अवकाश सगै बढुवाको चलखेलमा प्रहरी

तीस वर्षे सेवा अवधिका कारण प्रहरीका केही उच्च अधिकृतहरू आगामी असार २९ गते अवकाश पाउदै छन् । अवकाश हुनेहरूमा डिआइजीहरू उत्तम कार्की, पवनप्रसाद खरेल, छविलाल जोशी बन्जाडे, ज्ञानविक्रम शाह, शरद चन्द, प्रेम चन्द, रविन्द्र शर्मा, श्याम खड्का छन् भने एसएसपीहरूमा– मोहनराज जोशी र श्यामबहादुर खत्री छन् । श्यामबहादुर खत्री साढे ३३ किलो सुन प्रकरणमा अहिले जेलमा छन् ।

निवर्तमान आइजिपी प्रकाश अर्यालको समूहका भए पनि यी अधिकृतहरू सेवा प्रवेश गर्दा वैैकल्पिक उम्मेदवारका रूपमा ३ महिनापछि प्रवेश गरेका कारण सोही अनुसार नियुक्ति पाएकाले यो बीचको जागिर खान पाएका हुन् । सरकारले नेपाल प्रहरीमा प्रशासनतर्फ ३ जना एआइजीको मात्रै दरबन्दी स्वीकृत गरेपछि पनि बढुवा हुन नसक्दा प्रतिस्पर्धी डिआइजीहरू एआइजीमा बढुवा हुन पाएनन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले व्यक्तिका लागि पद सिर्जना गर्दै प्रशासनतर्फ १५ जना एआइजीसम्म बनाउने कार्य ग¥यो जसका कारण देउवा ज्यादै आलोचितसमेत हुन पुगे । निर्वाचनको मुखमा आर्थिक चलखेलका आधारमा यसरी दरबन्दी थपिएको कुरा छताछुल्ल हुन पुग्यो । वर्तमान सरकारले प्रहरीमा प्रशासनतर्फ ३ जना एआइजीको मात्रै दरबन्दी स्वीकृत ग¥यो तर यो निर्णय विगतमा वामदेव गौतम उप तथा गृहमन्त्री हुँदा नै भएको थियो ।

एआइजीको दरबन्दी स्वीकृत त निश्चित भए पनि अवकाशको मुखमा रहेका कारण यो समूहलाई एआइजीको बढुवा नगर्ने निर्णयमा सरकार पुगेकै कारण पद रिक्त हुँदाहुँदै पनि यी प्रतिस्पर्धी अधिकृतहरू डिआइजीमा नै अवकाश हुन बाध्य भए । यी अधिकृतहरूको अवकाशसँगै बढुवा प्रक्रिया सुरु भएका खण्डमा नेपाल प्रहरीमा १५ जना एसएसपीका पदहरू रिक्त हुने देखिन्छ । यसका लागि ३ जना एआइजी र १० जना डिआइजीको बढुवा हुनुपर्छ ।

यसरी रिक्त हुने १५ एसएसपीका पदका लागि अहिलेदेखि नै व्यापक चलखेल सुरु भएको छ । एसएसपीबाट डिआइजीका लागि प्रतिस्पर्धा नै गर्नु नपर्ने अवस्था छ । एसएसपीका हकमा भने २०७१ फागुन १० गते डिएसपीबाट एसपी भएकाहरू बढी प्रतिस्पर्धामा रहेका छन् । त्यतिबेला ३३ जना डिएसपीहरू एसपीमा बढुवा भएका थिए । बढुवा हुनेहरूमा– गणेश रेग्मी, श्यामलाल ज्ञवाली, सन्दिप भण्डारी, वसन्त कुँवर, रामदत्त जोशी, भरत बोहरा, मीरा चौधरी, किरण बज्राचार्य, टेकप्रसाद राई, रविन्द्र केसी, पोषराज पोखरेल, नवराज भट्ट, बुद्धि गुरुङ, उमेशराज जोशी, नरेन्द्र उप्रेती, कुबेर कडायत, केदार ढकाल, राजेन्द्र विष्ट, राजुबाबु श्रेष्ठ, विष्णुकुमार केसी, राजेश बास्तोला, सुदिप गिरी, टेकबहादुर तामाङ, जनक भट्टराई, दुर्गा सिंह, विकासराज खनाल, कृष्ण महत, लालमणि आचार्य, तुलसी अधिकारी, गोविन्द शाह, उमाशंकर पञ्जियार, किरण राणा र भीम ढकाल रहेका छन् । यीमध्ये स्थानेश्वर रेग्मी र प्रकाश चन्द अवकाश भइसकेका छन् भने विकास खनाल साढे ३३ किलो सुन प्रकरणमा निलम्बनमा छन् । राजुबाबु श्रेष्ठ र तुलसी अधिकारी आगामी कार्तिकमा अवकाश हुँदैछन् ।

