सडक बालबालिका र उदासिन सरकारी संयन्त्र

इटहरी / बिहानको साढे नौ बजेतिर पहेंला रंगका स्कूल बस विद्यार्थी लिएर ओहोर दोहोर गरिरहेका छन् । इटहरी उपमहानगरपालिकाको कार्यालय देखि पूर्व, इलाका प्रहरी कार्यालय देखि पश्चिम पट्टिको होटल अगाडी, फोहोरका थुप्रो छेउमा अन्दाजी आठ बर्षका बालक भूइंकै ओछ्यान र ढुङ्गाको सिरानी लगाएर निदाइरहेका छन् । ठाँउ ठाँउमा फाटेको सेतो रंगको सर्ट कटकटिएको मैलोले कालैजस्तो देखिन्छ । अनुहारमा भन्किरहेका झिँगा नाकका प्वालबाट भित्र पस्न खोजेपछि भने ती बालक ब्यूझन्छन् । इटहरी उप–महानगरपालिकाको मुख्य बजार क्षेत्रमा कवाडी संकलन गर्दै डेनड्राइड सुंघ्दै सडक पेटीमा रात कटाउने सन्तोषजस्ता अरु २३ जना भन्दा वढी सडक बालबालिका छन् ।

एक सहकारी संस्थाले वार्षिक उत्सवको अवसर पारेर २०७५ जेठ १८ गते इटहरीको रेयुकाई चौतारीमा रक्तदान कार्यक्रम ग¥यो कार्यक्रममा रक्तदातालाई अण्डा र फलफुल वितरण गरेको सडक बालबालिकाले टुलुटुलु हेरिरहेका थिए । एक जनाले आधा स्याउ खाएर फोहोरको थुप्रोमा फाले र पर बसेर टुलुटुलु हेरिरहेका सडक बालबालिकाले विरालोका चालमा आएर फोहोरको थुप्रोको जुठो स्याउ खोसाखोस गर्दै खाए ।

उमेरले उनीहरु बिद्यालय जाने अवस्थाका छन् । ६ वर्ष देखि १६ बर्ष उमेर समूहका एकै नासे बालक इटहरी बजारका गल्लिगल्लीमा कवाडी मालसामान खोज्दै हिडिरहेका देखिन्छन् । उनीहरुको हातमा किताब र कपी हैन काँधमा फोहर बोक्ने बोरा देखिन्छ । सिविनले सन् २०१६ नोभेम्बरमा सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालका मुख्य सहरमा झण्डंै पाँच हजार सडक बालबालिका छन् । तिनै पाँच हजार बालबालिकामध्ये इटहरीमा २३ जना भन्दा वढी छन् ।

बिहान–बिहानै इटहरीको विष्णु मिठान भण्डार अगाडि हातमा डेनड्राइड बोकेका सडक बालक सुतिरहेका भेटिन्छन् । इटहरी उपमहानगर क्षेत्रभित्र रहेका सडक बालक डेनड्राइड लिने, मानसिक र शारीरिक हिंसामा पर्ने भएकाले समूह बनाएर हिड्ने, फोहोरी अशोभनीय व्यवहार गर्ने, धुमपान, मद्यपान गर्ने, असामाजिक कार्यमा संलग्न हुने, पकेट मार्ने, चोर्ने, ठग्ने, कार्यमा संलग्न रहेको पाइएको हेल्पीङ्ग युथका अध्यक्ष घनेन्द्र पौडेलले बताए ।

गत बैसाख २१ गते इटहरीको बिपि चौकमा चोरी गर्दागर्दैको अवस्थामा एक जना सडक बालक पक्राउ परे । स्थानीयले रङगेहात समातेका ती बालकलाई कुटपिट गरेर छाडिदिए । इटहरीमा सडक बालक संलग्न चोरीका घटनामा परेको यो त एउटा प्रतिनिधिमुलक घटना मात्र हो । चोरीका घटनामा सडक बालकको संलग्नता प्रसस्तै भेटिने गरेको इटहरीका ब्यवसायी राजकुमार कार्की बताउछन् । केहि वर्ष अघि धरान र उर्लाबारीमा सडक बालकले दुई जनाको हत्या गरे । उर्लाबारीमा एक महिलालाई सामूहिक बलत्कार समेत गरे । यस्ता घटनाले इटहरीवासीलाई पनि झस्क्याउने गरेको छ ।

