स्वस्थानी व्रतकथा भाग – २९ : श्री स्वस्थानी व्रतकथाको समापन || आज समापन कथा भएकाले सबैले सेयर गरेर स्वास्थानी माताको आर्शिवाद ग्रहण गनुृहोस् ।

कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि ! हर्ष बढाई र मङ्गल यात्राका साथ दरबारभित्र चन्द्रावती भित्रिएपछि उनले राजमाता गोमा र राजा नवराजलाई पाउमा साष्टाङ्ग दण्डवत् गरिन् । राजा नवराजले चन्द्रावतीसित प्रेमपूर्वक सोधे – ‘हे प्रिये ! मैले पाँच वर्ष अघिदेखि तिम्रो मुख देख्न पाएको थिइँन । यहाँ ल्याउन भनी डोले र सिपाहीहरू तिम्रा माइतमा पठाएको थिएँ, ती पनि आजसम्म फिरेका छैनन् । तिमी यहाँ आउन विलम्ब हुनुको कारण के हो ? यो देशको राजसिंहासनमा मेरो राज्याभिषेक भएको पनि तिमीले हेर्न र देख्न पाइनौ ? मेरो पनि राज्यका कार्यभारले तिम्रो खोजी गर्नमा ध्यान पुग्न सकेन, यो निष्ठुरीलाई क्षमा गर । अनि शाली नदीका तिरमा आएर एक्ली भएर किन बसेकी थियौ ? मलाई खबर गर्नु पर्दैनथ्यो ? तिमी पहिलेकी जस्ती त देखिन्नौ त ? कता हो कता राम्री, तेजस्वी र अनेकौं लक्षणले युक्त झैं देखिन्छ्यौ नि त ? कुनै ठूलो सङ्कटमा पो पर्यौ कि, कुनै सज्जनहरूको साथ पो पायौ कि सबै वृत्तान्त बताऊ ।’ आफ्ना स्वामी नवराजले प्रेमपूर्वक यस्त कुरा गरेको सुनेपछि चन्द्रावतीले पनि डोलेहरू लिन गएको र आफ्ना पिता अग्निस्वामीका घरबाट यता आउन भनी हिंडेर वरुणपुर छोडेका दिनदेखि भएको सम्पूर्ण वृत्तान्त जो थियो, सबै नबिराइकन यथार्थ सुनाईन् ।

चन्द्रावतीका यी कुरा सुनेर आश्चर्य मान्दै ‘धन्य ! हाम्रो भेट हुन पायो ‘ भनेर नवराजले हर्ष प्रकट गरे । उता चन्द्रावती भन्दै गईन् – ‘हे स्वामी ? श्री स्वस्थानी परमेश्वरीको निन्दा र अपमान गरेका पापले मेरो त्यस्तो दुर्दशा हुन गई त्यो अवस्थामा पुग्न गएँ । फेरि उनै परमेश्वरीको कृपाले आज हजुरहरूको दर्शन पाउन सकें । हे माता ! हे पति ! श्री स्वस्थानी परमेश्वरी भन्दा ठूलो देवता अरु कोही रहेनछ । सम्पूर्ण व्रतका पनि व्रत, धर्मका पनि धर्म, कालका पनि काल, देवताका पनि देवता,नाथका पनि नाथ, मालिकका पनि मालिक, ईश्वरका पनि ईश्वर त्यस्ती परमात्मा श्री स्वस्थानी परमेश्वरीलाई कोटि कोटि नमस्कार छ ।’ यत्ति भनी रानी चन्द्रावतीले परमेश्वरीमा चित्त लगाई बार–बार ढोग्दी भईन् ।

कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि ! चन्द्रावतीले आफ्ना पति नवराज पिताका खोजीमा गएपछि आफूसित विदा मागी माइत गएदेखि आजसम्म भेट नभएकी बुहारीको मुख देख्न पाएकी र चन्द्रावतीका जीवनमा घटेका कुराहरू सुनी राजमाता गोमाले श्री स्वस्थानी परमेश्वरीलाई मनले सम्झिई रानी चन्द्रावती सित भनिन् – ‘हे पुत्रबधू ! त्यस्ता त्यस्ता खपिनसक्नु कठोर दुःखमा परिकन पनि ईश्वरीको भक्ति, पूजा, आराधना गर्न पाउने अप्सराहरूबाट सौभाग्य प्राप्त भएछ र आज सम्पूर्ण पाप र तापबाट मुक्त भई हाम्रो पुनर्मिलन हुन गयो ।’
यति भनी गोमाले आफूमाथि आईपरेका दुःख, कष्ट, आफ्ना कुटियामा सप्तर्षिको आगमन भएको र श्री स्वस्थानी परमेश्वरीको व्रतोपदेश र पूजाविधिको जानकारी प्राप्त गरेको तथा सातवटा सुनका कौडी प्राप्त भएको, श्री स्वस्थानी परमेश्वरीको एक महिनासम्म नियमनिष्ठाका साथ पूजा, कथा श्रवण गरेको, समाप्तिका दिन जाग्राम बसिरहेका बखतमा श्री स्वस्थानी परमेश्वरीलाई साङ्गेको अर्घ्य अर्पण गर्दै गर्दा पुत्र नवराज आइपुगेको, पिताको अघिनै स्वर्गारोहण भइसकेको र पुत्रले अन्त्येष्टि कर्म गरी कुनै राजाको सेवासमेत गरी घर आएको, भगवान् हरिहर प्रसन्न हुनुभई नवराजलाई राजा हुने वरदान दिनुभएको र आफू पनि राजमाताका रूपमा यो लावण्य देशमा आइबसेको कुरा पनि चन्द्रावतीलाई एक एक गरी सुनाईन् र भनिन् – ‘आज हामी उनै ईश्वरीका कृपाले यत्रो राज्य र ऐश्वर्य पाई सुखी भयौं ।

अब पनि हाम्रो जिउ रहुञ्जेलसम्म हामीले उनको सेवा गर्नुपर्छ । श्री स्वस्थानी परमेश्वरीले हरेक दिनदुःखीका साथै हामी सबैका हृदयमा बास गरून् । श्री स्वस्थानी परमेश्वरीका कृपाले गरिकन यो लोकमा सम्पूर्ण सुःख प्राप्त गरी अन्त्यमा मोक्ष मिल्ला । हे पुत्रबधूद्वय ! हे चन्द्रावती ! हे लावण्यवती ! दिनमा सूर्य र रातमा चन्द्रमा नभए सारा अँध्यारो भए जस्तै असल स्वभाव नभएकी स्त्रीका पतिको भाग्य पनि सधैं अन्धकारमय हुन्छ । असल गुणले युक्त भएकी पत्नी छैन भने त्यस्ता पुरुषको घर हुन गाह्रो छ । मेरो अवस्था बृद्ध हुँदै गयो । तिमीहरू दुबैजना मिली आफ्ना पति अर्थात मेरा पुत्रको सेवा गरिरहू’ आफ्नी सासुका अर्ति सुनेर दुबै राजमहिषी चन्द्रावती र लावण्ववतीले – ‘हे माता ! हजुरका तपस्याले हाम्रा स्वामी राजा हुनुभयो, हामी धन्य भयौं’ भनी गोमाका पाउमा ढोगी आशीर्वाद प्राप्त गरे र आफ्ना जीवनभरि श्री स्वस्थानी परमेश्वरीका भक्तिमा आफूलाई समर्पित गरी आनन्दले रहँदा भए ।

