स्वस्थानी व्रतकथा, भाग – २ : पद्मकल्प र सतीदेवीको उत्पत्तिको कथा || मातालाई देख्ने बित्तिकै १ शेयर गरौ !

कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि, पहिले यो संसारमा प्रलय भएर शून्यबाहेक केही नभएको अवस्थामा महामायाका प्रभावले सबै ठाउँमा जलैजल थियो । फेरि महामायाका प्रभावले उक्त जल अनन्त क्षीर सागर भयो । त्यसैबेला महामायाका प्रभावले परब्रह्म परमेश्वर क्षीर सागरमाथि शेषनागमाथि शयन गर्नुभएको थियो । उक्त परब्रह्म स्वरूप विष्णु भगवानको नाभिमा कमलको उत्पत्ति भयो र धेरै माथिसम्म डाँठ फुलेर हजारौ. पातहरू फक्रिएर फुल्दा त्यस पद्मकल्प कमलमाथि ब्रह्मा उत्पन्न हुनुभयो । अनि ब्रह्मालाई सृष्टि गरौं भन्ने प्रेरणा प्राप्त भयो । त्यसैबखत विष्णुको कानबाट कानेगुजी निस्कियो र त्यस कानेगुजीबाट मधु र कैटभ नामका दैत्यहरू बने । ती दैत्यहरू यताउती हिँडडुल गर्दा जताततै पानी नै पानी देखे । अनि सोही कमलको डाँठबाट माथि उक्ले । कमलका पत्रहरू झार्दै ब्रह्माजीलाई खसाउने प्रयत्न गरिरहे ।

त्यो देखी डराएर ब्रह्माजीले महामायाको स्तुति गर्नुभयो । महामायाले विष्णु भगवानलाई जागा गरार्इ दिनुभयो । विष्णु भगवान् जागा भइसकेपछि दैत्यहरूले ब्रह्मालाई सताइरहेको देखेर त्यसो नगर्न आग्रह गर्नुभयो । तर दैत्यहरू विष्णु भगवानमाथि जाइ लागे । त्यसपछि विष्णु भगवान् र दैत्यहरूका बीचमा पाँच हजार वर्षसम्म घोर घमासान युद्ध भयो, तर कसैको पनि हारजित भएन । अनि विष्णु भगवानले हार मानी ‘हामी यसरी कत्ति लड्ने, बरु तिम्रो इच्छा के छ ? वरदान माग’ भन्नुभयो । तर मधु र कैटभ दैत्यहरूले अहङ्कारले ‘तिमीले हामीसँग पो वरदान माग्नुपर्छ, के वरदान चाहियो ?’ भने । विष्णु भगवानले पनि ‘मागेको वर दिनुपर्छ’ भन्ने वाचा गराए, अनि ‘हे दैत्य हो ! मेरो हातबाट तिमीलाई मार्न पाऊँ’ भने । अनि दैत्यहरूले भने ‘हे छलकपटी विष्णु ! तैंले छल गरी वरदान मागिस्, तर हामी वचनमा हार्दैनौं, तिम्रो इच्छा पूर्ण होस् तर हामीलाई जल नभएको ठाउँमा मार ।’ भने । सम्पूर्ण ठाउँ जलामय मात्र भएकाले विष्णुले आफ्नै काखमा राखी मधु र कैटभलाई मारे । अनि ब्रह्माजीलार्इ पनि मधु र कैटभका शरीरका अङ्गहरूबाट स्थलहरू बनाउने उपाय प्राप्त भयो ।

पृथ्वीजस्ता आकारका लोकहरू बनाएर पर्वत, ढुङ्गा तथा अनेकाैं वस्तुहरू बनाउनु भयो । एकमाथि अर्को लोकहरू गर्दै भूर्लोक, भूवर्लोक, स्वर्लोक , महलोक, जनलोक , तपोलोक र सत्यलोक गरी माथिका लोकमुन्तिर अर्को, अर्कोको मुनि अर्को गदै अतल, वितल , सुतल, तलातल, महातल, रसातल र पाताल गरी सातलोक गरी चौध भूवनको सृष्टि गर्नुभयो । अनि भूलोकका वरिपरि ज्योतिर्मय रथमा चढेका स्वायम्भूव मनु उत्पत्ति भए र सोही रथको पाङ्ग्रा गुड्दै जाँदा पृथ्वीमा सात समुद्र र सात द्वीप जम्बूद्वीप, प्लक्षद्वीप, शाल्मलीद्वीप, कुशद्वीप , क्रौञ्चद्वीप , शाकद्वीप र पुष्करद्वीप, त्यस्तै समुद्रहरू क्षारोद , इक्षुरसोद, सुरोद, घृतोद, क्षीरोद, दधिमण्डोद र शुद्धोद बने ।

