ठेक्का सम्झौता नै नभई खनार हाटमा अबैध रुपमा पैसा उठाइदै

सुनसरी । इटहरी उपमहानगरपालिकाले लगाउने शनिबारे हाट ठेक्काको सम्झौता बिना नै इटहरी ११ र १२ स्थित खनारमा पैसा उठाउन थालिएको छ । अहिले ठेक्का प्रकृयामा नै रहेको फर्म गौरी संकर सप्लायर्सले गैरकानुनी हिसाबले पैसा उठाएका हुन ।

उपमहानगरले आर्थिक बर्ष ७५-७६ को लागी लगाएको ठेक्कामा आरके कन्सट्रक्सन र गौरी संकर सप्लायर्स बिच दुईमा एकलाई ठेक्काको दिने अन्तिम प्रकृयामा छ । जसमा आरके कन्सट्रक्सनले सबै भन्दा बढी कबोल गरेको छ ।

उपमहानगरले खनार हाटको लागी १६ लाख ३३ हजारमा ठेक्का खुलाएको थियो । जसमा आरके कन्सट्रक्सनले सबै भन्दा बढी कबोल गदै २० लाख २ हजारमा ठेक्का हालेको थियो भने गौरी संकर सप्लायर्सले १६ लाख ३४ हजार मात्र हालेको छ ।

ठेक्का प्रकृयामा सबै भन्दा बढी कबोल गर्नेलाई सम्झौता दिनुपर्ने हुन्छ । साथै ठेक्का सम्झौता नहुन्जेलसम्म पैसा समेत उठाउन पाइदैन । तर प्रत्येक शनिबार यसै बजारबाट कम्तिमा पनि ५० हजार नगद गौरी संकर सप्लायर्सले उठाउने गदै आएको छ ।

ठेक्का सम्झौता बिना नै खनार बजारमा शनिबार आजपनि बिहानै गौरी संकर सप्लायर्सको बिलको नामबाट पैसा उठाउन ५ जना युवा सकृय थिए । सुगुर र पाठाको लागी अत्यन्त राम्रो बजार मानिएको खनारमा पैसा उठाइरहेका युवाहरुलाई सम्झौताको पत्र देखाउन भन्दा पत्र देखाउनन सकेनन् ।

उपमहानगरले तोकिएको मुल्य भन्दा बढी शुल्क समेत उठाउने गरिएको छ । आजै एक जना सुगुर व्यवसयीलाई पैसा उठाउने युवाले कुटपिट समेत गरेका छन् । मनोमानी रुपमा पैसा उठाएको बिषयमा बिरोध गर्दा ति व्यवसायीलाई कुटपिट गरिएको हो ।

ठेक्का सम्झौता बिना अबैध रुपमा पैसा उठाइरहेको बिषयमा खनार प्रहरी चौकीका असई डिल्ली भुजेल जानकार भएपनि मुखदर्शक बनेका छन् । भुजेलका अनुसार खनार हाटमा पैसा उठाएको जानकारी भएपनि कसले ठेक्का पारेको आफुलाई जानकार नभएको बताए । अहिले बजारमा पैसा उठाइरहेका समुहले नै ठेक्का पाएको उनको भनाई छ । तर ठेक्का पाएको अधिकारीक पत्र तपाईसँग छ भन्दा असई भुजेलले त्यो पत्र भने आफुसँग नपाएको बताए ।

इटहरीका १२ र १३ का वडाध्यक्ष समेत यस बिषयमा अनभिज्ञ छन् । १२ नं. का वडाध्यक्ष हेमानन्द दाहालले पनि इटहरी उपमहानगरपालिकाका कर शाखाका प्रमुख अर्जुन सुवेदीले खनारको ठेक्का गौरी संकर सप्लायर्सलाई दिएको फोन मार्फत जानकारी दिएको बताए । तर अधिकारी रुपमा वडालाई पनि पत्र नआएको उनको भनाई छ ।

सेटिङमा ठेक्का दिने योजना

आर्थिक बर्ष ७४-७५ मा उपमहानगरपालिकाले सेटिङ मार्फत अमानतमा खनार ठेक्का लगाएको थियो । जसमा युवराज गौतम नाम गरेकाले सो ठेक्का चलाउदै आएका थिए । अहिलेको आर्थिक बर्षमा पनि गौतम संलग्न भएको गौरी संकर सप्लायर्सलाई नै भित्री सेटिङ माफर्त ठेक्का दिने तयारी भइरहेको छ । जसमा आरके कन्सट्रक्सन सबै भन्दा बढी ठेक्का कबोल गरेको फर्म हो ।

तर कर शाखाका प्रमुख सुवेदीले गौतमलाई च्याप्दै किर्ते गरी आरके कन्सट्रक्सनको सम्झौता पत्रलाई बिभिन्न बहानामा तल बनाउने खेलमा लागेका छन् । सुवेदीले यस अघि अमानतमा युवराज गौतमलाई दिएको ठेक्का मिलाए वापत आर्थिक फाइदा लिएको आरोप छ । सुवेदीले पनि खनार ठेक्काको बिषयमा सम्झौता मुखले मात्र भएको बताउदै आएका छन् तर कागजी रुपमा ठेक्का अहिलेसम्म कसैलाई दिइएको छैन ।

Purbeli TV

तपाईको प्रतिक्रिया