महिला साफको टिकटमा दर्शकको विरोध , सहिद रंगशाला आसपासको स्थिती तनावपूर्ण

माेरङ  / विराटनगरमा जारी पाँचौं साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार दिउँसो ३ बजेदेखि नेपाल र भारतबीच हुने फाइलन खेलको टिकटको मूल्य महँगो भएको भन्दै विरोध सुरु भएको छ ।  टिकट काट्दै सिट सुरक्षित गर्नका लागि रंगशाला पुगेका दर्शकहरु टिकट महँगो भएको भन्दै नारावाजी र प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शन र नारावाजीका कारण प्रतियोगिता आयोजना स्थल विराटनगरको सहिद रंगशाला आसपासको स्थिती तनावपूर्ण बनेको छ । भीड नियन्त्रण गर्न प्रहरीलाई मुस्किल परिरहेको छ । स्थिती तनावपूर्ण बन्दै गएपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिना जानकारी टिकटको मूल्य बढाएको दर्शकको गुनासो छ । यस अघिका अन्य खेलहरूमा २ सयदेखि ३ सयसम्म रहेको टिकटको मूल्य फाइनल खेलका लागि ५ सय बनाइएको छ । टिकटको दर बढाइएपछि सर्वसाधारण दर्शक विरोधमा उत्रिएका हुन् । उनीहरुले कुनै बिना जानकारी आफूखुसी टिकटको मूल्य बढाइएको भन्दै विरोध जनाइरहेका छन् ।

टिकटको दर ५ सय रुपैयाँ कायम गरेर टिकट बिक्रीका लागि खोलिएका काउण्टरहरु दर्शकको विरोध र प्रदर्शनका कारण बन्द भएका छन् । विरोधमा उत्रिएकाहरुले टिकटको मूल्य घटाएर पुरानै कायम गर्नु पर्ने माग राखेका छन् । दर्शकको विरोधका कारण साफको फाइनलका लागि टिकट बिक्री हुन सकिरहेको छैन । सुरुमा भीआईपी तर्फ तीन सय र साधारणतर्फ दुई सय रुपैयाँ टिकट दर तोकिएको थियो ।

एन्फाले यही दरका विषयमा बिहीबार साँझसम्म विराटनगरमा माइकिङसमेत गरेको थियो । एन्फाका प्रवक्ता किरण राईले दर्शकको विरोधबारे आफूलाई जानकारी नभएको बताउँदै यस अघि नै निश्चित गरिसकिएको टिकटको मूल्य नघट्ने जानकारी दिए ।

Purbeli TV

तपाईको प्रतिक्रिया