, प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिपक्षी दलका नेता देउवालाई पनि टार्गेट गरि डायरीमा नाम उल्लेख भएको प्रहरीको दाबी थियो । त्यसपछि उक्त दललाई प्रतिबन्धको घोषणा गरियो । विप्लव समूहले यसको खण्डन गरेको छ । यी व्यापारीको सम्पत्ति कव्जाको सुरुआत पनि भइसकेको दाबी गरिएको छ ।

सुमार्गीको नाममा रहेको कास्की जिल्लाको २५ रोपनी जग्गा कव्जा गरेको विप्लव समूहको दाबी छ । शनिबार विप्लव समूह कास्कीले एक विज्ञप्ति जारी गरी सोवासचन्द्र सिग्देल, रामचन्द्र र हरिचन्द्र सिग्देलको नामबाट मुक्ति श्री प्रालिका नाममा रहेको जग्गा कव्जा गरेको जनाएको थियो । यस्तै ललितपुर लगायतका विभिन्न ठाउँमा सडकदेखि अनेक ठेक्का लिएका अधिकारी, झापामा मेडिकल कलेज खोलेको प्रसाई लगायतलाई पनि निगरानीमा राखिएको सो समूहको दाबी छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…