झापामा एकै घरका तीन दाजुभाईले तीन दिदी वहिनी भित्र्याए

बिर्तामोड / भनिन्छ जन्म, मृत्यु र विवाह पूर्वजन्ममा निर्धारित हून्छ । त्यसमा पनि विवाह त देखेकाले हुँदैन लेखेकै हुनुपर्छ भन्ने मान्यता छ । तर, कस्तो संयोग ! इरौटार–८ इलाम निवासी भवनसिंह पङ्धाकका तीन भाइ छोराले धनकुटा हात्तीखर्क–१ निवासी बलबहादुर लिम्बूका तीन बहिनी छोरी नै विवाह गरेर बुहारी बनाउँदै भित्र्याए । त्यसमा पनि क्रम मिलाएर जेठा छोरालाई जेठी, माइलालाई माइली र कान्छालाई साइँली विवाह गर्दै बुहारी बनाए ।

भवनसिंहले आफ्ना जेठा छोरा धनबहादुर पङ्धाकसंग बलबहादुरकी जेठी छोरी दुर्गादेवीलाई मागेरै लिम्बू परम्परा अनुसार विवाह गरेका हुन् । उनीहरुको विवाह २०५९ सालमा भएको थियो । त्यसपछि माइला छोरा वीर्खवहादुरसंग बलबहादुरकी माइली छोरी चन्द्रमायाको र कान्छा छोरा खड्गबहादुरसँग बलबहादुरकी साइँली छोरी कुमारीसँग विवाह भएको थियो । भवनसिंहका कान्छा छोराले कुमारीसंग प्रेम विवाह गरे भने माइला छोरा वीर्खवहादुरले चन्द्रमाया लिम्बूलाई मागेरै सामाजिक परम्परा अनुसार विवाह गरेका हुन् । विवाह पछि पनि उनीहरुको परिवार अझैं संयुक्त छ ।

कसको विवाह कसरी भयो ?

२०४९ सालमा धनबहादुर पङ्धाकको विवाह दुर्गादेवीसँग भएपछि अन्य दुई भाइले समेत बलबहादुर लिम्बूकी छोरी नै भित्र्याए । त्यसमा पनि क्रम मिलाएरै । दाजुको ससुराली जाँदा सोल्टिनीसँग हासखेल गर्दागर्दै पङ्धाकका कान्छा भाइ खड्गबहादुरले कुमारीसँग २०६२ सालमा प्रेम विवाह गरे । त्यसपछि परिवारकै सल्लाहमा उनका माइला भाइ बीर्खबहादुरले ससुरा बलबहादुरसँग साली चन्द्रमाया लिम्बूको हात माग्दै सामाजिक परम्परा अनुसार २०६४ सालमा विवाह गरे ।

पन्धाक परिवारमा आफ्ना छोरी रिझाएर बसेको देखेपछि बलबहादुरले समेत पङ्धाक परिवारबाटै बुहारी भित्र्याए । आफ्नो एक मात्र छोरा तोपबहादुर लिम्बूलाई धनवहादुरकी काका तुकवहादुर पङ्धाककी छोरी चन्द्रा लिम्बूसँग विवाह गर्दै सम्बन्धलाई अझ बलियो र दोहोरो बनाए । दोहोरो सम्बन्धका कारण पङ्धाक परिवार र लिम्बू परिवार अहिले एक ढिक्का छन् । उनीहरुको परिवारमा न कलह छ, न त झैं–झगडा नै । बलबहादुरका छ छोरीमध्ये तीन छोरी पङ्धाक परिवारलाई नै वुहारी बनाएर भित्र्याएपछि समुरालीपनि आफूहरुसंग खुशी रहेको पङ्धाकले बताए ।

