मृतक परिवारलाई रु १० लाख राहत प्रदान

भक्तपुर / सूर्यविनायक नगरपालिका–७ बालकुमारीमा गत माघ २९ गते चितुवाको आक्रमणबाट मृत्यु भएका बालक पाँच वर्षीय शिरिष लामाको परिवारलाई राहतस्वरुप रु १० लाख प्रदान गरिएको छ । सूर्यविनायक नगरपालिका ७ नं वडा कार्यालयले गुण्डुमा आयोजना गरेको ‘रकम हस्तान्तरण तथा वन्यजन्तु र मानवबीच हुने द्वन्द्व न्यूनीकरण’ विषयक अन्तक्र्रिया कार्यक्रममा पूर्वउद्योग मन्त्री एवं प्रतिनिधिसभा सदस्य महेश बस्नेतले उक्त रकम मृतक शिरीषका बुबा सुनिल लामालाई हस्तान्तरण गर्नुभएको हो ।

पसल गएर फर्कदै गर्दा साँझ सूर्यविनायकमा निर्माण हुन लागेको राष्ट्रिय प्राणी उद्यानको चितुवाको आक्रमणबाट बालकको मृत्यु भएको थियो । वन मन्त्रालयमार्फत सरकारले उपलब्ध गराएको उक्त रकम हस्तान्तरण गरिएको हो । यसअघि पनि मृतक बालकका परिवारलाई नगरपालिकाले रु ५० हजार र राष्ट्रिय प्राकृतिक संरक्षण कोषले रु ५० हजार रकम उपलब्ध गराइसकेका वडा अध्यक्ष रबिन्द्र सापकोटाले जानकारी दिनुभयो ।

गुण्डुस्थित भैरवी निम्नमाध्यमिक विद्यालयमा आयोजना गरिएको वन्यजन्तु र मानवबीच हुने द्वन्द्व न्यूनीकरण विषयक अन्तक्र्रिया सांसद बस्नेतले राष्ट्रिय प्राणी उद्यानको निर्माण कार्य आगामी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ सरकारले बजेट विनियोजन गरेको बताउँदै वन्यजन्तुको संरक्षणसँगै त्यसबाट बच्न सचेत हुनुपर्ने बताउनुभयो ।

उहाँले पानी तथा खानेकुराको अभावमा वन्यजन्तु बस्तीमा पस्ने गरेको बताउँदै प्राणी उद्यान निर्माणसँगै त्यसको वरिपरि पर्खालको लगाउने भएपछि त्यो समस्झा हल हुने जानकारी दिनुभयो । भक्तपुरका प्रमुख फणिन्द्र पोखरेल, राष्ट्रिय प्राणी उद्यानका उपनिर्देशक नारायण रुपाखेती र व्यवस्थापन अधिकृत मिथिलेश महतो, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, भक्तपुर जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुँवरले वन्यजन्तुबाट बच्न तरिका स्थानीयलाई सिकाउनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा जिल्ला वन कार्यालय भक्तपुरद्वारा आक्रमणमा परी मृत्यु भएका लामाको स्मरणमा प्रकाशन गरिएको पुस्तिका र वन्यजन्तुबाट हुन सक्ने क्षति तथा त्यसबाट वच्ने उपाय, चित्र तथा पोस्टरसमेत समावेश गरिएको पुस्तक वितरण गरिएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…