फौज्दारी संहिताले सञ्चारजगत व्यवस्थित हुने

वीरगञ्ज / देशमा १६५ वर्षपछि लागू भएको मुलुकी अपराध (संहिता) ऐन २०७४ सञ्चार जगतकाे अभिव्यक्ति स्वतन्त्रतालाई प्रभावित पार्नुको सट्टा नियतवश गल्ती गर्ने सञ्चारकर्मीमाथि अङ्कुश लगाउने काम गरेको छ भन्ने सकारात्मक अभिव्यक्तिहरु आउन थालेका छन् । यही भदौ १ गतेदेखि मुलुकभर लागू भएको यो मुलुकी ऐनले सार्वजनिक सरोकार वा सूचनाको खोजतलास गरी समाचार सम्प्रेषण गर्न सञ्चारकर्मी तथा सञ्चारमाध्यमलाई समस्या परेको, सञ्चारकर्मी स्वतन्त्ररुपमा काम गर्न नसक्ने, सर्बत्र आवाज उठिरहेको सन्दर्भमा कतिपय क्षेत्रबाट नियतवश गल्ती गर्ने प्रेस जगत्लाई यो ऐनले अङ्कुश लगाउने काम गरी लोकतन्त्रको रक्षा गर्ने काम पनि गरेको बताइन्छ ।

प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले भदौ १ गतेदेखि लागू भएको यो ऐनमा राम्रा पक्षहरु समेटिएको छ जुन समयसापेक्ष रहेको बताउनुभयो । रासससँग कुरा गर्दै प्रदेश २ का मन्त्री यादवले प्रेस स्वतन्त्रताको हकमा जुन व्यवस्था यो मुलुकी ऐनले गरेको छ त्यसप्रति असन्तुष्ट देखिने ठाउँ नरहेको भन्दै मन्त्री यादवले उक्त ऐनमा यदि संशोधन गर्नु परेमा छलफलको माध्यमबाट सुधार गर्दै जाने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नियतवश गल्ती गर्ने पत्रकारलाई अङ्कुश लगाउने काम यो ऐनले गरेको र यो ऐनकै कारण जनतामा सही सूचना जानेछन् भन्नुभयो । पत्रकारिता क्षेत्रलाई प्रभावित पार्ने यस्ता ऐनलाई संशोधन गर्नुपर्ने आवाजसमेत उठेको छ । जतिसुकै भ्रष्टाचार गरे पनि खुलेर समाचार लेख्न नसक्ने अवस्थाको कारण भ्रष्टाचारीलाई फाइदा पुग्ने देखिन्छ ।

महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजका सहप्राध्यापक श्यामसुन्दर शशीले यो ऐनको कारण स्वनियन्त्रणतिर पत्रकारिता जान्छ जो स्वतन्त्रता र निष्पक्ष पत्रकारिताका लागि बाधक हुनेछन् भन्नुभयो । उहाँले जारी गरिएको संहिताले स्पष्ट रुपमा सार्वजनिक स्थानमा अनुमति बिना फोटो खिच्न बन्देज गरिनु, समाचार सङ्कलनका क्रम्मा कसैको भनाइ रेकर्ड गर्न नपाउनुजस्ता कारणले प्रेस स्वतन्त्रतामाथि अङ्कुश लगाउनु हो जुन लोकतन्त्रको भावनाविपरीत रहेको बताउनुभयो ।

पत्रकारको अभिव्यति स्वतन्त्रताको दुरुपयोग नहोस् भनेर जारी गरिएको संहिताले कुनै न कुनै रुपमा नियन्त्रण गर्न खोजिएको छ, नेपाल पत्रकार महासङ्घ प्रदेश २ का सहसंयोजक केसी लामिछानेले भन्नुभयो, “पत्रकारहरुले संवैधानिक दायराभन्दा बाहिर गएर काम नगरोस् भनी यस्तो ऐन ल्याइएको हो ।”
पर्साका कानून व्यवसायी अञ्जन अधिकारीले प्रेसजगत्ले जसरी यो संहिताको विरोध गरिरहेको छ त्यस्तो केही पनि छैन । उहाँले पहिले पनि यस्तो व्यवस्था रहेको थियो र अहिले पनि मुलुकीय ऐनलाई प्रतिस्थापना गरी यो व्यवस्था ल्याइएको बताउनुभयो ।

अपराध संहिताको दफा २९३ देखि ३०८ सम्म गोपनीयताविरुद्धको कसुर व्यवस्था गरिएको छ भने यो ऐनको फौज्दारी संहितामा गोपनीयता र गाली बेइज्जती सम्बन्धित महलका कतिपय प्रावधानका कारण सञ्चारमाध्यम र सञ्चारकर्मी अप्ठ्यारोमा पर्ने भनाइ छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया