‘संवेग’ कथा सङ्ग्रह भित्रको भ्रमण

विधा: कथासङ्ग्रह
कथाकार: रीता ताम्राकार
प्रकाशक: डिकुरा पब्लिकेसन
पृष्ठ: 207
मूल्य: रु. 350/-

जुनसुकै घटना हुँदा, त्यो घटनाले कुनै न कुनै इतिहास बनाएर जान्छ। ती इतिहासमध्ये केहीँले शब्द र वाक्यमा आफ्नो बास पाउँछन्। ती घटना सामाजिक, असामाजिक, धार्मिक, भौगोलिक, दार्शनिक, ऐतिहासिक, लैङ्गिक, राजनीतिक, निश्चित, अनिश्चित आदि इत्यादिमध्ये जुनसुकै हुनसक्छन्। हो, तिनै विविध विषयका घटनाहरुलाई जब कुनै कथाकारले शब्द र वाक्यको रुप दिन्छन्, तब ती घटना, इतिहासबाट कथा बनिदिन्छन्। जुन कथा सधैँसधैँ जीवित रहन्छ। जुन कथा पढेर पाठकले आफ्नो मनमस्तिष्कमा फेरिपनि एउटा छुट्टै कथाको सिर्जना गर्छन्, आफ्नैनिम्ति। अर्थात्, कथाले कथा जन्माउदो रहेछ।

कथाले फगत आमपाठकलाई रमाइलो अनुभूति गराउँदैनन्। मनोरञ्जनको साथसाथै कथाले समाजसुधारको कार्यलाई पनि गति दिदोरहेछ। अर्थात्, कथाले समाजमा भइरहेका असामाजिक क्रियाकलाप, अनैतिक गतिविधि, रुढिवादी परम्परा, कुसंस्कृति, अवैध क्रियाकलाप आदि आदिमाथि अप्रत्यक्ष प्रहार गर्दछ र समाजमा बसोबास गरिरहेका जनमानसमा ज्ञानको आलोक छरेर समाजलाई विकास र समृद्धिको मार्गमा अगाडि बढाउँन उल्लेखनीय भूमिका खेल्दछ। त्यसैगरि इटहरीमा बसेर समाजका विभिन्न आयामहरुलाई समेटि कथा लेखेर कथाकार रीता ताम्राकारले समाजमा ज्ञानको इन्द्रेणी वर्षाइरहेकी छिन्। कथाको माध्यमले समाजलाई सुधारिरहेकी छिन्। त्यसैले उनलाई एक समाजसुधारकको रुपमा पनि देख्न सकिन्छ। कथाकारको साथसाथै उनी एक चर्चित मुक्तककार पनि हुन्।

कथाकार रीता ताम्राकारको भर्खरै प्रकाशित कथासङ्ग्रह- संवेग हो। यो कृतिको प्रथम संस्करण 2074, चैत्रमा आएको हो। अर्पिता शाक्यको आवरण चित्र रहेको यस कथासङ्ग्रहका सम्पादक दिनेश पौडेल हुन्। कथाकार ताम्राकारले यस कथासङ्ग्रह आफ्नी आमालाई समर्पण गरेकी छिन्। यो कथासङ्ग्रहभन्दा अगाडि उनको दुईवटा कथासङ्ग्रह- ‘तुषारापात’ (2061) र ‘दृश्य परिदृश्य’ (2073) प्रकाशित भइसकेका छन्। उनको पहिलो दुईवटा कथासङ्ग्रहले उनलाई नारीवादी कथाकारको रुपमा चिनाइएको थियो। तर ‘संवेग’ ले उनलाई नारीवादी कथाकारबाट सामाजिक यथार्थवादी कथाकारको रुपमा परिणत गरिदियो।

कथाकार: रीता ताम्राकार

संवेगमा एक्काइसवटा कथाहरू समावेश गरिएका छन्। सामाजिक असमानता, विभेद, छुद्र कुसंस्कृति, हिंसा, आलोचना, प्रतिकार, नारीमाथिको अपहेलना, पुरुषमाथि आइपरेका विभिन्न सङ्घर्ष, कुपरम्परा, खराब रीतिरिवाज आदि इत्यादि विरुद्धका कथाहरु रहेका छन् संवेगमा। सामाजिक यथार्थवादी कथाकार रीता ताम्राकारले यस्ता कथा लेखेर समाजलाई पारदर्शी बनाउने प्रयत्न गरेकी छन्। संवेगको पहिलो कथा ‘देवी’ शीर्षकको रहेको छ भने अन्तिम कथा ‘बाफिलो मौनता’ शीर्षकको रहेको छ। संवेगको आवरणमा एउटी महिला र एउटा घडी (समय) चित्राङ्कन गरिएको छ। यस आवरणबाट ती चित्राङ्कन गरिएकी महिला आफ्नो बितिसकेको समयप्रति एकदमै दु:खी छिन् र विगतमा भएका घटनाहरूलाई सम्झिरहेकी छिन् भनेर बुझ्न सकिन्छ।

