राजधानीकै नगरपालिकामा गाँजाखेती

काठमाडौँ / शंकरापुर नगरपालिका वडा नं ३ स्थित ३० रोपनी जग्गामा रोपिएको गाँजाका बिरुवा नष्ट गरिएको छ । नगरपालिकाको सक्रियतामा प्रहरी वृत्त बौद्धका प्रमुख श्यामकुमार राईको नेतृत्वमा गएको टोलीले गाँजाखेती नष्ट गरेको नगर प्रमुख सुवर्ण श्रेष्ठले आज जानकारी दिनुभयो । गाँजाका बिरुवा नष्ट गर्न विद्यार्थी, प्रहरीलगायत समाजका प्रबुद्ध व्यक्ति गरी ३०० भन्दा बढी व्यक्ति सहभागी थिए । नगरपालिकाको दुर्गम स्थानमा गाँजाखेती गरिएको उहाँले बताउनुभयो ।

नगरपालिकाको वडा नं १, २, ३, ४, ५ र ८ मा गाँजाखेती गरिएको थियो । दुव्र्यसनले धेरै व्यक्तिको जीवन बरबाद गरेकाले नागरिकको जीवन सुधार्न गाँजाखेती नष्ट गरिएको नगरपालिकाले जनाएको छ । अरु वडामा भइरहेको गाँजाखेती पनि क्रमशः नष्ट गरिने जनाइएको छ ।

नागरिक सहकार्यमा सुरक्षा

स्थानीयस्तरका सुरक्षा समस्या नागरिक छलफलबाटै समाधान गर्ने उद्देश्यले सुनुवाइ शुरु गरिएको छ । ‘शान्ति सुरक्षा र सुशासन मैत्री प्रहरी एवं प्रशासन’ भन्ने नाराका साथ टोलटोलमा प्रहरी अभियान सञ्चालन गर्ने क्रममा शंकरापुर नगरपालिका तथा कागेश्वरी मनोहरा नगरपालिकाका केही वडालाई समेटेर आज साँखुमा कार्यक्रम गरियो ।

महानगरीय प्रहरी वृत्त बौद्ध, प्रहरी प्रभाग साँखु र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक सेवा केन्द्र साँखुले आयोजना गरेको कार्यक्रममा नगर प्रमुख श्रेष्ठले सुरक्षा निकाय र जनताबीच सहकार्य गरेर शान्ति सुरक्षा कायम गर्न सकिने बताउनुभयो । प्रहरी वृत्त बौद्धका प्रमुख राईले बालुवाको चोरी निकासीमा प्रहरीको संलग्नता देखिए सिधा आफूलाई खबर गर्न अनुरोध गर्नुभयो । बालुवाको रसिद नगरपालिकाले वितरण गरी चोरी निकासी हुँदा प्रहरीलाई दोष लगाइएकाप्रति उहाँले आपत्ति जनाउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका नगर सभापति राजुभाइ मानन्धर, नेकपाका प्रतिनिधि कृष्णराज सुवेदी, राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर सभापति गोविन्दप्रसाद श्रेष्ठ, प्रहरी प्रभाग साँखुकी इञ्चार्ज लक्ष्मी पाण्डे खनाल, सामुदायिक सेवा केन्द्र साँखुका अध्यक्ष एलपी श्रेष्ठलगायतले समाजमा अमनचयन कायम गर्न नागरिक प्रहरीबीच सहकार्यको निरन्तरतामा जोड दिनुभयो ।

Purbeli TV

तपाईको प्रतिक्रिया