पूर्वको करिब २५० बर्ष पुरानो ब्यापारिक केन्द्र चैनपुर बजारलाई सुर्यबहादुर थापाले यसरी बनाए स्याल कराउने पाखो

संखुवासभा । पौने दुई सय वर्षअघि ललितपुर, नागबहालका चार शाक्य र बगलामुखीका दुई श्रेष्ठ परिवार त्यतिबेला व्यापारको अवसर खोज्दै चैनपुर पुगेका थिए । तामाङबहुल दाप्चा हुँदै चैनपुरसम्मको पदयात्रा तय गर्न उनीहरूलाई २२ दिन लागेको थियो । अरुण लगत्तैको सभाखोला तर्दै चैनपुर पुगेपछि उनीहरूले छाडेर आएको ठाउँको सम्झनामा एउटा ठूलो ढुंगामा लेखेका थिए– ‘हनुमानढोका ७५ कोस’। यसरी ललितपुर र भक्तपुरबाट नेवारको लर्को पछिसम्मै लागिरह्यो । चार जना शाक्य परिवारबाट सुरु भएको त्यो यात्रा चैनपुरका रमाइला दिन जारी रहँदासम्म अस्सी परिवार पुगेको थियो । त्यसैगरी अन्य जातिका नेवारको पनि उपस्थिति बढ्दै गयो ।

चैनपुर परम्परादेखि तिब्बत र भारतको बीचमा व्यापार केन्द्र रहँदै आएको थियो । चैनपुर नाम भने चन्द्रपुरसँग जोडिएको छ । चार सय वर्षअघि नेवारी भाषामा लेखिएको पहिलो स्वस्थानीमा सतिदेवीको दाहिने आँखा चन्द्रपुरमा पतन भएको उल्लेख छ । स्वस्थानीमा उल्लिखित त्यो ठाउँ बजारको शीर्षमा रहेको सिद्धकाली मन्दिर हो भनी स्थानीय बताउँछन । यसरी चन्द्रपुर नै चैनपुर बन्नपुगेको हो । पृथ्वीनारायण शाहको नेपाल एकीकरणभन्दा अघि यो लिम्बू याख्खाको ठाउँ थियो । दसहाङ राजाहरूले यहाँ शासन गरेका थिए । उनीहरूलाई तल विजयपुरका सेन वंशीयहरूको संरक्षण थियो ।

यस्तो अवस्थामा पृथ्वीनारायणको काठमाडौं विजयपछि १८३१ मा अभिमानसिंह बस्नेत र जंगबहादुरका बाजे रामकृष्ण कुँवरको नेतृत्वमा गोर्खाली फौज पूर्वतिर बढेको थियो। उनीहरू अरुण तरे, सेनहरूले स्थापना गरेको देवीलाई मनकामना नाम दिएरै पुजे र पृथ्वीनारायणको आदेशबमोजिम रक्तपात नगरिकनै दसहाङ राजाहरूलाई मिलाए । हाङ राजाले चैनपुरमै उनीहरूको स्वागत गरेका थिए । स्थानीय तवरमा किपट (भूमि व्यवस्था) र ठिंग्रो मुंग्रो (सजाय) को अधिकार आफ्नै हातमा रहँदा दसहाङ राजालाई खासै आपत्ति भएन । यति गरेपछि पृथ्वीनारायणको फौज फर्कियो। लगत्तै तिब्बत र सिक्किमका शासकले यी दसहाङलाई फेरि उचाले । त्यसपछि पृथ्वीनारायणका सैनिक फेरि यहाँ आए । सुरुमा उनीहरूलाई हाङहरुले धपाए। भागेपछि अरुणपारिको हाल भोजपुर फालिकोटमा कोत बनाएर बसे।

