दसैँ कसरी मनाऊँ ! देशमा कलह बढेको छ

घर पोत्नुपर्ने छ, कमेरो, रातोमाटो खन्न डाँडा काटेर जानु छ पारि । घरदेखि पाँच सय मिटर टाढासम्म बाटो खन्नु छ, सरसफाइ गर्नु छ । घर सफा गर्नुपर्ने, माकुराले नि जालो लगाइसक्यो, सहरबाट बाले दसैँको लागि नयाँ लुगा लेइदिनुहुँदैछ सुनको सिक्री भएको जिन्स पाइन्ट । प्लाष्टिकको चङ्गा बनाउनु छ पाँच रुपैँयाको धागो किनेर । स्कुल पनि छुट्टी भइसक्यो । यसपालि त मज्जाले मनाइन्छ दसैँ । मावल गएर पिङ खेलिन्छ, हजुरआमाले हर्पेमा राखेको घिउ नि खानु छ दशैँकै अवसर पाारेर । सहरबाट बुबा पनि आउने, नयाँ लुगा नि लाउन पाईने, पारि गोल्मे डाँडासम्म पुग्ने गरी चङ्गा नि उडाउने क्या मज्जा हुने भो दसैँ आहा !

आजभन्दा करीब दश बर्ष अगाडि यस्तै यस्तै सपना बुन्थ्यौँ गाउँमा हामी । तर, अहिले दसैँ हैन सहरमा दशा भित्रिएको छ । दसैँले छपक्कै छोपेको छ यो समय गाउँघरमा । म यो बेला मेरो गाउँको स्मृतिमा यिनै शब्दहरु कोरेर दसैँ मनाएको कल्पना गर्दै मुस्काइरहेको छु ।

मावल गएर मामाले लगाउनुभएको लिङ्गे पिङ खेल्नुछ । पोखरीनजिकै रहेको बरपीपलमा रहेका बाँदहरुसँग लुकामारी खेल्नुछ । सल्लाको रुखमा फलेको फलको चिम्टी नि खानुछ । आहा त्यो बेलाको दसैँ । यी र यस्ता स्मृतिहरु सम्झँदा अहिले गह भरिएर आउँछ । दसैँ पर्व एउटा संस्कृति हो । हामीले यो रीतिरिवाजलाई जोगाएर राख्नुपर्ने हुन्छ । तर, अहिले संस्कृतिका नाममा राजनीति, संस्कृतिका नाममा विकृति भित्रिरहेको प्रत्यक्ष देख्न पाइन्छ । सहरमा दसैँ पर्व भनेको धनी, मान्यगन्यको मात्रै भन्ने बुझाइ छ । तर, गाउँमा भने आफ्नो परम्परा जोगाउनका लागि मात्रै नभई आपसी सद्भावका लागि पनि सरसापट चल्थ्यो । अथवा भनौँ गाउँमा हुनेखाने मात्रै नभएर गरिब मानिसहरु सँग पनि सद्भाव कायम गरी दसैँ मनाउँथ्यौँ । समाजले दलित भनेर उपनाम दिएका दर्जीहरुका लागि दसैँको भाग छुट्याउने प्रचलन समेत थियो । उनीहरुले बर्षभरी लुगा सिलाएका कारण दसैँको भागस्वरुप केही खानेकुरा, केही पैसा दिने प्रचलन थियो । यसरी पनि थाहा हुन्छ कि दसैँ गाउँमा आउँथ्यो । अथवा भनौँ दर्सैँले सबैलाई समेटेर स्नेह, सद्भावले मनाउँथ्यौँ । नेपालीहरुको सबैभन्दा ठूलो पर्वको रुपमा लिईँदै आएको छ दसैँलाई । संस्कृत शब्द दशमीबाट नेपाली भाषाका रुपमा आएको शब्द हो दसैँ । संस्कृति र परम्पराको जगेर्ना गर्नु हामी सबैको कर्तव्य हो ।

म गाउँको दसैँ सम्झेर यतिबेला रमाउँदैछु । सहरमा त दसैँको उल्लास नै छैन । किनकि, यहाँ दैनिकजसो आउँछन् निर्मला पन्तजस्ता पीडित मानिसका घटना अखबारमा । निर्मलाजस्ता सयौँ मानिसहरू बलात्कृत हुन्छन् र हत्या गरिन्छन् । खुर्सिद अन्सारीहरूले दिनदहाडै गोली खानुपर्छ । मुलुक परिवर्तनका लागि दह्रो भाषण गरिरहेका छन् मानिसहरु । केटाकेटीहरु पार्क जान्छन्, र त्यहीँबाट प्रेमका गाथा बुन्छन् । समाजका आमाहरु कसरी अरुको खुट्टा तान्ने भन्नेबारे दिनभरि बहस गर्छन्, तर निर्मलाजस्तै पीडित बन्न नपरोस् भनेर रत्तिभरि नि सोच्दैनन्, बहस गर्दैनन् ।

कठै यस्तो बेला कसरी मनाउँ दसैँ ? अलिकति पनि उत्साह र हौसला छैन दसैँको । सहरको दसैँ सम्झेर यतिबेला म भावह्लि भएको छु । दिनैपिच्छे अखबार बलात्कार, हत्या र अपराधका घटना बोकेर आउँछ । कसरी मनाउँ दसैँ ?

सहरबाट गाउँ गएर दसैँ मनाउनेहरु सिण्डिकेटका कारण बसको यात्रा गर्न पाएका छैनन् । सहरको चोकमा विहानै पत्रिका किन्न जाँदा सटरको छेउमा सुतिरहेको बालक देख्छु, यो बेला म कसरी मनाउँ दसैँ ? यी अनुत्तरित प्रश्नहरु बोकेर म यिनै शब्दहरु कोर्न बाहेक अरु केही गर्न सक्दिन । दसैँ त साना मानिसहरुलाई आउँछ भन्ने कुरा पनि अब त बेतुक लाग्न थालेको छ । गाउँमा साना होस् या ठूलो मानिस सबैलाई दसैँको नयाँ उमंग र उत्साह बोकेर आउँथ्यो । तर, सहरमा भने त्यो पाईँदैन । घरमा सानी छोरी छाडेर हिड्न नसक्ने अवस्था छ । ती सानी छोरीलाई कसरी आउँछ उत्साह ? स्वतन्त्र रुपले समाजमा हिड्न सक्ने अवस्था छैन । म कसरी मनाउँ दसैँ ? दसैँको उत्साह भनेको गाउँमै हुने रैछ भन्ने तितो अनुभव सम्झिरहेको छु यो समय । सहरमा दसैँको उल्लास नभएनि गाउँमा यतिबेला घरमा कमेरो लगाउने, रातोमाटोले घर पोत्ने काम भइरहेको हुँदो हो ।

गाउँको दसैँ र सहरको दसैँमा यिनै भिन्नता छन् । सहरमा कतिबेला के हुन्छ, कसले के भन्छ, कसले के खान्छ, कसले के लाउँछ ? यस्ता कुराहरु गरिरहेका आमाहरु, दिदीहरु रहेको विद्यमान छ । तर, गाउँमा त एक गाग्री पानी बोक्नु छ, घर लिप्नु छ, भैँसीलाई घाँस काट्नु छ, दिउँसो धान काट्न जानु छ, यस्तै यस्तै कामहरुले फुर्सद हुँदैन । फुर्सद भएको समय गाउँमा भएका महिला दिदीबहिनीहरु बीच एक आपसमा सुमधुर सम्बन्ध स्थापित गरी अगाडि बढ्ने गरेको पाइन्थ्यो । गाउँका अनेक विशेषता छन् । गाउँमा कोही साह्रो गाह्रो बिरामी परे गाउँभरिका मानिस भेला भएर सहानुभूति दिलाउने गरिन्थ्यो । तर, सहरमा त कोही मानिस बिरामी, साह्रो, गाह्रो भयो भने हौसला मनाउने प्रचलन हाबी भएको छ । यो तितो यथार्थ हाम्रो समाजमा विद्यमान छ । देशमा कलह बढेको छ, यो समय म दसैँ कसरी मनाऊँ ?

