महिला कामदारका आफ्नै समस्या

काठमाडौँ/ उदयपुरकी ३० वर्षीया लीला विश्वकर्माले श्रीमान्को मृत्युपछि ज्याला गरेर नै दुई छोराको पालनपोषण गर्दै आउनुभएको छ ।अरुको घरमा काम गरेर जीविका चालाउँदै आउनुभएकी विश्वकर्मालाई जेठोलाई मिर्गौलाको समस्या र कान्छो छोराको एउटा खुट्टा भाँचिएपछि आफूले कमाउँदै आएको मासिक रु १२ हजारले खर्च टार्न मुस्किल हुने गरेको छ ।“मासिक आठ हजार छोरालाई एक महीनामा औषधि खुवाउँदैमा खर्च हुन्छ, बाँकी पैसाले परिवार कसरी धान्ने ?”, उहाँ दुखेसो गर्नुहुन्छ । छोराको मिर्गाैलाको उपचारका लागि उहाँ वडा कार्यालयसम्म पनि पुग्नुभयो । तर श्रीमान् नभएकाले उहाँलाई त्यहाँबाट सहयोग दिन आलटाल गरियो ।

एकातिर काम नगरी पैसा नआउने अर्काेतिर जसरी पनि छोराको उपचार गर्नैपर्ने । उहाँ भन्नुहुन्छ, “कतैबाट सहयोग नपाएपछि बिरामी छोरालाई नै लिएर काममा जान थालें”, उहाँ थप्नुहुन्छ, “पापी पेटले सन्तान बिरामी छ भनेर कसरी बुझ्नु ?” एक दिन काम गर्दागर्दै साहुले उहाँको छोराको पेट फुलिरहेको देखेर के भएको भनी प्रश्न गर्दा उहाँले मिर्गाैलाको समस्या भएको बताएपछि काठमाडौँको सरकारी अस्पतालमा निःशुल्क उपचार हुने बताउनुभयो । उहाँ वीर अस्पतालसम्म आइपुग्नुभयो तर त्यहाँबाट पनि सहयोग पाउनुभएन ।काठमाडौँमा सहयोगका लागि धाउँदाधाउँदै निराश भइसकेपछि गाउँकै एक जना भाइसँग फोनमा कुराकानी भयो । त्यसपछि पुनःती भाइमार्फत वीर अस्पताल पुग्नुभयो र डाक्टरले शिक्षण अस्पतालमा उपचारका लागि पठाइदिए । बिस्तारै विदेशमा हुने नेपालीबाट रु तीन लाख सङ्कलनपछि केही समय त उपचार भयो । तर अहिले अवस्था उस्तै छ । “उक्त रकम उपचारमा खर्च गर्दागर्दै सक्किसक्यो, बाँकी उपचार कसरी गर्नु ?”, उहाँले प्रश्न गर्नुभयो ।

सरकारले मिर्गाैला रोगीका लागि सम्पूर्ण उपचार खर्च व्यहोरिदिने भने पनि हालसम्म विश्वकर्माले छोराको उपचारका लागि एक रुपैयाँ पनि सरकारबाट सहयोग पाउनुभएको छैन ।हाल उनका जेठा छोरा शुकदेव १० वर्षका भए भने कान्छा छोरा सुफल छ वर्षका छन् । ज्यालामजदूरी गरेरै परिवार धान्दै आउनुभएकी उहाँले उपचार खर्चमा आफ्नो ८० प्रतिशत आम्दानी उपचारमै खर्च हुन्छ । आर्थिक स्थिति कमजोर भएकै कारण छोरालाई विद्यालय भर्ना गर्न सक्नुभएको छैन । छोराको उपचारको खर्च अझै पनि सरकारले गरिदिए आफूलाई केही सहज हुने आशा उहाँले राख्नुभएको छ ।

त्यस्तै दाङकी २८ वर्षीया रामकुमारी परियार गिटी कुटेर नै परिवार धान्दै आइरहनुभएको छ । दुई छोरीको जन्मपछि श्रीमान्ले सौता ल्याए । सुकुम्बासी जीवन बिताइरहनुभएको उहाँले दैनिक रु ४०० आम्दानी गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “दिनदिनै काम पाउने भए त परिवार चलाउन सजिलै हुन्थ्यो, तर निश्चित समय मात्र काम हुने हुँदा कोठा भाडासमेत तिर्न समस्या हुने गरेको छ ।”त्यही काम पुरुषले गर्दा बढी रकम पाउने तर महिलाले कम पाउने असमान स्थितिले आफूलाई निकै समस्या हुने गरेको उहाँ बताउनुहुन्छ । सरकारले कामदारको ज्यालादर रु १३ हजार ४५० तोके पनि ग्रामीण क्षेत्रका महिला कामदारले भने सरकारले तोकेसरह न्यूनतम पारिश्रमिक पाउन सकेका छैनन् । जसले उनीहरुलाई परिवार धान्नसमेत समस्या हुने गरेको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया