छोरीसँग एसइइ दिँदै सांसद चौधरी

घोराही / प्रतिनिधिसभा सदस्य शान्ता चौधरी यस पटक माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिँदै हुनुहुन्छ । गत २०७३ सालमा डाँडागाउँ मावि गोग्ली, घोराही–२ मा कक्षा ८ मा भर्ना भएपछि उहाँको औपचारिक कक्षाको पढाइ शुरु भएको थियो । कक्षा ८ र ९ मा औपचारिक रुपमा नियमित विद्यालय गएर पढे पनि कक्षा १० मा भने नियमित विद्यालय जान सक्नुभएन । अनि खुला विद्यालयमा भर्ना हुनुभयो ।

उहाँ यस पटक आफ्नी १७ वर्षीया छोरी विनु चौधरीसँग एसइइको परीक्षा दिँदै हुनुहुन्छ । “यसपालि त म छोरीसँग परीक्षा दिँदैछु ।” उहाँले हाँस्दै भन्नुभयो, “ममी कसको नम्बर धेरै आउँछ है भन्दै छोरीले जिस्काउँछिन्, मलाई डर लाग्छ ।” उहाँले छोरीसँग प्रतिस्पर्धा गर्नुको अप्ठेरो सुनाउनुभयो । नियमिततर्फ महेन्द्र मावि तुलसीपुरमा सञ्चालित खुला विद्यालयमा अध्ययनरत चौधरी(सिम्बोल नं ०५८८४५३ भी)को सेण्टर मावि तुलसीपुरमा परीक्षा केन्द्र तोकिएको छ । उहाँकी छोरी विनुले भने बाल सिर्जनालय सेकेण्डेरी बोर्डिङ स्कूल वसुन्धरा, काठमाडौँबाट परीक्षा दिँदै हुनुहुन्छ । नेकपा संसदीय दलका सचेतक चौधरीले रासससँग कुरा गर्दै भन्नुभयो, “व्यस्तताको कारण नियमित कक्षा जान पाइन, सानोमा पनि पढ्ने बानी भएन । त्यसैले अहिले मेहनत धेरै गर्नुपरेको छ ।” बाल्यकालदेखि विद्यालय त देखे पनि जान नपाएको र किताब छोए पनि पढ्न नपाएको उहाँको गुनासो छ । सामाजिक काम गर्दागर्दै राजनीतिमा पुग्नुभएका नेत्री चौधरीलाई पछिल्लो समय पढ्नैपर्ने बाध्यता आइलाग्यो । नेताहरू पढ्दैनन् भन्ने भनाइले उहाँलाई पटक पटक घोच्यो र विद्यालयमा भर्ना हुनुभयो ।

विसं २०६४ मा पहिलो पटक समानुपातिकबाट संविधानसभा सदस्य भइसकेपछि विभिन्न समितिमा बस्दा अरू पढेलेखेका सदस्यले घोचपेच गर्न थालेपछि उहाँले पढाइको महत्व बुझ्नुभयो र पढ्नतिर लाग्नुभयो । केही वर्ष स्वाध्ययन गरेपछि औपचारिक शिक्षा र प्रमाणपत्र लिएरै पढाइ पूरा गर्ने रहर लागेपछि अप्ठेरो नमानेरै विद्यालयमा भर्ना भएको उहाँ बताउनुहुन्छ ।

शुरुशुरुमा कक्षा ८ र ९ मा नियमित विद्यालय पनि जानुभयो । डाँडागाउँ माविमा कक्षामा बसेका र पढेका साना भाइबहिनी घरमा आएर जिस्काउँदा उहाँलाई अचम्म लाग्छ । “उनीहरु कसको ग्रेड धेरै आउँछ है, हाम्रो त प्रतिस्पर्धा हुन्छ है” भन्दै हाँस्छन् । उनीहरुको हँसाइले आफूलाई झन् पढ्नु पर्दोरैछ भन्ने सांसद चौधरीलाई लाग्छ ।

शुरुमा स्कुल जाँदा उहाँलाई आफ्नै बुबाआमाले समेत विश्वास गर्नुभएन । असी वर्ष कटिसक्नुभएका बुवा हसुलाल र ७५ वर्षीया आमा कुन्तीले शुरुमा त “विद्यालय नै नजाने मान्छेले पनि किन पढ्न कस्सिएको होला, नचाहिने काम गर्ने ?” भन्नुहुन्थ्यो रे । पछि नियमित विद्यालय जाने पढ्ने गरेको देखेपछि विश्वास गरेको उहाँ सुनाउनुहुन्छ । “शुरुमा विद्यालय जाँदा, तँलाई साना केटाकेटीले जिस्काउँदैनन भनेर बुवाआमाले सोध्नुहुन्थ्यो”, उहाँले भन्नुभयो, “अब त मेरा भाइका साना छोराछोरीलाई शान्ता फुपूले जस्तै पढ्नुपर्छ भनेर सिकाउनुहुन्छ ।” नेत्री चौधरीले पढाइप्रति मोह देखाउन थालेपछि उहाँका बुबाआमा आफूहरुले छोरीलाई पढाउन नसकेकामा पछुतो मान्नुहुन्छ ।

सांसद चौधरी घरमा आनन्दले पढ्न पाउनृुहुन्न । “माननीय भन्छन्, जिल्लामा हुने हरेक सानाठूला औपचारिक कार्यक्रममा सबैले सम्झिन्छन्”, उहाँले भन्नुभयो “गएन भने पनि जनताले बोलाएको ठाउँमा आउँदिन भन्छन्, त्यसैले म नकार्न सक्दि । गयो भने पढ्ने समय पाइँदैन ।” उहाँले पछिल्लो एक हप्तायता औपचारिक कार्यक्रममा जान छाड्नुभएको छ ।

अब परीक्षालाई ध्यानमा राखेर भाषण गर्ने कार्यक्रममा जान छाडेको उहाँले बताउनुभयो । उहाँ राति पढ्न गाह्रो भएपछि प्रायः बिहान र दिउँसो पढ्नुहुन्छ । “रातिसम्म धेरै बस्न सक्दिन । पूरा समय सुत्नुपर्छ भन्ने लाग्छ, त्यसैले छिट्टै सुत्छु । बिहान छिटो उठेर पढाइ थाल्छु ।” उहाँलाई जति सक्यो धेरै ग्रेड ल्याउने ध्याउन्न छ । उहाँलाई अरु सबै कामभन्दा पढ्ने काम सबैभन्दा गाह्रोजस्तो लाग्छ तर पनि यही गाह्रो काम गर्न उहाँ कस्सिनुभएको छ ।

उहाँलाई सबैभन्दा सजिलो नेपाली र सामाजिक विषय लाग्छ भने गणित र विज्ञान अप्ठेरो लाग्छ । अङ्ग्रेजीमा त उहाँ बोल्न सक्नुहुन्छ तर व्याकरण मिलाएर लेख्न भने अप्ठेरो लाग्छ । एसइइपछि माथिल्लो कक्षामा ग्रेडअनुसारको विषय छान्ने उहाँको धोको छ । जसरी भए पनि पढाइ भने नछाड्ने उहाँ बताउनुहुन्छ । अठ्तीस वर्षीया चौधरीलाई सकभर स्नातकोत्तर अझ विद्यावारिधि गर्ने धोको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया