दसैँ यात्रा २०७५ : कष्टपूर्ण तर अविस्मरणीय यात्रा (यात्रानुभूति)

भोली गाउँको यात्रा गर्नुछ । निधारमा टीका, कानमा जमरा मात्रै नभई मनमा उत्साह सँगै एक प्रकारको आनन्द भईरहेको थियो कात्तिक २ गते शुक्रबार ।

पहिलो दिन :

विहानै उठेर गाउँको यात्रा गर्नका लागि ममि, दाजु र म तयारी गरिरहेका थियौँ । बेल्टार, बङ्सिला घाट, चिसापानी हुँदै खोटाङ पुरानागाउँ सम्म पुग्नु छ । तरहराबाट ६ बजे गाडी चढ्यौँ बेल्टारको । गाडी इनरुवा नपुग्दै पम्चर भयो । दसैँको समय भएकाले मानिस धेरै भएका कारण गाडी पम्चर भएको सबैको निष्कर्ष निस्क्यो । आधा घण्टापछि गाडी बनेर हामी हिड्यौँ बेल्टारको बाटो । करीब नौ बजे बेल्टार पुग्यौँ । बेल्टारमा सानीमा र भाईहरुसँग भेट भएर जानु पर्ने थियो । बेल्टारमा हामी सबैजना भेला भयौँ र नौ जनाको टोली गाउँको यात्रातर्फ लाग्यौँ । बेल्टारबाट दुधकोसी सम्म जाने गाडी नपाएका कारण सोही ठाउँमा ११ बजेर कटेको थियो । अन्तत : गाडी नपाउने भएपछि हामी निराश बनेका थियौँ कि सोही दिन मावल नपुगिने डरले । केही समयपछि एकजना मानिसले २० जनालाई गाडीमा लैजाने भए । कुखुरा बोक्ने गाडीमा यात्रा गर्न बाध्य थियौँ हामी ।

गाउँको बाटो भएकाले बाटोमा कतिपय ठाउँमा गाडी चलाउँदा हाम्रो मन भने जिरिङ्ग जिरिङ्ग भईरहेको थियो । तल भिर, माथि पहिरो खसेको बीचमा गाडी चलेको छ सम्झिदैँ मन डराउँछ त्यस्तो बाटोमा यात्रा गर्न बाध्य थियौँ हामी । गाडी चढेको एक घण्टापछि हामी दुधकोसी (बङ्सिला घाट) झर्यौँ । अब त्यहाँबाट यात्रा थियो हाम्रो चिसापानी सम्मको । त्यो भन्दा अगाडि नै म र भाईहरु (सानीमाका छोरा) दुधकोसीमा फोटो खिचेर प्रफुल्ल भएका थियौँ । दुधकोसीको पुल र दुधकोसीको किनारमा फोटो खिचेर रमाईरहेका थियौँ । फोटो खिचेर यो मन कहिल्यै अघाउँदैन । गाउँको यात्रामा, गाउँको फोटो खिच्न पाउनु मेरा लागि सुखद् कुरा थियो ।

कोसीबाट चिसापानीसम्मको यात्राका लागि गाडी नपाउने भयो । कोसी किनारमा करीब तीन सय भन्दा बढी मानिसहरु चिसापानी जान गाडी पर्खिरहेका थिए ।

निकै समयपछि चिसापानीबाट मान्छे बोकेर ट्याक्टर आयो । अन्तत : गाडी नपाउने भएपछि हामी ट्याक्टरमै कष्टपूर्ण यात्रा गर्न बाध्य भयौँ । दुईवटा ट्याक्टर थियो, एउटा ट्याक्टरमा हामी सहित करीब पचास जना भन्दा बढी मानिसहरु यात्रा गर्न बाध्य भएका थिए । अब हामी ट्याक्टरबाट चिसापानी सम्म जानका लागि पूर्ण तयारी थियौँ । ट्याक्टर हिड्न थाल्यो, कोसी पर–पर देखिन थाल्यो । ट्याक्टर जति टाढा जान्थ्यो, कोसी उतिनै दूर–दूर देखिन्थ्यो । ट्याक्टर कोसीको बालुवामाथी कुद्थ्यो, बालुवा उड्दै–उड्दै हावामा विलिन हुन्थ्यो । मन भने अघि नै बालुवासँगै उडेर मामाघर पुगिरहेको थियो ।

