मालपोत कार्यालयमा अनलाइन सेवा

दमौली / जिल्ला मालपोत कार्यालय तनहुँले आजदेखि अनलाइन सेवा शुभारम्भ गरेको छ । कार्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित अनलाइन सेवा शुभारम्भ गरिएको हो । अनलाइन सेवा शुरु हुने मालपोत कार्यालय तनहुँ ४१औँ कार्यालय हो ।

अनलाइन सेवाको शुभारम्भ गर्दै जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले अनलाइन सेवाले पारदर्शिता कायम गर्न सहयोग पुग्ने बताउनुभयो । उहाँले यस सेवाले फर्जी कामको अन्त्य हुने विश्वास व्यक्त गर्दै भन्नुभयो, “मालपोतमा भ्रष्टाचार बढी भयो भन्ने गुनासो सुनिदै आएको छ, अब यो सेवाले कार्यालयमा सुशासन कायम गर्न सहयोग पुग्ने विश्वास छ ।”

प्रजिअ भरतकुमार शर्माले जग्गा प्रशासनमा देखिने त्रुटि अन्त्यका लागि यो सेवाले सहयोग पुग्ने बताउनुभयो । “नक्कली पूर्जा बनाएर पास गर्ने प्रवृत्ति अन्त्यका लागि यो सेवाले सहयोग पु¥याउनेछ”, उहाँले भन्नुभयो । शर्माले कार्यालयमा ढिलासुस्ती नगरी सहज ढङ्गबाट सेवा प्रवाह गर्न कर्मचारीलाई सुझाव दिनुभयो ।

व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले अनलाइन सेवालाई विश्वसनीय र भरपर्दो बनाउनुपर्नेमा जोड दिँदै केही विवाद आएमा पुरानै प्रणालीलाई समेत अवलम्बन गर्न सकिने बताउनुभयो । भूमि व्यवस्था तथा अभिलेख विभागका निर्देशक भरत गौतमले जग्गा प्रशासन झन्झटिलो सेवा भएकाले यसलाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित यो सेवा शुरुआत गरिएको बताउनुभयो ।

अनलाइन सेवाले राजश्व असुलीलाई समेत व्यवस्थित गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो । अनलाइन सेवाका लागि सेवाग्राहीको औँठाछाप, फोटोलगायत विवरण लिइने भएकाले फर्जी कामको अन्त्य गर्न सकिन्छ । मालपोत कार्यालय तनहुँका प्रमुख जितेन्द्रजङ्ग केसीले अनलाइन सेवा सञ्चालनका लागि दुई वटा इन्टरनेट प्रदायकसँग सम्झौता भइसकेको जानकारी दिनुभयो ।

Purbeli TV

तपाईको प्रतिक्रिया