अशान्ति, दुराचार, असामाजिकता, दुव्र्यवहार, अपराधलगायत अनेक–अनेक विकृतिहरुले गर्दा सहरमा चार्डवार्डको उत्साह नआएको पो हो कि ? यो एकदमै सोचनीय विषय हो । समाजमा रहेका असामाजिक व्यक्तिहरुले गर्दा दसैँ मात्र नभएर नेपालीहरुका महत्वपूर्ण चार्डवार्ड, रीतिरिवाज, संस्कृति, धर्म परम्परामा बिकृति फैलिरहेको प्रष्ट छ । हामीले चार्डपर्व मनाउने हो भने सबैभन्दा पहिला संस्कृतिको जर्गेना गर्नुपर्ने निश्चित छ ।

आफ्ना दुःखहरु हुँदा गाउँमा बाले बनाइदिएको चौतारोसँग दुःख बिसाउँथ्यौँ हामी । तर, सहरमा भने बडो दोधारमा छु म न मैले दुःख बिसाउन पाउँछु, न त मसँग बाले बनाइदिएको चौतारो नै छ । हाम्रा दुःखहरु गाउँमा पिङ खेल्दा त्यहिँ उडाउँथ्यौँ । अहिले सहरमा दुःखहरु म कहाँ बिसाउँ न मसँग चौतारो छ, न मैले खेल्ने पिङ नै छ सहरमा ।

यहाँ त दुःखहरु बिसाउन गफमा उडाउनु पर्छ, कि त दुःखहरु परायलाई सुनाउनुपर्छ । सहरमा एक साधारण मानिस पनि असाधारण झैँ बाच्नु पर्छ । सहरमा एक निर्दोष मानिस पनि दोषी भएर बाँच्नुपर्छ । तर, यो समय नेल्सन मण्डेलाको एउटा भनाइले जीवन बाँच्नमा सहज हुन्छ । उनले भनेका थिए – ‘कहिल्यै नलडेर बाँच्नुमा भन्दा पटक–पटक लडेर उठ्नुमा जिन्दगीको धेरै खुशी मिल्छ ।’ उनले भनेजस्तै सहरमा पटक–पटक आफ्नैबीच लड्नुपर्छ । म्यासेन्जरमा टुङ–टुङ गर्दै आउँछन् दसैँका म्यासेजहरु पढ्छु, सम्झन्छु र त्यसरी पनि चित्त बुझाउँछु अरे कोही त रैछ नि मेरो नि शुभचिन्तक ।

यस्तै–यस्तै अनेक कुराहरु सम्झदैँ, यी शब्दहरु कोर्दा यतिबेला म आफ्नै भूगोलभित्र हराइरहेको छु । कहिँ, कतै आफ्नै शब्दहरुमा नि चित्त बुझ्दैन तर दसैँको शुभकामना नदिइरहन पनि सक्दिन । निरुत्साहित मन, उराठ, दुःख र पीडाहरुबीच नै दसैँको शुभकामना लेख्नुपरिरहेको छ । दसैँ कसैको दशा नबनोस्, दसैँ कसैको दुःख नबनोस्, यसले आगामी दिनमा सबैको मन जोडोस् दुबोजस्तै हरिया सद्भाव र मैत्रीका सम्बन्ध फैलिइरहून्, सबैले संस्कृतिको जर्गेना गरौँ सबैमा शुभकामना !

Purbeli TV

इटहरीमा बसेर खोज तथा समसामयिक बिषयमा कलम चलाउनुहुने रेग्मी पूर्वेली न्युजका सहकर्मी हुनुहुन्छ ।

विवेक विवश रेग्मीबाट थप

१५ बर्षीया बालिका : जसले बुबा गुमाएको २१ दिनमै गुमाइन् आमा

टेग्रा किनारमा भविष्य कोर्दै बिपन्न बालबालिका

लैङ्गिक हिंसामुक्त इटहरी बनाउन जोड

कवि भिखारीले भने–‘तिमीले राम्रो भनेपछि…’

तरहरा जेसीज सप्ताह : नृत्यमा कोशी कलेज प्रथम

दसैँ यात्रा २०७५ : कष्टपूर्ण तर अविस्मरणीय यात्रा (यात्रानुभूति)

जेसीज सप्ताह : खुल्ला दौड प्रतियोगितामा याङ्देव

दसैँ कसरी मनाऊँ ! देशमा कलह बढेको छ

क्षेत्रीय कृषि अनुसन्धान तरहरामा भ्रष्टाचार : कम बिल काटेर बढी सामान निर्यात

महिला बचतको २१ औँ स्थापना दिवसमा सम्मान

तपाईको प्रतिक्रिया

Loading…