एसईई नतिजा र मनोविज्ञान

एसईईको नतिजा प्रकाशनले कलिला भाइबहिनीमा सकारात्मक तथा नकारात्मक दुवैखाले सोचलाई मलजल गराएको छ । मुलुकभरि कतै नसोचेको नतिजा त कतै राम्रा विद्यार्थीले समेत तल्लो स्तरको नतिजा पाएका कारण अनेकौँ अड्कलबाजी भइरहेकै छन् । यस वर्ष लगभग चार लाख ५१ हजार सहभागी विद्यार्थीमध्ये १४ हजार २३४ ले ए प्लस ल्याए । जसमा ४६ हजार १३० जनाले ए ग्रेड, ४९ हजार ३७ जनाले बी प्लस ल्याएको नतिजा छ भने बी ग्रेडमा १२ हजार ७० हजार ५१२ जना, सी प्लसमा ६१ हजार ८७० विद्यार्थी उत्तीर्ण भएको विवरण छ । बाँकी ९४ हजारभन्दा बढी विद्यार्थीको तथ्याङ्क छ । सी ग्रेड अर्थात् जीपीए २ (१ दशमलव ६५ प्रतिशत) नल्याउने विद्यार्थीले माथिल्लो तहमा अध्ययन गर्न नपाउने व्यवस्था छ भने अङ्गे्रजी र गणितमा न्यूनतम् सी प्लस तथा सामाजिक र नेपालीमा न्यूनतम् डी ग्रेड ल्याउनुपर्ने प्रावधान छ तर नतिजामा अत्यन्तै कमजोर सहपाठी साथी र रातोदिन मिहिनेत गरी घोटिएकाले पनि उही ग्रेड ल्याएका धेरै घटनालाई हेर्दा लापरबाही भयो भन्नुमा अत्युक्ति नहोला नै ।

नतिजा विश्लेषण गर्दा लगभग एक लाख जति विद्यार्थीले माथिल्लो तहमा अध्ययन गर्न नपाउने देखिएको तीतो पक्ष छ । यसबाट शैक्षिक गुणस्तरमा ह्रास भएको भान पनि नभएको होइन । परीक्षा र मिहिनेतको अवमूल्यन हुँदा परीक्षा पद्धति र एसईई सिङ्गो स्तरप्रति नै जनविश्वास घट्ने यस्ता गैरजिम्मेवारीपूर्ण कार्यलाई हतोत्साही गर्ने व्यवस्थापनका बारेमा सरोकारी सबैले आत्मसमीक्षा गर्नु आवश्यक छ । वास्तवमा एउटै परीक्षा केन्द्रमा कुनै कोठामा अत्यन्तै कडा नियममा परीक्षा हुने र अर्कोमा खुकुलो हुने गरेको छ । परीक्षा र लेखाइको मापनसँग जोडिने मनोवैज्ञानिक पक्षको विषयलाई संवेदनशील ढङ्गले केलाइनु जरुरी छ । परीक्षा कोठाको वातावरण, परीक्षा गार्डको व्यवहार, प्रश्नपत्र तथा थप कपी दिनमा लगाइएको समयजस्ता स–साना पक्षले परीक्षामा प्रत्यक्ष प्रभाव पारेको हुन्छ । अर्को पक्षमा विद्यार्थीको स्वास्थ्य अवस्था, पढ्नका लागि पाएको अवसर र शिक्षकले सिकाएका ज्ञानको शैली, विद्यालयले दिएका वातावरण लगायतका लुकेका र हामीले यादै नगरेका कतिपय पक्षले विद्यार्थीमा मनोवैज्ञानिक झापड हानेको हुन्छ । कपी जाँचकीको मनोविज्ञान र लगनले समेत प्राप्त नतिजामा सक्दो प्रभाव पारेकै हुन्छ । कपी जाँच्नेभन्दा कपीमा पैसाको स्वरूपलाई देख्न थाल्ने हो भने त्यहाँ विद्यार्थीको लगनको अवमूल्यन भएको हुन्छ ।