को हुन् धनबहादुर

वैदेशिक रोजगार व्यवसायी प्रतिनिधि एजेन्ट संघ झापा शाखाका अध्यक्ष हुन् उनी । २०६० सालबाट मेनपावर व्यवसाय सञ्चालन गर्दै आएका उनले अहिले सो संघको नेतृत्व गरिरहेका छन् । धनकुटा वहुमुखी क्याम्पसबाट अंग्रेजी विषयमा स्नातकसम्मको अध्ययन गरेका उनी भवनसिंह र स्व. सुकमती लिम्बूका जेठा छोरा हुन् । २०५९ सालबाट ग्वालडुव्वा माविमा उनले शिक्षकको रुपमा सेवा समेत गरे । विद्यार्थी जीवनबाटै राजनीतिमा चासो राख्ने भएकाले उनले त्यहाँ चार वर्षसम्ममात्र शिक्षण पेशामा आवद्ध भए ।

२०३६ साल माघ २४ गते जन्मिएका पङ्धाकले विद्यार्थी जीवनमै डा. गोपाल गुरुङले लेखेको पुस्तक ‘राजनीतिमा अदेखा सोचाई’ पढेपछि उनी राजनीतिमा अझ नजिकिए । सोही क्रममा उनले मंगोल नेशनल अर्गनाइजेशनको विद्यार्थी संगठनमा अध्यक्षको भूमिका निर्वाह गर्दै राजनीतिक यात्रा प्रारम्भ गरे । पछि २०६२÷०६३को जनआन्दोलनका क्रममा संघीय लिम्बुवान राज्य परिषद्को सदस्य हुँदै उनी अहिले सोही पार्टी संघीय लिम्वुवान मञ्च नेपालको जिल्ला अध्यक्ष छन् । उनले २०७० सालबाट सो पार्टीको नेतृत्व गरिरहेका छन् ।

२०६० सालबाट मेनपावर व्यवसाय शुरु गरेका उनले हाल ट्रष्ट नेपाल सञ्चालन गरिरहेका छन् । शुरुमा उनले वीएम ओभरसिज, पङ्धाक ओभरसिज, वेव मेनपावर सञ्चालन गरे । उनले सञ्चालन गरेको वीएम र वेव मेनपावर बन्द छ भने पङ्धाक र ट्रष्ट नेपाल उनी अझै सञ्चालन गरिरहेका छन् । १० हजार रुपैयाँ लगानी गरेर मेनपावर व्यवसाय शुरु गरेका उनले अन्ततः सरकारी जागिर छाडेर मेनपावरलाई नै रोजे ।

चलचित्र पनि बनाए पङ्धाकले

नेपाली राजनीतिको परिदृश्यलाई एकीकृत गर्दै उनले नेपाली कथानक चलचित्र ‘म हँु राष्ट्रको भूमिपुत्र’ नामक चलचित्र निर्माण गरे । उनले लिम्बुवान आन्दोलनका क्रममा देखिएको घटनाक्रमलाई समेट्दै मायाप्रेममा आधारित देशभक्ति चलचित्र निर्माण गरे । सो चलचित्र उनले २०७२ सालमा तयार पार्दै रिलिज समेत गरे । सो चलचित्रमा उनले क्याम्पस प्रमुखको भूमिका समेत निर्वाह गरेका छन् ।

श्रीमती पनि मेनपावर व्यवसायी

मेनपावर व्यवसायमा पङ्धाक मात्र होइन उनकी श्रीमती दुर्गा पनि संलग्न छिन् । उनले पनि खाँदै गरेको जागिर छाडेर मेनपावर व्यवसाय शुरु गरेकी हुन् । शान्ति निकेतन आवासीय विद्यालयमा २०६१ सालवाट शिक्षक पदमा नियुक्त भई उनले चार वर्षसम्म काम गरिन् । अन्ततः उनले पनि शिक्षकको जागिर छाड्दै श्रीमानकै पेशा रोजिन् र मेनपावर व्यवसायमा आवद्ध भइन् ।