यस्तो अवस्थामा अभिमानसिंह बस्नेतका छोरा तथा उतिबेलाका दोस्रा प्रधानमन्त्री अर्थात् मूलकाजी बख्तावरसिंह बस्नेतको नेतृत्वमा थप सेना काठमाडौंबाट आइपुग्यो। गोर्खालीहरूले लिम्बूहरूलाई दुई भागमा वर्गीकरण गरे। एउटा थिए, उनीहरूको प्रभाव स्वीकार्ने ‘समरिति लिम्बू’ र अर्का नस्वीकार्ने ‘नीति लिम्बू’। लडाइँ सुरु भयो। ठूलो रक्तपात मच्चियो। विजय गोर्खालीहरूकै भयो। तिब्बती र सिक्किमेहरूको साथ रहँदारहँदै नीति लिम्बूहरू भाग्न बाध्य भए । यसरी विजय त भयो, तर यसपाला बख्तावर सिंह उनका पिताजस्तै लगत्तै काठमाडौं फर्किएनन्। उत्तर र दक्षिणबीच व्यापार केन्द्रका रूपमा रहेको यो हटियामण्डीलाई उनले आवाद गराउने योजना बुने । त्यसैले, तत्कालीन गोलाबजार भनेकै हाट लाग्ने ठाउँ र एकाध भट्टी मात्र थिए । गोर्खालीहरू भने विस्तारसँगै सहरीकरण गर्थे। पानीका मूल संरक्षण गर्थे, मन्दिर र चौतारा बनाउँथे अनि बजारै पनि बसाल्थे। यस्तो अवस्थामा बख्तावर सिंहले सुन्दर चैनपुरको परिकल्पना गरे।

उनले त्यतिबेलै बनाएको ‘मेजर पाटी’ अहिले पनि चैनपुरको केन्द्रका रूपमा बीच बजारमै उभिएकै छ । नेवार वास्तुकलाको नमूना यो भवन चैनपुरकै सबैभन्दा पुरानो ‘ल्यान्डमार्क’ पनि हो। विजयपछि पनि बख्तावर छ महिनासम्मै यो स्थानमा बसे र ‘मेजरपाटी’ सहित सुन्दर चैनपुर तयार पारे। बख्तेश्वर शिवालय, बखतसुन्दर हिटी र मनराजी बगैंचा पनि बनाए, जसका फलफूल पछिल्लो पुस्तासम्मका चैनपुरेहरूले चाख्न पाएका थिए ।

समुद्री सतहभन्दा करिब १२ सय मिटरमाथि पहाडी ढलोको समानान्तर डाँडामा जुरोजस्तो लमतन्न विस्तार भएको यो बजार हेर्दै मनमोहक देखिन्छ । न जाडोमा धेरै जाडो हुने, न गर्मीमा गर्मी । लिम्बू र फाट्टफुट्ट राईहरू त थिए नै, अरुण पूर्वको यो भूमिमा गोर्खालीहरूसँगै खस पनि भित्रिए । त्यसपछि पृथ्वीनारायण शाहको लालमोहर दिएरै यो परम्परागत केन्द्रमा व्यापार गर्न काठमाडौंका नेवार पठाइए । यो थलोमा नेवारहरू पुग्नु भनेको काठमाडौंकै विस्तार हुनु र स्वयं त्यस ठाउँको व्यापारिक गतिविधिले तीव्रता पाउनु थियो । अर्को अर्थमा, नेवार व्यापारीहरूलाई तत्कालीन गोर्खाली शासकले विश्वास पनि गर्थे। उनीहरूका जात्रा, परम्परा सक्दो फैलियोस् र सबैले हेरून् भन्ने कामना पनि राखेको जानकारहरु बताउँछन ।

वास्तुकलाको अनुपम नमूना झल्किने घरहरु बीचमा झिँगटीले छाएर चुली उठाइएको छानो र छेउमा युरोपेली शैलीको बुट्टेदार फराकिलो बार्दली । त्यसमा लिम्बू शैली र नेवार शैलीको मिश्रण त छ, सँगसँगै उतिबेला दार्जि्लिङतिरबाट ल्याएको प्रभाव प्रस्ट देखिन्छ । यसो भन्दैमा यो लमतन्न उक्लिएको बजारलाई नेवार र लिम्बू घरहरूले कम सिँगारेका छन् भन्न मिल्दैन । सय वर्षभन्दा पहिले बनेका यी घर अहिले पनि यो बाटो भएर उक्लनेहरूलाई उनीहरूका स्वप्नील दिनको कथा सुनाइरहेका छन ।

‘उन्नाइसौं शताब्दी चैनपुरको स्वर्णिम काल हो ‘हावापानी, बसोबास, उत्पादन सबै हिसाबले यो स्वर्गको टुक्रा थियो।’ अरुणपारिबाट सुरु भएको राज्यविस्तार पूर्वमा टिस्टासम्म पुगेपछि त्यो सम्पूर्ण क्षेत्रको केन्द्र नै चैनपुर थियो । ‘अहिले टुँडिखेल भएको ठाउँमै उतिबेलाको जेल थियो, जहाँ सिक्किमदेखिका बन्दी ल्याइन्थे । जेल यहाँ हुनुको अर्थ न्याय निसाफको काम यसै ठाउँमा हुने गर्दथ्यो । निकै पछिसम्म चैनपुर अमाल अन्तर्गत अहिलेको संखुवासभासहित ताप्लेजुङ, इलाम, तेह्रथुम, पाँचथर र धनकुटाका अधिकांश भाग पथ्र्यो । तर, दिन सधैं उस्तै रहेन । राणाकालको सुरुआतबाटै चैनपुरले अलिअलि गरेर प्रहार खेप्न सुरु गर्यो।

