प्रादेशिक छनोट खेल जारी : तेक्वान्दोमा मिकी र एलिसालाई स्वर्ण

माेरङ / आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश १ स्तरिय छनौट खेल जारी रहेको छ । मिकी गुरूङ र एलिसा मगर आईटिएफ तेक्वान्दोको प्रदेश नम्वर १ को छनोट खेलमा स्वर्ण जित्दै आठौं राष्ट्रिय खेलकुदका लागि छनौट भएका छन् ।  झापाकी मिकीले ७० देखि ७५ किलो तौलसम्ममा सुनसरीकी प्रतिष्ठा कट्वाललाई हराइन । त्यस्तै ७५ किलोमाथि झापाकी एलिसाले सुनसरीकी दिब्या खत्रीलाई हराउँदै स्वर्ण जितिन ।

त्यसरी नै महिला ४० देखि ४५ किलो तौल समूहमा सुनसरीकी, सोनिया बस्नेतले भोजपुरकी दिक्षा लिम्बूलाई पराजित गर्दै हात पारेकी छन् । ६५ देखि ७० किलो तौल समूहमा झापाकी रेखा लिम्बूले मोरङकी प्रकृति कार्कीलाई हराइन । मोरङको लेटाङ नगरपालिका स्थित जनसेवा खेल मैदानमा भएको पुरुष ४५ देखि ५० केजी तौल समूहमा भोजपुरका विषेश राईले मोरङका प्रथम कार्कीलाई हराउँदै स्वर्ण जितेका छन् । प्रथम हुने सबै खेलाडी आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश १ बाट छनोटमा परेका छन् ।

कराँतेको सेमीफाइनल सकियो

आठौं राष्ट्रिय खेलकुद प्रदेश १ को कराँतेतर्फका सेमीफाइनल खेल बिहीबार सकिएको छ । पुरुष कुमुतेको ५५ किलो तौल समूहमा मोरङका विवेक थापा र झापाका मनिस उप्रेती फाइनलमा प्रवेश गरेका छन् ।  पुरुष ६० किलोमा खोटाङका सन्तोष राई र मोरङका किशोर कोइरालाले फाइनल भिडन्त पक्का गरे । पुरुष ६७ केजीमा मोरङका रोदन खड्का र धनकुटाका लोकेन्द्र राई फाइनल पुगे । त्यसै गरी महिला ५५ किलोमा खोटाङकी विद्याकला राई र सुनसरीकी अभिता राई फाइनलमा प्रवेश गरेका छन् । महिला ६१ किलोमा सुनसरीकी ईन्द्रमाया राई र संखुवासभाकी संगीता लिम्बू तथा महिला ६८ केजीमा खोटाङकी जस्मीना राई र इलामकी समीक्षा लाप्ताले उपाधि भिडन्त पक्का गरे ।

बक्सिङमा फाइनल यात्रा सुरक्षित

प्रदेश १ कौ छनौट खेल अन्तर्गत ४९ केजी तौलमा उदयपुरका लक्ष्मण राईले भोजपुरका विशाल राईलाई हराउँदै बक्सिङमा फाइनल पुगेका छन् ।  ५६ किलोमा प्रदीप खालिङ राईले खोटाङका अनुप थुलुङ राईलाई हराए । सोही समूहमा झापाका सुरेन्द्र राईले धनकुटाका रोजन श्रेष्ठलाई हराउँदै फाइनल प्रवेश गरे । ६० किलो समूहमा विजय राई र तोविन प्रधानले फाइनल भीडन्त पक्का गरे । उदयपुरका विजयले खोटाङका अभिषेक राईलाई इलामका तोविनले संखुवासभाका नवीन गुरुङलाई सेमीफाइनलमा पराजित गरे । ६४ किलो तौल समूहमा सुनसरीका जेनिस तुलाधर फाइनल प्रवेश गरे । सोही समूहमा पाँचथरका जीतबहादुर खवासले जित निकाल्दै फाइनलमा स्थान बनाए ।

६९ किलो समुहमा उदयपुरका प्रेमबहादुर खत्रीले जित हात पारे । सोही समूहमा इलामका सुजन तामाङलाई हराउँदै सुनसरीका राजेश गुरुङ फाइनल प्रवेश गरे । ७५ किलो तौल समूहमा उदयपुरका अजित मगरले फाइनलमा स्थान बनाए । ७५ किलो तौल समूहमै इलामका राजु विकले आफनो स्थान सुरक्षित गरे । त्यसै गरी इलामका ओमराज गुरुङलाई हराउँदै झापाका प्रसिश रुचाल फाइनल प्रवेश गरे । सोही समूहमा मोरङका आयुश कुमार केसी पनि फाइनल पुगे । ९१ किलो तौल समूहमा सुनसरीका कपिल राईलाई हराउँदै झापाका इसाक जनक शाही फाइनल प्रवेश गरे । सोही समूह अन्तर्गत नै मोरङका सुवास राजवंशीले फाइनलमा आफ्नो स्थान सुरक्षित गरे ।

टेबुलटेनिसको छनोट सुरु

प्रदेश १ को टेबुल टेनिस छनोट पनि काँकडभिट्टामा बिहीवारदेखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन मेची नगर प्रमुख बिमल आचार्य र पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष रविन नगरकोटीले टेबल टेनिस खेल्दै उद्घाटन गरे । १४ जिल्लाका खेलाडीले महिला एकल र पुरुष एकलका लागि प्रतिष्पर्धा गर्ने छन् । प्रतियोगितामा सहभागीता जनाउन भोजपुर जिल्लाबाट प्रतिनिधित्व गरेकी कक्षा ५ मा अध्यानरत खेलाडी सुलेखा ठाकुर ८ वर्षकी कान्छी खेलाडी हुन् । उनले यसै साल काठमाडौंमा सञ्चालन भएको एन्टा कप नेश्नल जुनियर च्याम्पियनसीपमा यू–१० मा कास्य जितेकी थिइन ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…