चिसापानीको उकालो लाग्नुभन्दा अगाडि कोसीको किनारमै रुवाफेदी भन्ने ठाउँ आउँछ, यहाँ हामी पहिले गाउँबाट बसाई सरेर आउँदा बास बसेको ठाउँ । ट्याक्टरले सोही ठाउँमा पुगेर बिसौनी लगायो । त्यसको केही समयपछि ट्याक्टर चिसापानीको उकालो चढ्यो । अब थियो कष्टपूर्ण यात्रा । ट्याक्टरमा उभिएर करीब पाँच घण्टाको यात्रा गर्नु जोक थिएन । कहिल्यै ट्याक्टरमा नहिँडेको मान्छे, गाउँको बाटोमा त्यो पनि उभिएर । अरु मानिसहरु बसिरहेको भएपनि ट्याक्टरमा बस्ने ठाउँ नभएका कारण उभिएर यात्रा गर्न बाध्य थिएँ । ट्याक्टरमै काम गर्ने एउटा भाईसँग लामो समयसम्म वार्तालाप भयो ।

भोजपुरको बालङ्खा घर बताउने उनी आफ्नो नाम अर्जुन खड्का र उमेर १५ बर्ष भएको बताउँथे । ‘एकदिन गाउँमै साथीहरुसँग घुम्दैथिएँ, सामान बोक्नका लागि ड्राइभर आएको थियो उसैले जाउँ भन्यो अनि गएँ’ उसले आफ्नो इतिहाँस सुनाउँदै गए । तीन बर्ष अगाडिबाट आँफूले ट्याक्टर र बोलेरोमा खलासी गरेको सम्झदैँ उनले आँफू अनपढका कारण केही थाहा नभएको बताए । ‘बाउ एमालेको नेता र अपाङ्ग संघको अध्यक्ष थिए, दाजु बिदेशमा र दिदीको बिहे भईसकेर मधेस तिरै छ ।’ उसले आफ्नो कथा सुनाउँदै गए म सुन्दैगएँ । ट्याक्टरमै उभिएर उस्को कथा सुन्दैथिएँ मैले ‘अब कति घण्टा लाग्छ चिसापानी पुग्न ?’ प्रश्न गरेँ । ती भाईले एक घण्टा लाग्छ भने । एक घण्टा अगाडि सोध्दा पनि एक घण्टा नै लाग्छ भन्ने तिनै भाईले, त्यसको एक घण्टापछि सोध्दा पनि एक घण्टा नै लाग्छ भन्दैथिए । सोही समयमा सँगै गएका अंकलले एक घण्टामा कति मिनेट हुन्छ भाई भन्ने प्रश्न गरे । ती खड्का भाई अकमक्क परे । अनपढका कारण र गरिबीका कारण उनलाई एक घण्टामा कति मिनेट हुन्छ भनेर थाहा नपाउनु गम्भीर कुरा थियो मेरा लागि ।

गाउँको बाटोमा आफ्नो ज्यान नै जोखिममा मोलेर गाडीमा काम गर्दै आएका उनको एउटा कुराले म अति नै भावुक भएँ । मैले प्रश्न गरेँ ‘भाई कति पढेर छाडेको ?’ उसको उत्तर थियो तीन कक्षा मात्र । ‘साथीहरुको संगतले मेरो पढाई बिट म¥यो ।’ उनले भने । म अवाक् भएँ । मैले फेरी प्रश्न गरेँ– ‘किन तीन कक्षा मात्रै पढेको ?’ उसले प्रश्न टुङ्गिन नपाउँदै भन्यो – ‘चामलको बोराले थिचेपछि पढिन्छ ।’ म उस्को कुराले भावुक भएँ । घरमा चामल खान नपुगेका कारण पढाई छाडेर काम गर्न बाध्य भएको उनको कुरा थियो । त्यो समय म सोचिरहेर पनि भावुक भईरहेको थिएँ । गाउँमा मात्रै नभएर सहरमा पनि यस्ता पीडित र गरिबीको रेखामुनी रहेका बालकहरु पढाई छाडेर काम गर्न विवश छन् ।

पछि म पत्रकार भएको थाहा पाएपछि उस्ले मसँग कुरा गर्नै मानेन । भन्यो ‘पहिला एउटा पत्रकारले मेरो फोटो खिचेर लग्यो, बेइज्जत हुन्छ ।’ उसको कुराले मेरो मनमा चिसो पस्यो । किनकि, पत्रकारकै कारण आँफू बेइज्जत हुनुपरेकाले उसको कुरा गहकिलो थियो । पछि मैले उसलाई भने ‘न तिमी नेता, न मन्त्री कसरी बेइज्जत हुन्छ ?’ उसले केही नभनेपनि उसका आँखाहरु बोलिरहेका थिए । तर पछि सम्झाउँदै जाँदा उसले मसँग कुरा गर्न मान्यो र आफ्नो भोगाइहरु सुनाउँदै गयो । साहूले महिनाभरी काम गरेवापत पाँच हजार र खान बस्न दिने उसको भनाई थियो । महिनाको पाँच हजार घरमा दिने उसले बताउँदै भन्यो –‘ घरबाट भागेर हिडेँको हुँ, पहिला त डर लागेर घरै गईँन, अहिले जान्छु कमाई भएको केही पैसा घरमा नि दिन्छु ।’ उसले आफ्नो पीडा सुनाउँदा सुनाउँदै हाम्रो गन्तव्य आइपुग्न लाग्यो । साँझ पाँच बजे हामी चिसापानी पुगिसकेका थियौँ ।