‘संवेग’ कथासङ्ग्रहको ‘देवी’ शीर्षक कथा एक सामाजिक यथार्थवादी कथा हो। यो कथामा मुख्य पात्र ‘रञ्जू’ माथि मौका छोपेर एकजना बास बस्न आएका अज्ञात मान्छेले नराम्रो व्यवहार र शोषण गर्न खोज्छ। अपाङ्क भएकी आमाले रिसको झोकमा आएर त्यस मान्छेको आग्लोले टाउको फुटाइदिन्छिन्। पछि ती आमालाई पुलिसले पुलिसचौकी लान्छन् र उनीमाथि अन्याय गर्न खोजिन्छ। तथापि अन्तत: सत्यको नै विजय हुन्छ। एउटी आमाले आफ्ना छोराछोरीलाई भीख मागेर भएपनि खुवाउँछिन् भन्ने परम यथार्थलाई यस कथामा चरितार्थ पारिएको छ। एउटी आमाको ममता र योगदानको कदर गर्दै उनलाई ‘देवी’ नै भनिएको छ। सम्झिएको छ।

‘आउट पास’ शीर्षक कथामा आफ्नो देशप्रतिको माया र सद्भभावलाई प्रस्तुत गरिएको छ। विदेशिएकाहरु आफ्नो घर/देश फर्कन आतुर भएको कथामा देखाइएको छ। विदेशमा भोग्नुपरेका अथाह पीडा, असहजपन, कष्ट, सङ्घर्ष आदिलाई उतारिएको यो कथामा राष्ट्रप्रेमको असीम भावना प्रस्तुत गरिएको छ। ‘चोरिएको निद्रा’ शीर्षक कथामा बूढा भएपछि आफ्नै छोराबुहारीहरुले बुबाआमामाथि कुदृष्टिले देख्दछन् र अलग भएर बाँच्न चाहन्छ्न भन्ने तीतो यथार्थलाई देखाइएको छ। पत्नीको निधनपछि बूढा बुबालाई एक्लै आफ्नो जीवन कष्टपूर्णसाथ बिताउनुपर्ने कुरोलाई कथामा उद्धृत गरिएको छ।

एउटा निम्नवर्गीय परिवारको कथा हो- ‘धनेश्वरकी साहिँली’ शीर्षक कथा जसलाई ऋणको कारणले आफ्नै घरबाट निस्किनुपर्ने हुन्छ। जुन घर धनेश्वरले स्वयम् बनाएको हुन्छ, त्यै घरमा उसले पछि बास बस्न पाउँदैन। दु:ख र सङ्घर्षले आर्जन गरेको घर र सम्पत्ति, पछि सबै धनेश्वरको हातबाट चिप्लिन्छ। ‘कार्की बाको मुस्कान’ शीर्षक कथामा नाकाबन्दी र नेपाल बन्दका विविध दृश्यहरु चित्राङ्कन गरिएको छ। यो कथामा एउटा मधेसी परिवार जो परोपकारी र सामाजिक भावनायुक्त हुन्छ, उसलाई नै मधेसीहरुले नाकाबन्दी गरेका हुन् भनेर सबै छरछिमेकले हेप्न थाल्छन्। एकता र राष्ट्रियताको भावना प्रस्तुत गरिएको यो कथामा नेपाल विभिन्न जातिहरूको साझा फूलबारी हो भन्ने कुरालाई चरितार्थ पारेको छ। ‘सोह्र सोमवार’ शीर्षक कथाले समाजमा कुशल चेतना फैलाएको देखिन्छ। यस कथामा जातीय असमानता र वर्गीय विभेदको कुरोलाई उठाइएको छ जसविरुद्ध कथाकारले आवाज उठाएकी छिन्। नारीको आँट र साहसलाई मूल्याङ्कन गरिएको छ यो कथामा। ‘अकल्पनीय दृश्य’ शीर्षक कथा एक पारिवारिक कथा हो जसमा ‘शिशिर’ भन्ने पात्र आफ्नो परिवारको किचकिच सहन नसकेर सबैकुरा त्याग गरि घरबाट निस्कन्छ। ऊ जोगी बन्छ र सांसारिक माया बिर्सन खोज्छ। ‘उद्वेलित संवेग’ शीर्षक कथामा यथार्थलाई पर राखेर कल्पनालाई प्रस्तुत गरिएको छ। हजुरबाले एउटा सपनामा आफूलाई खराब पात्रको रुपमा देख्छन् जहाँ उनी आफ्ना छोराछोरी सबैसँग रिसाउछन् तर पछि आँखा खोल्दा उनलाई ग्लानि हुन्छ र उनी सबैलाई माया गर्न थाल्छन्।