सबैभन्दा पहिले त जंगबहादुरले उनका ज्वाइँ गजराजसिंह थापालाई यस भेगको हाकिम बनाएर पठाउँदा चैनपुरसँगै इलामको पनि जिम्मा दिएका थिए । त्यसपछि इलाम बजार बनेको हो । राणाकालमै चैनपुरकै छेउमा अर्को महत्वको स्थान बन्यो धनकुटा । दोस्रो भोटयुद्ध बेला धरानबाट टिप्तावा भञ्ज्याङ (ओलाङचुङगोला) सम्म रसद पठाउन निकै लामो बाटो पर्ने भयो। त्यसैले बीचमा बस्ती चाहियो। १९११ तिर यसरी बनेको बस्तीमा पानीले चल्ने घट्ट राखिएको थियो। धान कुट्ने त्यस घट्टकै कारण यो ठाउँकै नाम धनकुटा बन्न पुग्यो ।

यसरी अरुणपारिको नेपालमा चैनपुरको भूमिका खुम्चिँदै गयो । धनकुटाले तल विजयपुर र माथि चैनपुर दुवैको महत्व आफूतिर तानिदिएको थियो । नेपाल एकीकरण क्रममा चैनपुर आएर टुंगिएको नेवारहरूको यात्रा त्यसपछि अवसरसँगै इलाम र धनकुटा पनि फैलियो।तैपनि चैनपुर आफ्नो सुन्दरतामा रमाएरै बसेको थियो । त्यसरी चैनपुर ओरालो लाग्ने क्रम २०१५ सालपछि भयो । ओरालो लगाउने मानिस भइदिए त्यसपछि नेपालको राजनीतिमा अकन्टक प्रभाव जमाएका सूर्यबहादुर थापा ।

जिल्लाहरूको वर्गीकरण नभएकै समय त्यतिखेर सूर्यबहादुर थापाको घर अर्थात् धनकुटाको मुगा पनि चैनपुर अमालअन्तर्गत नै पर्थ्यो । २०१५ सालमा पहिलो संसदीय निर्वाचन घोषणा भयो। थापा महासभा पार्टीबाट उम्मेदवार भए। उनको चुनाव चिह्न थियो घोडा छाप । चैनपुर केन्द्र हुने नै भयो । मतदान केन्द्र नै यहीँको लामाचौर थियो । उनी भोट माग्न आए । गाउँलेहरूले उनलाई बेवास्ता गरिदि ए। त्यो बेला चैनपुरमा पूरै कांग्रेसको एकछत्र प्रभाव थियो । कतिपय पुराना मानिस त्यो बेला चैनपुरवासीले थापाको हुर्मत लिएका थिए । उनलाई कालोमोसो नै दलिएको थियो । कतिसम्म भने थापालाई चैनपुरेहरूले बाससमेत दिएनन् । थापाले निकै पर त्रिशूलेको ठाँटीगाउँस्थित जब्बरबहादुरको घरमा पुगेर मात्रै बास पाएका थिए । त्यतिबेला सूर्यबहादुर थापाको एउटा भनाइ अहिलेसम्म चैनपुरवासीहरुको मुखमा कण्ठस्थ छ ।

‘म क्षत्रीको छोरो हुँ । कुनै दिन यो देशको महत्वपूर्ण ठाउँमा पुगेँ र शक्ति प्रयोग गर्न पाएँ भने त्यो चैनपुरलाई दिउँसै स्याल कराउने पाखा बनाइदिनेछु । ’ पहिलो झट्का लाग्यो २०१९ सालमा, जब मुलुकलाई ७५ वटा जिल्लामा विभाजन गरियो। जिल्लाको सदरमुकाम त चैनपुरै घोषित गरियो । तर, जुन नामले कुनै समय सिंगो भेग चिनाउँथ्यो, त्यो नाम अब एउटा बजारमा सीमित भइदियो । ‘एउटा खोल्सोजस्तो संखुवाको नाम जोडेर यस जिल्लालाई संखुवासभा नामाकरण गरियो । जबकि, यसैबाट टुक्रिएका वरपरका तेह्रथुम, धनकुटा, ताप्लेजुङ, पाँचथर आदिले परम्परागतै नाम पाए ।

