इटहरीमा तेस्रो अण्डर १९ राष्ट्रिय प्रिमियर लिग क्रिकेट हुने

इटहरी । इटहरी क्रिकेट एकेडेमीको आयोजनामा तेस्रो अण्डर १९ राष्ट्रिय इटहरी प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुने भएको छ । इटहरीलाई क्रिकेट खेलको माध्यमबाट चिनाउने मुख्य उदेश्यका साथ प्रतियोगिता असोज १५ देखि १९ सम्म इटहरीस्थित डिभिएम स्कुलको मैदानमा हुने पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

तेस्रो संस्करण अनुसार प्रतियोगितामा नेपालका प्रमुख टिमहरु काठमाडौ, बिराटनगर, प्रदेश नं. २, भैरहवा, कैलाली तथा आयोजक टिम सहभागी हुने छन् । प्रतियोगिता लिगकम नकआउटको आधारमा खेलाईने बताइएको छ ।  प्रतियोगितामा प्रथम टिमलाई यस बर्ष एक लाख ११ हजार नगद र ट्रफि, दोस्रोलाई ५५ हजार नगद ट्रफि पुरस्कार दिने इटहरी क्रिकेट एकेडेमीका अध्यक्ष कैलाश बिष्टले जानकारी दिए । यस्तै सर्वाेत्कृष्ट खेलाडीलाई १० हजार नगद र ट्रफि दिने योजना रहेको उनले बताए । प्रतियोगितामा बेष्ट म्यानलाई ५ हजार, बेष्ट बलर ५ हजार, मेन अफ द म्याच २ हजार समेतको पुरस्कार राशी राखिएको बिष्टले पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद, इटहरी उपमहानगरपालिका लगायतले सहयोग गर्ने छ ।

अध्यक्ष बिष्टले यस अघिको दुई संस्करणमा बिभिन्न टिममा सहभागी खेलाडीहरु अहिले नेपाल राष्ट्रिय अण्डर १९ टोलीमा सहभागी भइरहेको बताउदै प्रतियोगिता आयोजनाले खेलाडीहरुको राष्ट्रिय सहभागीता हुने सपना पुरा भएको बताए । एकेडेमीले हाल इटहरीमा निशुल्क बिभिन्न उमेर समुहका खेलाडीहरुलाई प्रशिक्षण समेत गराउदै आएको बिष्टले जानकारी दिए ।

तपाईको प्रतिक्रिया