‘चोटका टाटाहरु’ शीर्षक कथा पनि एक सामाजिक कथा हो जसमा ‘राधा’ भन्ने पात्रको मनमा अन्धविश्वासको पुष्प फुल्न थाल्छ। उनी सबैलाई समाजका सबैजनालाई बोक्सीको आरोप गराउँन थाल्छिन् र त्यो घर समाजबाट अलग हुन्छ। राधाको पतिको मृत्युमा साथसाथै त्यसपछिका कार्यहरुमा समाजका कोहीँ पनि सदस्य आउँदैनन्। त्यसपछि राधालाई पश्चात्ताप हुन्छ। ‘अनुत्तरित प्रश्न’ शीर्षक कथामा एउटा प्रश्न सदाको निम्ति अनुत्तरित हुन्छ। यो एउटा प्रेमिल कथा हो। यो कथामा समाजमा एकदमै फरक पहिचान बोकेका मानिसहरुलाई देखाइएको छ। कथाका पात्र ‘अवतार’ लाई केटी भएर पनि परिवारले केटो बनाउँछ। अर्को पात्र ‘सम्मिश्रण’ मा भने महिला र पुरुप दुवैको मिश्रण हुन्छ। यी दुवैजना एकआपसलाई प्रेम गर्न थाल्छन्। यो कथामा त्यस्ता फरक शारीरिक बनोट भएका मानिसहरुको अस्तित्वको निम्ति प्रश्न गरिएको छ।

‘स्मृतिका डोबहरु’ शीर्षक कथा पनि एक सामाजिक कथा हो जसमा पात्र ‘रामेश्वर’ ले आफ्नी पत्नीको सुन्दरता गायब हुन्छ भनेर बच्चा जन्माउँन दिदैनन्। पछि उल्टै, पत्नीको चरित्रमाथि शङ्का गर्छन्। अन्तत: ती पत्नी र तिनका छोराछोरीहरुले नै उनलाई सेवा गर्छन्, जब उनी अस्पतालको शैयामा हुन्छन्। त्यसपछि रामेश्वरलाई आत्मग्लानि हुन्छ। ‘बिथोलिएको मन’ शीर्षक कथामा एक बुबाले आफ्नी स्वास्नी र छोराछोरीका निम्ति भ्रष्टाचार गर्छन्। पछि उनै स्वास्नी र छोरोले ती बुबालाई अपहेलना गर्न थाल्छन्। यो कुरो सहन नसकेर उनी आफ्नो घरबाट निस्कन खोज्छन्। ‘सधैँझैँ आज पनि’ शीर्षक कथामा रुढिवादी सोचविरुद्ध कलम चलाइएको छ। छोरो पाउने आशमा एउटी महिलाले आठ-आठवटा छोरी जन्माउँछिन् तथापि उनको लोग्नेले अझै छोरोको आश गर्छन्। एक त गरिब परिवार त्यसमाथि ती महिलाको शरीर निकै कमजोर हुन्छ। उनको पतिलाई जति सम्झाउँदा पनि उनी सम्झिदैनन्। बस् छोरोको सपना देखिरहन्छन्।