०१९ साल पुस २ गते प्रकाशित गजेटले चैनपुर सदरमुकाम बनेको संखुवासभालाई ‘संखुवा उत्तर, सभा उत्तर, पाँच खपन, पाँच मझिया, मेवाखोलाको पश्चिमी सानो हिस्सा, दस मझियाको भाग’ भनेर उल्लेख गरेको थियो । त्यसलगत्तै २०२२ सालमा सूर्यबहादुर थापा पहिलोपटक मुलुकको प्रधानमन्त्री भए । थापा प्रधानमन्त्री भएको दुई वर्षपछि संखुवासभा जिल्ला त जस्ताको त्यस्तै रहि नै रह्यो, सदरमुकाम भने बिनाकारण चैनपुरबाट सारेर उत्तर पश्चिमतर्फको सानो बजार खाँदबारी पुर्याइयो । भोट युद्धमा खाँडो पखालेको ठाउँ भएकाले ‘खाँडबारी’ बाट खाँदबारी बन्नपुगेको यो ठाउँ उतिबेला चैनपुरसँग तुलनासमेत नहुने गरी धेरै सानो रहयो ।

अब भने चैनपुरको तीव्र पतनलाई कसैले रोक्नसक्ने अवस्था रहेन । सदरमुकाम भइसकेपछि चैनपुरबाटै कतिपय साहु बसाइँ सरेर उता गइदिए । कार्यालयहरू त लगालग चैनपुरबाट बेपत्ता भए नै । यो बजारले एकपछि अर्को प्रहार सहँदै गयो । जतिबेला पूर्वाञ्चलको पहाडी भेगमै क्याम्पस थिएन, त्योबेला अर्थात् २०१७ सालमै यहाँ ‘भोलामान इन्टरमिडिएट कलेज’ खुलेको थियो। खर्च धान्न नसकेरै घिटिघिटिमा चलेको त्यो कलेज २०२६ सालमा बन्दै भइदियो ।

त्यसको ११ वर्षपछि मात्र चैनपुरले सरकारी कलेज पायो । रमाइलो के भने, जिल्लाकै पहिलो त्यस सरकारी कलेजको उद्घाटन गर्न २०३७ सालमा स्वयं प्रधानमन्त्री सूर्यवहादुर थापा नै आए । चैनपुरमा थापाको लगानी त्यही कलेज रहेको स्थानीयवासी सम्झना गर्छन । पछि ०४६ सालमा प्रजातन्त्र आएपछि आफ्नो दलको चुनावी प्रचारमा सूर्यबहादुर थापा फेरि चैनपुर आएका थिए । त्यो बेला पनि थापा कुनै होटलमा बसेनन, कसैको घरमा पनि बस्न मानेनन्। जीर्ण नै भए पनि बख्तावरसिंह बस्नेतले बनाएको मेजरपाटीमै थापा आफ्नो टोलीका साथ बसेको स्थानीय सुनाउँछन्। त्यो एउटा संकेत थियो । सूर्यबहादुर यस्ता संकेतबाट आफूलाई बुझाउँथे । उनलाई स्वागत गर्न क्याम्पससँग सम्बद्ध समूह मेजरपाटीमा पुग्यो। उनीहरूले भेटघाटको प्रारम्भमै गुनासो राखे। ‘तपाईंलाई त चैनपुरको यस्तो हालत गराइदिएको दोष छ नि?’ ‘हो, त्यो मलाई दोष छ,’ थापाले पनि जवाफ दिएछन, ‘सदरमुकाम सार्ने भनेर तलैबाट पास गरेर ल्याएको कुरालाई म प्रधानमन्त्रीको नाताले ओके गरेको हुँ । ’