रमेश भट्टराई ‘सहृदयी’

विद्यार्थीको श्रम र मिहिनेतको उचित मूल्याङ्कन गर्ने विषयविज्ञको व्यवस्थाबारे अब हरेक प्रदेशद्वारा मनन गरिनु आवश्यक छ । नतिजा प्रकाशनमा देखिएका त्रुटि र क्षमतालाई तुलना नै गर्न नमिल्ने सहपाठीसँगको समान नतिजा आउँदा मेधावी विद्यार्थीको उत्साहमा विश्वासघात हुन्छ । राम्रा विद्यार्थीले कमसेकम चाहेको र पाउनुपर्ने प्राप्ताङ्कमा ठगिनु पक्कै पनि व्यवस्थामा देखिएको त्रुटि नै हो । एक जना अङ्ग्रेजी पढाउने शिक्षिकाले भन्नुभयो, “मेरो विद्यार्थीहरूमा सी ग्रेड ल्याउनेले पनि ‘ए’ ल्याएको छ तर ‘ए प्लस’ ल्याउनुपर्नेको पनि ए नै आएको छ । यो कस्तो शिक्षकले कपी जाँचेको होला । कि सालाखाला नम्बर दिएर पठाएको हो मैले त बुझ्नै सकिनँ । ” यसर्थ भाषागत विषयमा जाँचकीको लगन र मनोविज्ञानले प्रत्यक्ष प्रभाव पारेको देखिन्छ । नेपालीमा जीपीए चार आउनु ठूलो कुरा मानिन्छ । सामाजिक विषयमा राजनीतिगत ज्ञान र दैनिक समाचारका कुरामा विद्यार्थीले चासो नगरेकाले समस्या आएको देखिन्छ । अर्को पक्ष नेपाली र सामाजिक विषयलाई गाह्रो हुन्छ भन्ने भावनाले प्रत्यक्ष प्रभाव पारेको पाइन्छ । धेरैजसो विद्यालयले सबैभन्दा बढी लगानी गणित विषयकै अध्यापनमा लगाएको हुन्छ किनकि गणितमा हिसाब मिलाएमा राम्रो नतिजा आउँछ तर अब भने सबै विषयलाई उत्तिकै महìव दिनुपर्छ भन्ने मान्यताको विकास भएको सकारात्मक अनुभव छ ।

बोधगम्यता र मनोविज्ञान

वास्तवमा अभिभावक वा आफन्तले आफ्ना छोराछोरीले यस्तो नतिजा ल्याइस् भनी गाली नगरौँ । धन्यवाद तथा बधाई दिउँँ । तिनको हौसलामा थप ऊर्जा मिलोस् । राम्रै नतिजा ल्याउने पनि माथि गएर लड्ने गरेका दुःखद् कुराप्रति सचेत गराऔँ । पढाइको विषय मात्र सबै कुरा होइन, मान्छे बनेर हिँड्न सिकाऔँ । भविष्यका रेखा कोर्ने र लक्ष्य निर्माणका लागि के गरौँ कसो गरौँ भन्ने सोचमा हुर्कने उमेर हो यो । यसर्थ बाल मनोविज्ञानमा जटिल हुने नकारात्मक कुराले जीवनमा नैराश्यता हुने कुनै पनि व्यवहार र वचनले तिनको चाहनामा चोट नपु¥याउनुमा बुद्धिमानी हुन्छ । भर्खरै किशोरावस्थामा प्रवेश गरेका १५–१६ वर्षका जोशिलाको नतिजाका लागि धन्यवाद दिएर आगामी लक्ष्य कोर्ने बाटोमा सक्दो सहयोग गरौँ । तिनमा जीवनको परिवर्तन र सफलताको दोहोरो विरोधाभाषले प्रभाव पारेको हुन्छ । शारीरिक परिवर्तनसँग नेतृत्वकारी चाहना र भविष्यप्रतिको चिन्ताले सताइरहेको हुन्छ । यस्तो अवस्थामा अग्रजको सहायताबाटै तिनले आगामी लक्ष्य बोध गरून् । कुन संकाय पढे के हुन्छ, कसरी पढे राम्रो हुन्छ भन्ने जस्ता सल्लाहमा उचित सहयोग गरौँ । यसर्थ नतिजा जे जस्तो भयो त्यसमा खुसी भएर आगामी पढाइको महìवलाई बुझ्नु आवश्यक हुन्छ । नतिजाले मान्छेको गुण विकास र भोलिको भविष्यलाई मद्दत पु¥याओस् । जीवन र जगत्को नैतिक ज्ञानको अभावका कारण आजभोलि विश्वव्यापीकृत भौतिक ज्ञानले तिनलाई पूर्णता दिन नसकेको देखिन्छ । यसर्थ व्यावहारिक ज्ञानका कुरा, दैनिक जीवन जिउने सहज तरिकाको विषयमा अग्रजले सहायता दिनु बुद्धिमानी कर्म हुन्छ ।