त्यसपछि प्रियव्रत नामका मनुको उत्पत्ति भयो । उनकी पत्नीको नाम वर्हिष्मती थियो । उनीहरूबाट सातभाइ छोराहरू उत्पत्ति भए । उनीहरूका छोराहरू क्रमशः आग्नीध्रले जम्बूद्वीपको राज्य चलाए । यो द्विप क्षारोद समुद्रले घेरिएको छ । इध्मजिह्वले प्लक्षद्वीपको राज्य चलाए । यो द्वीप इक्षुरसोद समुद्र अर्थात् उखुको रसको समुद्रले घेरिएको छ । यज्ञबाहुले शाल्मलीद्वीपको राज्य चलाए । यो द्वीप मदिराको समुद्रले घेरिएको छ । हिरण्यरेताले कुशद्वीपको राज्य चलाए । यो द्वीप घिउको समुद्रले घेरिएको छ । घृतपृष्ठले क्रौञ्चद्वीपको राज्य चलाए । यो द्वीप दूधको समुद्रले घेरिएको छ । मेधातिथिले शाकद्वीपको राज्य चलाए । यो द्वीप दधिमण्डोद अर्थात् मोहीको समुद्रले घेरिएको छ । वीतीहोत्रले पुष्करद्वीपको राज्य चलाए । यो द्वीप शुद्धोद अर्थात् पवित्र जलले घेरिएको छ ।

जम्बूद्वीपको क्षेत्रफल एकलाख योजनको छ । यसमा नौ खण्डहरू भद्र, अश्व, हरि, केतुमाल, रम्यक, हिरण्मय, कुरु, किम्पुरुष र भारत छन् । भारतखण्डमा गङ्गा, काशी, वागमती, नारायणी आदि गरेका पवित्र नदी र तीर्थहरू छन् । यसरी सबै द्वीपहरूमा खण्डहरूको विभाजन गरिएको छ । अष्ट पर्वतहरू सुमेरु, गन्धमादन, कैलाश, हिमालय, त्रिकूट, चित्रकूट, चन्द्रकुट र चन्द्रान्तक सृष्टि भए ।

अनि ब्रह्माजीले प्राणिको सृष्टि गर्न महादेवको तपस्या गरे । महादेवले पनि तथास्तु भनी वरदान दिए । तहाँउप्रान्त ब्रह्माजी सुमेरु पर्वतमा गए । त्यहाँ पुगी शिवलोक, विष्णुलोक, उमालोक, स्कन्दलोक आदिलोकहरू सृष्टि गरे । सुमेरु पर्वतको पूर्वमा – ऐरावती, पश्चिममा – श्रद्धावती, उत्तरमा – अलकापुरी, दक्षिणमा – यमपुरी, त्यस्तै ईशानमा – यशोमती, नैऋत्यमा – कृष्णावती, वायव्यमा – गन्धावती र आग्नेय दिशामा शुद्धावतीको सृष्टि गरे । त्यसपछि स्थावर जङ्गमको सृष्टि गरी प्राणीहरूको सृष्टि गर्न थाले ।

कुमारको मुखारविन्दबाट यी दिव्य कथाहरू सुनेर अगस्त्य मुनिले देवता, दैत्य तथा मनुष्यको कसरी सृष्टि भयो भनी मनसुवा गरी सुध्याए । अनि पार्वतीनन्दन कुमारजीले भने ‘माथि कहिएका सय ऋषिहरू मध्ये ज्येष्ठ कश्यपका तेह्रवटी स्त्री थिए । तिनीहरू दिति, अदिति, दनु, राका, सिंहिका, क्रोधा, प्राधा, वलिष्ठा, विनता, कपिला, कद्रु र मनु नाउँका थिए । दितिका गर्भबाट हिरण्याक्ष , हिरण्यकशिपु जस्ता राक्षसहरू जन्मिए । अदितिबाट इन्द्र, चन्द्र, सूर्य आदि तेत्तीसकोटि देवता । दनुका गर्भबाट वृषपर्वा आदि दानवहरू । राका र घोराबाट गन्धर्वहरू । सिंहिकाबाट राहु, क्रोधाबाट क्रोध र प्राधाबाट रम्भा आदि अप्सराहरूको जन्म भयो । चराचुरुङ्गीहरू बलिष्ठाका गर्भबाट तथा विनताका गर्भबाट अरुण, गरुड आदि जन्मिए । कपिलाका गर्भबाट गाई , सिँह , हात्ती , मृग आदि भए । यस्ता प्रकारले देवता, दानव, ऋषि, यक्ष, गन्धर्व, किन्नर, राक्षस, अप्सरा, नाग, मनुष्य, पशुपन्छी, कीटपतङ्ग, आकाशमा उड्ने, भुइँमा घस्रिने, पानीमा पौडने गरी जलचर, स्थलचर, नभचर प्राणिको सृष्टि विकासक्रमसँगै विकास हुँदै उत्पत्ति हुँदै गए । अनि ब्रह्माजीले यिनीहरूलाई आहाराका लागि सप्त धान्यादि अनेकौं प्रकारका आहाराहरू विकासक्रम सँगै उत्पत्ति गर्दै रहे ।