बिर्तामोडलाई स्थायी बसोबास बनाएको पङ्धाक परिवार मेनपावर व्यवसायमा आवद्धता जनाएसँगै दुर्गाले पनि प्रयास रि–इम्प्लोइमेन्ट कन्स्लटेन्सी प्रालि सञ्चालन गरिन् । उनले अहिले पनि सोही मेनपावर सञ्चालन गरिरहेकी छिन् । २०३८ साल भदौ २९ गते जन्मिएकी दुर्गादेवी अहिले पङ्धाकसँगै प्रतिस्पर्धामा मेनपावर व्यवसाय सञ्चालन गरिरहेकी छिन् । उनी जिल्लाकै राम्रो मेनपावर व्यवसायीका रुपमा परिचित छिन् । उनीहरुका दुई छोराछोरी छन् । पङ्धाकका जेठो छोरा ऋजन १५ वर्षका छन् भने छोरी खुशी ८ वर्षकी छिन् ।

को हुन् बीर्खबहादुर ?

बीर्खबहादुर पनि मेनपावर व्यवसायी नै हुन् । उनी भवनसिंहका माइँला छोरा हुन् । २०३८ साल भदौ २९ गते जन्मिएका उनले शुरुमा शिक्षण पेशामा समेत आबद्धता जनाए । तर, शिक्षण पेशाबाट सन्तुष्ट नभएपछि उनले मदरल्याण्ड ओभरसिज सञ्चालन गरे । मेनपावर व्यवसाय उनले झण्डै दश वर्षसम्म सञ्चालन गरे । सोही क्रममा मलेसियाबाट राम्रो कामको अवसर आएपछि उनी मेनपावर व्यवसाय छाडेर वैदेशिक रोजगारीका लागि मलेसिया गए । एक वर्षअघि मलेसिया पुगेका बीर्खबहादुरकी श्रीमती चन्द्रमाया गृहिणी हुन् भने उनीहरुका एक सन्तान रहेका छन् ।

को हुन् खड्गबहादुर ?

भवनसिंहका कान्छा छोरा खड्गबहादुर अहिले नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य हुन् । बानेश्वर क्याम्पसमा पढ्दापढ्दै नेविसंघमा आबद्ध भएका उनी अहिले नेविसंघका केन्द्रीय सदस्य छन् । धनकुटा हात्तीखर्क–१ निवासी बलबहादुर र धनमाया लिम्बूकी साहिली छोरी कुमारी लिम्बूसँग विवाह गरेका उनका हाल दुई सन्तान छन् । २०४२ साल भदौ १० गते जन्मिएका खड्गबहादुर स्नातकोत्तर गरिरहेका छन् । उनी हाल काठमाडौं बसेर विद्यार्थी संगठनको राजनीतिसँगै अध्ययन गरिरहेका छन् । उनकी श्रीमती कुमारी गृहिणी छन् ।

Purbeli TV

खोज र समसामयिक बिषयमा कलम चलाउनुहुने भण्डारी पूर्वेली न्युजका झापा सहकर्मी हुनुहुन्छ ।

सुरेन्द्र भण्डारीबाट थप

जिममा महिला क्रेज

झापामा एकै घरका तीन दाजुभाईले तीन दिदी वहिनी भित्र्याए

दुर्घटना न्यूनीकरणका लागि ट्राफिककाे नयाँ अभियान : पूर्वका सडकमा चल्यो राडरगन

गाउँपालिका अध्यक्षले विद्यालयको शौचालय सफा गर्न थालेपछि जिल्लाभर चर्चा

इलाममा ८३ वर्षीया वृद्धाको बलात्कारपछि काटियो जिव्रो , उपचारमा समस्या

शहीद परिवार सरकारी सेवाबाट बञ्चित

झापा सुन व्यवसायी साजनको हत्यामा सम्लग्न थप दुई पक्राउ

विद्यार्थीकै भरमा स्वास्थ्य चौकी (भिडियाे सहित)

नगरप्रमुखको दादागीरि : न्याय माग्न जाँदा उल्टै कुटाई (भिडियाे सहित)

गुणस्तरहिन प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गाको निर्माणाधीन भवन (भिडियाे सहित)

तपाईको प्रतिक्रिया