उम्टीटीको गोलमा फ्रान्सले १२ वर्षपछि फाइनलको ढोका खोल्यो

१२ बर्षपछि फ्रान्स विश्वकप २०१८ को फाइनलमा प्रवेश गरेको छ । फ्रान्स सेमिफाइनलमा बेल्जियमलाई १–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

फ्रान्सलाई जीत दिलाउने स्यामुअल उम्टीटीले खेलको ५१ औँ मिनेटमा गरेको हेड गोल नै पर्याप्त बन्यो । खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । त्यसपछि फ्रान्सले दोस्रो हाफको सुरुवातमा नै अग्रता लिएको थियो । उम्टीटीको उक्त एकमात्र गोल खेलको निर्णायक बन्यो ।


कर्नरबाट आएको बललाई उम्टीटीले हेडमार्फत गोलमा परिणत गरेका थिए। खेलको म्यान अफ द म्याच पनि स्यामुअल उम्टीटी बने। खेलमा दुवै देशले उत्कृष्ट अवसर सिर्जना गरेका थिए तर गोल गर्न भने असफल रहेका थिए । दुवै देशले खेललाई रक्षात्मक बनाएका थिए। फ्रान्स १२ वर्षपछि फाइनलमा प्रवेश गरेको हो। यसअघि सन् २००६ मा फ्रान्सले फाइनलसम्मको यात्रा तय गरेको थियो । फ्रान्सले विश्वकप जित्नका लागि इंग्ल्यान्ड र क्रोएसियाबीचको बुधबार राति हुने खेलको विजेतासँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

तपाईको प्रतिक्रिया