बाँकी २८ जना अब एसएसपीका लागि प्रतिस्पर्धामा छन् । त्यसपछि ०७२ असार ३० गते दिपक थापा, अर्जुन चन्द र पवन गिरी बढुवा भएका थिए । पवन गिरी पनि अवकाश भइसकेका छन् । प्रहरी नियमावलीमा एसपीबाट एसएसपीका लागि बढुवा हुन ४ वर्षे प्रावधान अनिवार्य रहेको भन्ने वाक्यांशका कारण यी अधिकृतहरूको बढुवा प्रक्रिया लम्बिने अवस्था सिर्जना भएको छ । चार वर्ष पुग्नका लागि उनीहरूले फागुन १० गते कुर्नुपर्ने अवस्था छ । यसबीचमा यो समूह ४ वर्षे कार्यकाल हटाएर ३ वर्षे बनाउनका लागि निकै सक्रिय पनि भएका थिए । जुन समाचार पहिलो पटक नव जनप्रहारले सार्वजनिक गरेको थियो । गृहमन्त्रालय ३ वर्षे पदावधि बनाउन सकारात्मक नदेखिएपछि यो समूह पछि हटेको थियो । अहिले आएर नियमावलीमा भएको एउटा बुँदालाई टेकेर यो समूह बढुवाको अभियानमा सक्रिय रहेको छ ।

प्रहरी नियमावलीको एसपीबाट एसएसपी बढुवा हुनका लागि चाहिने सेवा अवधि– ‘१) प्रहरी सेवाको रिक्त पदमा बढुवाद्वारा पदपूर्ति हुने पदको उम्मेदवार हुन बढुवा हुने श्रेणी वा तहभन्दा एक श्रेणी वा तह मुनिको पदमा देहायबमोजिम न्यूनतम सेवा अवधि पूरा भएको हुनुपर्नेछ– (क) ‘प्रहरी सेवाको राजपत्रांकृत अधिकृत पदका लागि ४ वर्ष’ । नियमावलीको यही प्रावधानलाई टेकेर अहिले यो समूह एसएसपीको बढुवाका लागि सक्रिय रहेको छ ।

यसका लागि उनीहरूले गृहसचिव, गृहमन्त्री, नेकपाका नेता पुष्पकमल दाहाल, प्रधानमन्त्री केपी ओली, ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालसमेतलाई भेटी लविङ गरिरहेका छन् । यदि यो अभियानलाई पनि गृहले सहमति नदिएका खण्डमा पद रिक्त हुँदाहुँदै पनि उनीहरू फागुन १० गतेसम्म बढुवाका लागि कुर्नुपर्ने अवस्था छ । यो नियमावली कुबेर सिंह राना आइजिपी हुँदा बनाइएको हो । यो नियमावली निजामतीको कपी गरी पेष्ट गरिएको आरोप त्यतिबेला नै लागेको थियो ।

रानाले यो बनाउने जिम्मा आफूलाई कानुन्ची भन्न रुचाउने हालका एसएसपी मुकुन्द आचार्यलाई दिएका थिए । आचार्यले भने बढुवाका लागि ४ वर्ष पुग्नै पर्ने तह भनेको पद हो भन्दै आएका छन् । यो भन्नुको अर्थ पनि यसमा ठूलो चलखेल रहेको छ ।

शैलेश थापा जो अहिले प्रहरी प्रवक्ता पनि छन् यो समूह ४ वर्ष पूरा भएरै तल्लो समूह बढुवा होस् भन्ने पक्षमा लविङमा लागेका छन् । भोलि आफ्नो समूहमा समेत उनीहरूले प्रतिस्पर्धा गर्न सक्ने भन्दै उनीहरूलाई बाटो छेक्ने अभियानमा थापाको समूह सक्रिय रहेको छ । नव जनप्रहारबाट साभार

Purbeli TV

तपाईको प्रतिक्रिया