यसभन्दा बढी थापाले यो विषयमा केही बोलेनन्। डेलिगेसन गएकाहरू चुप भए र कलेजका निम्ति आर्थिक सहयोगको विषयमा मोडिए । ओरालो लागेको मृगलाई बाच्छोले पनि लखेट्छ । सदरमुकाम सरेर गएपछि सुक्दै गएको चैनपुरलाई पछिल्लो र निर्णायक प्रहार माओवादीले गरिदिए । ‘चैनपुरको आजसम्मकै सबैभन्दा ठूलो दुर्भाग्य नै दसवर्षे द्वन्द्वकाल भइदियो,’ स्थानीय भन्छन, ‘फेरि सोझिनै मुश्किल पर्ने गरी माओवादीले यस ठाउँको ढाडै फुस्काइदिए।’ यो अवधिमा यहाँ रहेसहेका सानाठूला व्यापारीदेखि बुद्धिजीवी, समाजसेवी सबैलाई माओवादीले डाँडा कटाइदिए। कुनै समय पूर्वी नेपालकै व्यापक भू–भागको केन्द्रका रूपमा रहेको सम्पन्न बजार जतिबेला प्रहरी नायब निरिक्षक (सइ) को नेतृत्वमा थियो, माओवादीलाई प्रहार गर्न यति सजिलो र प्राप्त गर्न यति धेरै लाभ अन्यत्र कतै थिएन । मुलुकका सुगम भेगमा समेत शिक्षा नपुगेको बेला स्कुल (१९९४ साल) र कलेज (२०१७ साल) खोलिदिने शेरबहादुर र भोलामान साहुहरूका सन्तानजति सबै भाग्न बाध्य भए । माओवादीले उनीहरूका घरै कब्जामा लिइदिए।

शेरबहादुरको घर अहिले पनि विप्लव माओवादीको कब्जामा छ । गाउँलेहरूका अनुसार त्यो घर भाडामा लगाएर महिनाको पाँच हजार रुपैयाँ अहिले पनि विप्लव माओवादीले उठाउँदै आएका छन्। यो त्यही सुन्दर घर हो, जसको तस्बिर टोनी हागनले खिचेर आफ्नो पुस्तकमा राखेका थिए। बाँकीको नेपाल निम्ति माओवादीले हत्या गरेका कृष्णमोहन श्रेष्ठ सशस्त्र प्रहरीका पूर्व आइजिपी मात्र हुन्। चैनपुरवासी भने उनको सन्दर्भ आउनेबित्तिकै आँखा रसिलो पार्छन्। यहाँको समाजमा त्यो परिवारको योगदान मात्र होइन, प्रहरीमा जानुअघि गाउँभरिका निम्ति कृष्णमोहन हाइस्कुल हेडमास्टरका रूपमा प्रिय थिए ।

‘ओहोदामा त अरू पनि पुगे,’ गाउँले सम्झना गर्छन, ‘चैनपुरको निम्ति केही माग्नेबित्तिकै तुरुन्त काम गराइदिने कृष्णमोहनजत्तिको भावना अरूमा थिएन ।’ अहिले पनि शाक्यटोलबाट थोरै माथि उक्लेपछि माथ्लोबजार नपुग्दै कृष्णमोहन श्रेष्ठको माओवादीले भत्काइदिएको घर बाटैमा देब्रेतिर पर्छ। माटोको ढिस्को बनेको त्यस स्थानलाई श्रेष्ठ परिवारले आजसम्म चलाउँदै नचलाएर जस्ताको त्यस्तै छाडिदिएका छन् । कुनैबेलाको जल्दोबल्दो र पछिल्लो समयको लगातार यो अभागी बजारमा यस्ता धेरै मन रुने सन्दर्भ र दृश्य जोडिएका देखिन्छन् ।

पुर्वी पहाडी जिल्ला संखुवासभा,त्यहि जिल्लामा पर्ने पुरानो अनि चर्चित बजार चैनपुर जुन शहर अहिले फुरुङग उडेको छ । करुवाको लागी लोकप्रिय सो ठाँउ अहिले खासै करुवाको नामले चिनिदैन । पुरानो पेशा धेरैले परिबर्तन गरिसकेका छन । तरपनि त्याँहा पुग्दा धेरै घरहरुमा करुवा भेटिन्छन ।
थेरै मात्रामा करुवा बनाईएपनि चैनपुरको ईतिहास थामेर केहीले पेशालाई निरन्तरता दिईरहेका छन । नेपाल एकीकरणसँगै सर्दै गएका खस अर्थात् बाहुन, क्षत्री र दलितहरू त सबै गाउँमा हुने नै भए । व्यापार चल्ने यो बाटोभरि धागो तानेजस्तो सबैभन्दा अटुट बसोबास भने उतिबेला काठमाडौंबाट फैलिँदै गएका नेवारको थियो । तिनै नेवारहरुले चैनपुरलाई करुवाको शहर बनाए र सिंगारेका थिए । तर आजभोलि चैनपुर बेरुप बन्दै गएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया