जोखिममा परेका महिला र बालबालिकाका लागि सुरक्षा बास

माेरङ / विराटनगर महानगरपालिका–४ खार्जीमा जोखिममा परेका महिला तथा बालबालिकाका लागि सुरक्षा बास निर्माण गरिएको छ ।  हिंसाबाट प्रभावित भएका, बेचविखनमा र अन्य जोखिमबाट परेका महिला तथा बालबालिकालाई अल्पकालसम्म संरक्षण दिनका लागि सुरक्षा बासको निर्माण गरिएको हो । संघीय सरकारको समन्वय र अमेरिकी जल सेना कमाण्डको सहयोगमा सात करोड रुपैयाको लागतमा अत्याधुनिक सुरक्षा बास बुधबार प्रदेश १ सरकारलाई हस्तान्तरण गरिएको छ । सात कट्ठा क्षेत्रफलमा बनेको सुरक्षा बास भवन अमेरिकी सरकारको तर्फबाट अमेरिकी जल सेनाका सर्जेन्ट केली मेभलर र कमाण्डर वाल्टर सिब्लीले बुधबार एक कार्यक्रमकाबीच महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापालाई हस्तान्तरण गरेका थिए ।

त्यस लगत्तै मन्त्री थापाले उक्त सुरक्षा बास प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई हस्तान्तरण गरिन् । मन्त्री थापाले विभिन्न पीडा र हिंसाबाट पीडित बनेका महिला र बालबालिकालाई तत्काल संरक्षण दिने हिसावमा सुरक्षा बास भवनको प्रयोग गर्न आग्रह गरिन् । सामाजिक विकासमन्त्री जीवन घिमिरेले हिंसा प्रभावित महिलाहरुको संरक्षणमा प्रदेश सरकारले थालेको अभियानलाई सुरक्षा बास हस्तान्तरणले ठूलो मद्दत पुगेको बताए ।

३० जना क्षमताको सुरक्षा बासमा भान्सा, सयन कक्ष, शौचालय सहित अत्याधुनिक १५ वटा कोठा छन् । प्रदेश १ सरकारले उक्त भवनलाई कार्यविधी बनाएर सञ्चालन गरिने जनाएको छ । कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव राजेन्द्रकुमार पौडेल, सामाजिक विकास मन्त्रालयका सचिव हरिप्रसाद दाहाल लगायत उपस्थित थिए ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…