चिसापानीबाट हिड्दै जाँद तीन घण्टाको बाटो छ अब मामाघर पुग्न । चिसापानीको ओरालो लाग्यौँ हामी । हिउँदको महिना सुरु भएकाले साँझमै झमक्क रात परिसकेको थियो । त्यहाँबाट खुटा हुँदै सावा खोला आउँछ । सावा खोलाबाट आधा घण्टा उकालो चढेपछि मामाघर आइपुग्छ । चिसापानीको ओरालो झर्दा कतै मोबाइल त कतै राँको बालेर झर्यौ । दुई घण्टा हिडेपछि ओरालो झरेका थियौँ । त्यहाँ पुग्दा पुरै राती भएको थियो । खोलाबाट रातमाटा हुँदै पुरानागाउँ आइपुग्छ । पुरानागाउँ मामाघर हो । यहाँबाट देखिन्छ पारी धनबुढा, गहते र चर्चित धार्मिकस्थल बराहपोखरी । अलिक मास्तिर देखिन्छ डुम्रे स्कुल सँगै बडाका र माझखर्क । हामी करीब एक घण्टामा उकालो हिडेर रातको नौ बजे मामाघर पुग्यौँ । निकै खुशीयाली थियौँ हामीमा । म झनै खुशी भएको थिएँ । करीब ८ बर्षपछि मामाघर गएको थिएँ दसैँको टीका लगाउन । हामीले हजुरआमाको हातको टीका लगायौँ । त्यसपछि खानपिन गरेर सुत्यौँ ।

दोस्रो दिन :

दोस्रो दिन विहान उठेर धनबुढा, गहते र बराहपोखरीको मनोरम दृश्य हेरियो । बहुत आनन्द आउँछ डाँडामा गएर माथी डुम्रे स्कुल हेर्न पनि । मामाघर नजिकै बरपीपल छ त्यहीँ पोखरी छ । पहिला यहाँ बाँदरहरु प्रसस्तै आउँथे, पोखरीमा पानी पनि हुन्थ्यो । अहिले पोखरीमा पानी पनि छैन, बाँदरहरु पनि छैनन्, गाउँका अन्य मानिसहरु पनि छैनन्, छन् त केवल उराठलाग्दा रुखहरु । तिनै रुखहरुले ढाकेका छन् गाउँका घरहरु ।

म र भाईहरु केही समयपछि अम्बक टिप्न गयौँ । मामाघरको अम्बक र लहरे बोडी नखाई आफ्नो धित नै नमर्ने । खाना खाएर दिउँसो खोटाङ बजार गयौैँ दाई (विशाल) र म । खोटाङ बजार पुगेर यहाँको मनोरम दृश्य हेर्यौ हामीले । यहाँबाट देखिन्छ म जन्मेको गाउँ भोजपुर पामाखाम भन्ज्याङ, हेरिरहुँ जस्तो मात्र लाग्ैदन यो ठाउँ, अहिले उडेर पुगिहालौँ जस्तो लाग्छ । हामी युवाहरुका लागि उत्प्रेरक केही गर्न खोज्ने मानिसहरुका लागि सधैँ हौसला र साथ सहयोग प्रदान गर्ने प्रकाश राईलाई फोन लगाएँ बजारबाट । गाउँमा एनसेलको टावर आउँदैन । प्रकाश सरको घर पनि खोटाङ नै हो । उहाँको गाउँ दिक्तेलबाट करीब तीन घण्टा लाग्छ जानका लागि बुइपा भन्ने ठाउँ हो । मैले फोन लगाएको ठाउँबाट जानका लागि एकदिन लाग्ने उहाँसँगको टेलिफोन वार्तापछि थाहा भयो । नजिकै भएको भए भेट गर्ने सोचेको थिएँ । गाउँको भेट र सहरको भेटमा निकै अन्तर र दूर छ । गाउँको भेट भनेको निकै सुन्दर हुने मेरो निजी बिचार हो । प्रकाश सरसँग केहीबेरको वार्तालापपछि उहाँसँग इटहरीमै भेट्ने भनी फोन सम्पर्क विच्छेद भयो । फोन राख्नुअगाडि नै प्रकाश सरले भन्नुभयो – विवेक जी अब इटहरी पुगेपछि गाउँको एउटा फिचर लेख्नपर्छ है । मैले हुन्छ भन्ने भावमा फोन राखेको थिएँ । समग्रमा त्यो दिन पनि घुमघाममै वित्यो ।

तेस्रो दिन :

