बालबालिकालाई कुलतबाट बचाउन अभिभावक सचेतना कार्यक्रम

इनरुवा । शान्तिदीप नेपालले सुनसरी सदरमुकाम इनरुवामा अभिभावक सचेतना अभियान संचालनमा ल्याएको छ । अभिभावकमा सचेतना आए मात्रै कुलत तर्फ उन्मूख स्कुल पढ्ने बालबालिकाको अवस्था सुधार आउने भएकाले शुक्रबार बाट अभिभावक सचेत गराउन । घरदैलो अभियानमा जुटेको शान्तिदीप नेपालका अध्यक्ष सुवास राईले बताएका छन् । शान्तिदीप नेपालको पहल र जिल्ला प्रहरी कार्यालय सुनसरीको सहकार्यमा इनरुवा स्थित रहेको कुरेसी टोलका बालबालिकाको यर्थाथ अवस्थालाई उनीहरूको अभिभावक सामु चित्रण गर्दै सचेतना अभियानको सुरुवात गरिएको अध्यक्ष राईको भनाइ छ ।

समुदाय प्रहरी साझेदारी अभियानसँगको सहकार्यमा थालिएको अभिभावक सचेतना कार्यक्रमको उद्घाटन कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुन पोखरेल, समुदाय प्रहरी साझेदारी कार्यक्रमका सहजकर्ता शिवकुमार शर्मा, संस्थाका अध्यक्ष शुवास राई सहित वडा नम्वर तीनका निर्वाचित जनप्रतिनिधीहरुको उपस्थिती रहेको थियो । पर्चा पमप्लेट वितरणसँगै अभिभावक सचेतनामूखी कार्यक्रमलाई निरन्तरता दिइने शान्तिदीप नेपाल इनरुवा सुनसरीका अध्यक्ष सुवास राईले बताए । इनरुवा स्थित रहेको कुरेसी टोलका कुलततर्फ उन्मूख बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन अभिभावक सचेतना कार्यक्रम प्रभावकारी हुने राईको कथन छ ।

नयाँ सोचकासाथ थालिएको अभियानले निरन्तरता पाए समृद्ध समाजको परिकल्पना साकार हुने ऊनी बताउँछन् । सानै उमेरदेखि बालबालिका कुलतमा लागे त्यसले भविष्यमा समाजमा अपराध जन्माउन सक्ने तर्फ अभिभावक बेलैमा सचेत गराउनको लागि शान्तिदीपले चेतनामुलक अभियानको थालनी गरेको अध्यक्ष राई बताउँछन् । इनरुवा नगरपालिका वडा नम्वर ३ स्थित महेन्द्रचौकमा रहेको सिकदार टोल जसलाई आम बुझाई र बोलीचालीको भाषाका बख्खो टोल भनेर चिन्ने गरिन्छ । ६० देखि ७० घरधुरीमा बसोबास गर्दै आएका बख्खो टोलमा झैझगडा सामान्यझैं मानिन्छ । बालबालिकाहरुको पढाईमा भन्दा पनि घुमन्ते रुपमानै दैनिकी बिताउने गरेका छन् । विपन्न वर्ग भएकाले समेत अभिभावकहरुको दैनिकी गुद्री सहितका बजारमा खसी तथा कुखुरा काटेर मासु बेच्नमा नै बित्छ ।

सानै उमेरबाट बालबालिका नसालु पदार्थ सेवनमा तल्लिन हुने गरेकाले समेत बेलाबखत उनिहरु चोरीसँगै झैझगडा र कुटपिटजस्ता घटनामा संलग्नताको आधारमा पक्राउ पर्ने गरेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीले समेत सो टोलका बालबालिका सहित युवा दुर्व्यसनीमा लागेको पाइएको र अपराधका घटनामा संलग्न हुँदै आएको उदाहरणहरु प्रशस्त रहेको बताउँछ ।

Purbeli TV

तपाईको प्रतिक्रिया