तस्करी सामान पक्राउ गर्दा प्रहरीको जागिर धरापमा

इनरुवा । सुनसरीको भाण्टावारी सिमा नाकाबाट तस्करीको सामान पक्राउ गर्ने एकजना प्रहरी जवान सरुवा भएका छन् । शनिबार दिउँसोको समयमा भारतीय बजारबाट ईन्डियन मोटरसाइकलमा तस्करी गरी ल्याइएका सामान बरामद गरी सुनसरी भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाएका एक प्रहरी जवान लाई सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले सरुवा गरेका हुन ।

ति प्रहरी जवानको भनाइ अनुसार १५ दिनदेखि काजमा भाण्टावारीमा तैनाथ रहेको अवस्थामा भारतीय बजारबाट तस्करी गरी कमली कार्की नामको तस्करको २६ हजार बराबरको दुई पोको सामान पक्राउ गर्दा एसपी अधिकारीले उनलाई दरबन्दी भएको स्थान दङा प्रहरीमा पठाएको छ । भारतीय बजारबाट तस्करी गर्न महिनाको ४० हजार सुनसरीका एसपी अधिकारीले लिने गरेको ति प्रहरीले बताएका छन् । शनिबार मैले अवैध सामान बरामद गरी भन्सारमा बुझाउदा “तैले किन सामान पक्राउ गरिस् भन्दै एसपी अधिकारीले गाली गर्दै जिल्ला झिकाएको र पछि दङ्गा प्रहरी पठाएको ति प्रहरीले बताए ।

सुनसरीमा तस्करहरुको लागि “सेफ जोन” मानिने भाण्टावारी नाकाबाट सिमा प्रहरी चौकी भाण्टावारीका प्रहरी नायब निरीक्षक दिपक पोखरेलले एसपी र जिल्लाका अन्य उच्च सुराक्षा अधिकारीहरु संग मिलेर तस्कर लाई तस्करी गर्न संरक्षण गर्ने गरेको आरोप लगाइएको छ । यसबारेमा सुनसरीका एसपी राजन अधिकारीसंग प्रतिक्रिया लिन खोज्दा “यसमा मेरो केही प्रतिक्रिया छैन भन्दै” उनले फोन काटे ।

Purbeli TV

तपाईको प्रतिक्रिया