आजको विश्वसँग परिचित बन्नु सबैको आवश्यकता हो । धेरै निजी शिक्षण संस्थाले विद्यार्थीलाई विभिन्न खाले बहानामा ब्रह्मलुट गर्ने र सामुदायक शिक्षण संस्था अव्यवस्थित भएका कारण धेरै सर्वसाधारणले आर्थिक, मनोवैज्ञानिक जटिलता बेहोर्नुपरेको देखिन्छ । आजका पुस्ताले भोग्नुपरेका हरेक अप्ठ्यारामा पैसाको बिटोले प्रहार गरेको छ । स्वदेशमै केही गर्नुपर्ने सोच आजका पुस्तामा नहुनु अग्रज पुस्ताको गलत सिकाइको परिणाम हो । हुन त देशले युवाको क्षमतालाई देशमै स्थान दिन नसक्नु पनि हो । मुलुकमा बौद्धिक प्राज्ञिक वर्गको सम्मान गर्ने वातावरणको स्थापना गर्न पनि अब स्वदेशमै बसेर केही गर्ने सोचको विकासप्रति आजका पुस्तालाई प्रोत्साहन गरौँ ।

मूलतः शहरी परिवेशमा विदेशिने चाहना बढी रहेको देखिन्छ । आजका पुस्तालाई स्वदेशका सम्भावनाका विषय सबै निबन्ध लेख्न र कथा पढ्नका लागि मात्रै रुचिकर बन्न थालेको बुझिन्छ तर हाम्रो देशमा पर्यटन विकासले गति लिएकै छैन । अत्यधुनिक विकासमा युवाको सञ्जाल बनेकै छैन । साँच्चै बौद्धिक विशेषज्ञको टोलीले विकास र रोजगारका सम्भाव्यतामा सोचेर लागिपरेको अवस्थै छैन । अत्याधुनिक खेती, कृषि विकास तथा अन्य लघु उद्योगको सोचले बाटो पाएकै छैन । हामीले खाली अर्काले बनाएको सुन्दर विकसित क्षेत्रतिरको आकर्षण बढाएका छौँ । नकारात्मक संस्कृतिलाई भित्र्याएका छौँ । आफ्नै कला, संस्कृति, परम्परालाई रुढिवादी भनेका छौँ तर विश्लेषण गरेर केलाएका छैनौँ । एउटा विदेशी नेपालमा आउँदा यहाँको सुन्दरता, संस्कृतिमा रमाउन खोज्छ, विश्लेषण गर्छ । आनन्दको अनुभूति गर्छ । हामी ठूला भवनतिर लम्किरहँदा तिनले चोयाको सामग्रीलाई मन पराइरहेका छन् । यसर्थ आजका पुस्तालाई नयाँ भविष्यलाई केलाएर मुलुकमै केही विकासका कार्य गर्ने, आफ्नै देशलाई सुन्दर र विकसित तुल्याउने सोचलाई विकास गर्दै अघि बढ्नेतर्पm अभिप्रेरित गरौँ ।

Purbeli TV

तपाईको प्रतिक्रिया