हे अगस्त्य मुनि ! मर्त्यलोकमा छिटै सिद्धि प्राप्त गर्न सकिने साधन सुकर्म नै हो, सुकर्म भनेको राम्रा कर्म, पुण्य कर्म आदि हुन् । तीमध्ये मैले तिमीलाई वर्णन गरेर सुनाइएका ‘अगम्य, अपूर्व, महान् महिमा लिएकी श्री स्वस्थानी परमेश्वरीका कथा र व्रतका विधि हुन्, जुन नरनारीहरू एकचित्त भएर श्री स्वस्थानी परमेश्वरीको व्रत गर्लान्, कथा सुन्लान् अथवा सुनाउलान् र उनका महिमाले युक्त श्री स्वस्थानी परमेश्वरीको पुस्तक घरमा राख्लान्, तिनलाई दरिद्रताले कहिल्यै छुनेछैन । आदित्यादि नवग्रह सधैं प्रसन्न र शान्त रहनेछन्, अकाल मृत्यु टर्नेछ । भुत, प्रेत, पिशाच, डाकिनी, शाकिनी, वात, कफ र पित्तसम्बन्धी त्रिदोष आदि रोगको भय हट्ने छ । ब्रह्महत्यादि पाप नाश हुन गएर यो लोकमा सुखसम्पत्तिको भोग गरी परलोकमा कैलाशवास होला । जसको चित्त, काम, क्रोध लोभ, मोह, मद र मात्सर्यजस्ता शरीरभित्रै रहेका आन्तरिक शत्रुको विकारले रहित छ, त्यसले मात्र पूर्ण फल प्राप्त गर्ने छ ।’ हे अगस्त्य मुनि ! लोकले सुमार्गपट्टि लागेमा तिनको कल्याण होला । सुमार्ग भनेको आफ्ना पूर्वजहरूले बनाएका राम्रा राम्रा नियमहरू हन् ।

ती पूर्व पुरुषले खनिदिएका असल बाटालाई छोडेर आफ्ना मनमानीले अगल बगल लाग्नाले कहिल्यै हित हुँदैन । व्यासजीले रचना गर्नुभएका अठार पुराणमध्ये स्कन्दपुराणको केदार खण्डमा रहेको माघ माहात्म्यको वैशिष्ट्य र महत्ताका साथमा श्री स्वस्थानी परमेश्वरीको भक्ति र उनका कृपा प्रसादको वर्णन मैले तिमीलाई सुनाएँ । सम्पूर्ण पुराणहरूमा धर्म, अर्थ, काम र मोक्ष गरी यी चार पुरुषार्थको साधना र उपदेशमात्र वर्णन गरिएको छ । यिनै पुराणहरू हाम्रा अमूल्य रत्न हुन् । यिनका उपदेश पाएर सम्पूर्ण लोकको कल्याण होस्’ भनी गङ्गा, पार्वती, षट्कृतिकाका पुत्र कुमारजी सेनापति स्कन्दले लोपामुद्राका पति अगस्त्य मुनिलाई सुनाउनु भयो । सोही कथा, नैमिषारण्य क्षेत्रमा शौनकादि अठासी हजार ऋषिहरूलाई पौराणिक यो कथा सूतजीले सुनाउनु भयो र त्यही पुण्य कथालाई यहाँ रहेका व्रती भक्तजन श्रोतहरूमा पनि आफूद्वारा सुनाईयो ।

इति श्री स्कन्द पुराणे केदारखण्डे माघमहात्म्ये श्री स्वस्थानी परमेश्वर्याः व्रतकथायां चन्द्रावती-नवराज-मिलापवर्णनं श्रीस्वस्थानीव्रतमहात्म्य वर्णनं च त्रिंशैकत्रिंशत्संयुक्तोऽध्यायः ।।
ॐ उपनयतु मङ्गलं वः सकलजगन्मङ्गलालयश्रीमान्
दिनकर–किरण निबोधित–नव–नलिनदलनिभेक्षणः कृष्णः ।।
काले वर्षन्तु पर्जन्यः पृथिवीशस्यशालिनी ।
देशोऽयं क्षोभरहितो ब्राह्मणाः सन्तु निर्भयाः ।।
अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः ।
निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् ।।
तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च ।
तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राच्युतोदारकथाप्रसङ्गः ।।
या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता
या विणावरदण्डमण्डितकरा या श्वेतपद्मासना ।

या ब्रह्माऽच्युतशङ्करप्रभृतिभिर्देवैः सदा वन्दिता
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।।
कायेन वाचा मनसेन्द्रियैर्वा बुध्यात्मनावाऽऽनुसृतस्वभावात् ।
करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पये तत् ।।
अनन्य चेतसा भक्त्या श्रुतं यच्च कथामृतम् ।
समर्पयामि तत्सर्वं स्वस्थानीं परमेश्वरीम् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोर्ध्वञ्च वामे च वरमुत्पलम् ।।
चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।

तपाईको प्रतिक्रिया