हुलाकी राजमार्गको निर्माणमा ढिलाइ भएकोमा गुनासो

काठमाडौँ / तराईको जीवन रेखा मानिएको हुलाकी राजमार्गको काम प्रभावकारी हुन नसकेको भन्दै सांसदहरुले गुनासो गरेका छन् ।
राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद चक्रप्रसाद स्नेहीले हुलाकी राजमार्गको काम प्रभावकारी नभएको, वर्षौंसम्म पनि कछुवाको गतिमा मात्रै काम अगाडि बढेको भए पनि सरकारले त्यसलाई ध्यान नदिएको भन्दै गुनासो गर्नुभयो ।

मध्य तराईमा सो राजमार्गको काम अगाडि बढे पनि पश्चिम तराईमा भने समस्या देखिएको छ । निर्माण व्यवसायीले प्रभावकारी काम नगर्दा आयोजना समस्यामा परेको उहाँको भनाइ थियो । महाकाली करिडोर सडक निर्माणमा वन मन्त्रालयले स्वीकृति नदिँदा काम गर्न समस्या भएको भन्दै उहाँले तत्काल समस्या समाधान गर्न र सडक निर्माण हुने वातावरण बनाउन आग्रह गर्नुभयो ।

सांसद ठगेन्द्रप्रकाश पुरीले संविधानमा उल्लेख गरिएका मौलिक हकसँग सम्बन्धित कानून निर्माण भए पनि अन्य कानून तथा नियमका बारेमा प्रक्रिया अगाडि नबढेको भन्दै तत्काल प्रक्रिया अगाडि बढाउन आग्रह गर्नुभयो । सङ्घ, प्रदेश र स्थानीय तहमा बनाउनुपर्ने थप कानून निर्माणको समय नजिकिँदै गएको भए पनि सरोकार भएका व्यक्तिसँग छलफल नै हुन नसकेकामा उहाँले गुनासो गर्नुभयो ।

सांसद तारादेवी भट्टले दिगो विकासको लक्ष्य हासिल हुने गरी काम गर्न सरकार र सम्बद्ध निकायको ध्यानाकर्षण गराउनुभयो । देशव्यापीरुपमा बढी रहेको आपराधिक क्रियाकलाप नियन्त्रणमा जुनरुपमा ध्यान दिनुपर्ने हो, त्यसो नभएको भन्दै उहाँले कञ्चनपुरको १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछिको हत्याको सत्यतथ्य सार्वजनिक नभएको र दोषी पक्राउ नपरेकामा गुनासो गर्नुभयो ।

 

किसानलाई निःशुल्क सेवा देऊ

सांसद दीपा गुरुङले किसानलाई सस्तो र सुलभ मूल्यमा बीउबिजनको व्यवस्था गर्न, उत्पादनशील वस्तुलाई सहजरुपमा बजार व्यवस्थापन गर्न, आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि कृषिमा लगानी र प्राविधिक शिक्षाको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले कृषि विज्ञबाट किसानलाई निःशुल्करुपमा सेवा दिने व्यवस्था गर्न, विचौलियाको अन्त्य गर्न र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई व्यवस्थित र प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।

सांसद वृजेशचन्द्र लालले सरकारले सङ्घीयताको मूल्य र मान्यताविपरीत गृह प्रशासनसम्बन्धी ऐन ल्याउन लागिएको, आन्तरिक शान्ति र सुरक्षासम्बन्धी विधेयकले सङ्घीयताको मर्मविपरीत काम गर्न खोजेको आरोप लगाउनुभयो । सांसद उदया शर्मा पौडेलले कर्मचारी समायोजनमा सरकारले विशेष ध्यान दिन नसकेको, स्थायी सरकारलाई दुविधामा राखिएकाले सरकारले अगाडि सारेको सुखी नेपाली, समृद्ध नेपालको सङ्कल्प पूरा हुन नसक्ने बताउनुभयो ।

सांसद पर्शुराम मेघी गुरुङले कर्मचारी समायोजन प्रक्रियालाई व्यावहारिक र वैज्ञानिकरुपमा सम्पन्न गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद बिन्दादेवी रानाले नेपाल वायुसेवा निगमको दुई वटा वाइडबडी विमान खरीद प्रकरणमा भएको भ्रष्टाचार प्रकरणमा जोडिएका व्यक्तिलाई कारवाही गर्न र सार्वजनिक लेखा समितिको उपसमितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्न माग गर्नुभयो । उहाँले सरकारले अनियमिततालाई ढाकछोप गर्न अर्को उच्चस्तरीय छानबिन समिति बनाइएको आरोप लगाउनुभयो ।
सांसद रमेश यादवले वायु सेवा निगमको जहाज खरीदका सम्बन्धमा देखिएको भनिएको अनियमिततामा दोषी देखिएकालाई कारवाही गर्न माग गर्नुभयो ।

तपाईको प्रतिक्रिया

Loading…