मामाघर बसाईको तेस्रो दिन खासै त्यस्तो उपलब्धिमूलक काम केही भएन । तर, गाउँको बसाई केही नगरी बस्ने कुरा पनि थिएन । तेस्रो दिन घरपरिवासँगै रमाईलो गर्दै वित्यो ।

चौथो दिन :

मामाघर पुगेको चौथो दिन घर फर्कनुपर्ने छ । हजुरआमालाई जचाँउनका लागि लिएर आउनु छ । जाँदा नौ जना थियौँ, आउँदा दश जना हुने भयौँ । विहानै उठेर खोटाङ बजार पुग्यौँ हामी । खोटाङबाट सिमपानी हुँदै रसुवाघाट झर्छ । रसुवाघाट बाट गाइघाट र यहाँबाट इटहरी आइपुगिन्छ । बाटोमा बोलेरो अगाडि बढ्दै जाँदा मामाघर छोडिदैँ गयो, मेरो मन पनि खिन्न हुँदै जाँदैथियो । गाउँको बाटोमा बोलेरो कुद्दा मुटुको धड्कनले डाँडा काटेको हुन्थ्यो ।

किनकि, बाटो निकै कष्टपूर्ण थियो, तर यात्रा भने अविष्मरणीय बन्दै जाँदैथियो । हामी दुई घण्टामा रसुवाघाट झर्यौ । रसुवाघाटबाट गाइघाटको लागि गाडी चढ्न निकै सकस भयो । गाडी कम, मान्छे बेसी भएका कारण कष्टपूर्ण रुपले यात्रा गर्न वाध्य भइयो । ३२ जनाको सिट रहेको उक्त बसमा करीब डेढ सय भन्दा बढी मानिस सवार थिए । सबैलाई हतारमा घर पुग्नुपर्ने थियो, गाडीसाहूलाई छिटै तर धेरै पैसा कमाउनु थियो । त्यसैले, बसको क्षमता भन्दा तीब्र रुपमा मानिस सवार थिए । गाउँको बाटो भएका कारण बीचमा ट्राफिक चेकिङ नहुँदा निकै कष्टपूर्ण रुपले यात्रा गर्न बाध्य छन् सर्बसाधारण जनताहरु ।

बीचमा बाटो खराब भएका कारण कतिपय ठाउँमा गाडी फस्ने, बसबाट उत्रिएर हिड्नपर्ने र गाडी ठेल्नुपर्ने समेत अवस्था सृजना भयो । रसुवाघाटबाट करीब पाँच घण्टामा हामी गाईघाट झरेका थियौँ । गाईघाटबाट इटहरी ननस्टप दुई घण्टाको बाटो हो । तर, यहाँबाट गाडी नपाउने भयो । एउटा गाडी बसपार्कमा रोकिराखेको थियो । हामी इटहरी आउने २५ जनाभन्दा बढी मानिसहरु रहेका कारण गाडीले नल्याउने भएपनि अन्तिममा ल्याउने भयो । हामी ७ बजे इटहरी आइपुग्यौँ, सानीमाहरु गाईघाटमै रहुनभयो ।

समग्रमा यसपटकको दसैँ यात्रा निकै कष्टपूर्ण रहेपनि अविष्मरणीय रह्यो । म यतिबेला यो यात्रानुभूति लेखिरहँदा सोचिरहेको छु – फेरी त्यस्तै कष्टपूर्ण तर अविष्मरणीय यात्रा गर्न पाए !

Purbeli TV

Loading…

इटहरीमा बसेर खोज तथा समसामयिक बिषयमा कलम चलाउनुहुने रेग्मी पूर्वेली न्युजका सहकर्मी हुनुहुन्छ ।

विवेक विवश रेग्मीबाट थप

१५ बर्षीया बालिका : जसले बुबा गुमाएको २१ दिनमै गुमाइन् आमा

टेग्रा किनारमा भविष्य कोर्दै बिपन्न बालबालिका

लैङ्गिक हिंसामुक्त इटहरी बनाउन जोड

कवि भिखारीले भने–‘तिमीले राम्रो भनेपछि…’

तरहरा जेसीज सप्ताह : नृत्यमा कोशी कलेज प्रथम

दसैँ यात्रा २०७५ : कष्टपूर्ण तर अविस्मरणीय यात्रा (यात्रानुभूति)

जेसीज सप्ताह : खुल्ला दौड प्रतियोगितामा याङ्देव

दसैँ कसरी मनाऊँ ! देशमा कलह बढेको छ

क्षेत्रीय कृषि अनुसन्धान तरहरामा भ्रष्टाचार : कम बिल काटेर बढी सामान निर्यात

महिला बचतको २१ औँ स्थापना दिवसमा सम्मान

तपाईको प्रतिक्रिया

Loading…

Loading…