एउटी पत्नी आफ्नो इच्छा र चाहना पूरा गर्न कति हदसम्म गिर्न सक्छिन् र त्यसले घरका अरु सदस्यहरुलाई कति सम्म प्रतिकूल असर पार्नसक्छ भन्ने कुरो ‘अढाई लाखको चेक’ शीर्षक कथामा प्रस्तुत गरिएको छ। ‘शङ्काको किनारा छैन’ शीर्षक कथामा- शङ्काले लङ्का जलाउँछ भन्ने कथनलाई पुष्टि गरिएको छ। ‘विवशता’ शीर्षक कथामा आधुनिकीकरणको उच्चतम् दृश्यलाई र त्यसले पार्ने नकरात्मक असरलाई चित्राङ्कन गरिएको छ। कथाकार रीता ताम्राकारले ‘गिद्धेभोज’ शीर्षक कथामा अंशबन्डालाई गिद्धेभोज भनेर ठम्याएकी छिन्। ‘तृषित मन’ शीर्षक कथा दु:ख, कष्ट र सङ्घर्षको कथा हो जुसमा एउटा बालिका आफ्नै काकीबाट हेपिन्छे। पछि ती बालिकालाई बालबालिका संरक्षण केन्द्रमा राखिन्छ ताकि ऊ स्वतन्त्र भएर अर्थात् मावन भएर बाँच्न सकोस्। ‘हठ’ शीर्षक कथा पनि एउटा पारिवारिक कथा हो जसमा पति र पत्नीबीच भएका असमझदारी र झगडालाई प्रस्तुत गरिएको हो साथसाथै त्यसले पारेको प्रतिकूल असर पनि।

समयले मानिसको आचरण र मनोभावना कसरी परिवर्तन गर्दोरहेछ भन्ने कुरोलाई ‘समयको गति’ शीर्षक कथामा देखाइएको छ। हामी मानिसले समयअनुसार चल्नु नै हाम्रो परम कर्तव्य हो। ‘बाफिलो मौनता’ शीर्षक कथामा देशमा चलिरहेको राजनीतिक गतिविधि र त्यसले विभिन्न क्षेत्रमा पार्ने हानिलाई प्रस्तुत गरिएको छ। यो कथामा देशको वास्तविक रुप देखाइएको छ। देशको बिग्रदो शैक्षिक स्थिति, सीपयुक्त युवाहरुको विदेश पलायन, देशमा बेरोजगारपन आदि आदि इत्यादि कुरालाई यो कथामा उद्धृत गरिएको छ।

माया ठकुरीले रीता ताम्राकारको कथासङ्ग्रह ‘संवेग’ लाई शुभकामना दिदै -“यो तेस्रो सङ्ग्रहमा उनले समाजका विद्रुपता, अन्धविश्वास, विदेशिएका युवा पुस्ताका व्यथा र पुरुषहरुको भोगाइलाई अझैँ सशक्त ढङ्गबाट उत्खनन् गर्दै उनलाई लगाइएको नारीवादी कथाकारको छविलाई छायामा पार्दै आफूलाई सामाजिक यथार्थवादी कथाकारको रुपमा दह्रोसँग उभ्याउन सफल भएकी छिन्।” भनेर भनेकी छिन्। भागिरथि श्रेष्ठले- “नारी विद्रोह र नारी संवाहक चेतनाको गहन चिन्तन लिएर समाजमा विद्यमान सङ्किर्णता, विकृति र विसङ्गतिलाई ललकार्दै समाजका उत्पीडित वर्गका समस्या र पीडालाई विद्रोह गर्न तम्सेका यी कथाहरु चोटिला, सुन्दर र मार्मिक बनेका छन्।” भनेर आफ्ना शब्द राखेका छन्। कथाकार रीता ताम्राकारले आफ्नो कृति ‘संवेग’ माथि यसरी कुरो राखेकी छिन्- “आल्हादित उमङ्गितभन्दा रुग्ण, भग्न, घायल, व्यथित मनहरु समय र परिस्थितिले जबजब मेरो अन्तर्मनलाई घोचे, चिमोटे, झकझकाए। त्यससमय म पनि उनीहरुसँगै दुखेँ। दुखाइको पीडामा मनमा विविध भाव तरङ्ग उर्लन्छन्। त्यसैलाई शब्दमा उन्दै, बुन्दै कथाको स्वरुप दिने प्रयासमा आज तेस्रो कथासङ्ग्रहसम्म आइपुगेकी छु। हर्षित छु साथमा भावुक छु। यस अर्थमा कि, पुस्तकसँग मेरो सङ्घर्षको पनि बेग्लै कथा छ।”

यहीँ असार-28 गते कथाकार रीता ताम्राकारलाई नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौंमा गुञ्जन साहित्यिक संस्थाले उनको कथाकारिताको उच्च मूल्याङ्कन गर्दै ‘गुञ्जन प्रतिभा पुरस्कार (2074)’ प्रदान गरिएको थियो भने असार-29 मा उनलाई विराटनगरमा ‘षडानन्द पुरस्कार’ प्रदान गरिएको थियो।

Purbeli TV

तपाईको प्रतिक्रिया