हे अगस्त्य मुनि ! प्रजापति जम्मा आठ थिए । तिनैलाई अष्ट प्रजापति भनिन्छ । तीमध्ये जेठा प्रजापतिको नाउँ दक्ष थियो, उनलाई दक्षप्रजापति भनियो । तिनकी पत्नीको नाउँ विरणी थियो । तिनी गर्भवती भर्इन् । अनि बत्तीस लक्षणले युक्त भएकी कन्या जन्मार्इन् । उनै सतीदेवी भर्इन् । यसबारे विस्तृत चर्चा फेरि अर्को अध्यायमा बताउनेछु ।

इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये श्री स्वस्थानी परमेश्वर्याः व्रतकथायां ब्रह्माण्डवर्णनं नाम द्वितीयोऽध्यायः ।।

ॐ उपनयतु मङ्गलं वः सकलजगन्मङ्गलालयश्रीमान्
दिनकर–किरण निबोधित–नव–नलिनदलनिभेक्षणः कृष्णः ।।
काले वर्षन्तु पर्जन्यः पृथिवीशस्यशालिनी ।
देशोऽयं क्षोभरहितो ब्राह्मणाः सन्तु निर्भयाः ।।
अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः ।
निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् ।।
तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च ।
तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राच्युतोदारकथाप्रसङ्गः ।।
या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता
या विणावरदण्डमण्डितकरा या श्वेतपद्मासना ।
या ब्रह्माऽच्युतशङ्करप्रभृतिभिर्देवैः सदा वन्दिता
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।।
कायेन वाचा मनसेन्द्रियैर्वा बुध्यात्मनावाऽऽनुसृतस्वभावात् ।
करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पये तत् ।।
अनन्य चेतसा भक्त्या श्रुतं यच्च कथामृतम् ।
समर्पयामि तत्सर्वं स्वस्थानीं परमेश्वरीम् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोर्ध्वञ्च वामे च वरमुत्पलम् ।।
चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।

याे पनि पढ्नुहाेस्

श्री स्वस्थानी व्रतकथा, भाग – १ (सृष्टिक्रम तथा ब्रह्माण्ड वर्णन)

Purbeli TV

ज्योर्तिबिद तथा बास्तुविद कोइराला पिण्डेश्वर बिद्यापिठ धरानमा सहप्राध्यापक हुनुहुन्छ । उहाँ पूर्वेली न्जुजका स्तम्भकार समेत हुनुहुन्छ ।

कृष्ण प्रसाद काेइरालाबाट थप

आजको राशिफल / वि.सं. २०७६ वैशाख ३१ गते मङ्गलबार

आजको राशिफल / वि.सं. २०७६ वैशाख २८ गते शनिबार

आजको राशिफल / वि.सं. २०७६ वैशाख २६ गते बिहीबार

आजको राशिफल  / वि.सं. २०७६ वैशाख २५ गते बुधबार

आजको राशिफल / वि.सं. २०७६ वैशाख २३ गते सोमबार

आजको राशिफल  / वि.सं. २०७६ वैशाख २२ गते आइतबार

आजको राशिफल / वि.सं. २०७६ वैशाख २१ गते शनिबार

आजको राशिफल / वि.सं. २०७६ वैशाख १८ गते बुधबार

आजको राशिफल / वि.सं. २०७६ वैशाख १७ गते मङ्गलबार

आजको राशिफल / वि.सं. २०७६ वैशाख १६ गते सोमबार

तपाईको प्रतिक्रिया

Loading…