इटहरी–९ प्रगति चोकमा फुस्रो कपाल भएको, असाध्यै पातलो फोहोर निलो हाफपेन्ट मात्र लगाएको एक सडक बालक नालामा प्लाष्टिकका कवाडी मालसामान खोज्दै थिए । यति नगरे उनले बिहान बेलुका खान पाउदैनन् । अस्ति एकपटक बिरामी पर्दा दुई दिन सम्म मुखमा पानी समेत नपरेको उनले दुःखेको पोखे ।
नेपालको संविधानले प्रत्येक बालबालिकालाई परिवार तथा राज्यवाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जनको ब्यवस्था हुनुपर्ने हक सुरक्षित गरेको छ तर सडक बालबालिका इटहरीमा कष्टकर जीवन बिताउन बाध्य छन् । सडकको जीवन उनीहरुका लागि कष्टप्रद छ नै इटहरीवासीका लागि समेत उनीहरु पिरलो बन्ने गरेका छन् ।

बाबु आमाले नै मगन्ते बनाए

इटहरीको सडकमा प्रत्येक रात एउटा परिवार नै सुतेको भेटिन्छ । त्यो परिवारमा बाबु, आमा, छोरा, छोरी र साली गरी पाँच जना छन् । बिहान पख भने त्यो परिवार भिन्न भिन्न हुन्छ । बाबु आमा एकातिर माग्न जान्छन् । छोरा छोरी अर्कोतिर दिनभर माग्नमै व्यस्त हुन्छन् । राति भएपछि एकै ठाँउमा भेला हुन्छन् अनि खुल्ला आकाश मुनि सुत्छन् । यसरी परिवारको जिविका चलाउन बाध्य छ त्यो परिवारले । अन्दाजी ६ बर्षिय बालक हरेक दिन इटहरीको चौरास्तामा मागिरहेका भेटिन्छन् । बालबालिकालाई अरु पनि कतिपय परिवार तथा आश्रित व्यक्तिहरुले सडक बालबालिका बनाएर माग्ने काममा सडकमा छोड्ने गरेको समेत पाइएको छ । यस्ता बालबालिका राति भने संरक्षकहरुसंग बस्ने गरेको पाइएको सडक बालबालिकाहरुको क्षेत्रमा काम गर्ने संस्था भ्वाइस अफ चिन्डे«न इटहरीले जानकारी दिएको छ । परिवार तथा संरक्षकहरुले सडकमा माग्न प्रयोग गर्ने सडक बालबालिका बिभिन्न बहाना बनाएर अरुसंग हात पसार्ने गर्छन् र यसरी आएको रकमहरु संरक्षकहरुलाई दिने गरेको सडक बालकहरु सुनाउछन् । कहिलेकाँही आफूहरुले मागेर जम्मा पारेको रकम आफू भन्दा ठूलो सडक बालकले खोस्ने गरेको एकजना साना सडक बालकले रुदै सुनाए ।

उद्धार गरे पनि भागेर सडकमैगैह्रसरकारी संस्थाहरुले संरक्षणमा राख्न खोजे पनि सडक बालबालिका फेरी भागेर सडकमै आउने गरेको पाइएको छ । आफूहरुले उद्धार गरेर परिवार सँग पुनःमिलन गराएका ७ जना बालबालिका पुनः सडकमै फर्केको सोही संस्थाले जनाएको छ । परिवारमा झंै झगडा आपसी सद्भाव र अभिभावकको माया ममताको कमी भएपछि पुनः बालबालिका सडकमै फर्कने गरेको भ्वाइस अफ चिल्ड्रेन इटहरीका कर्मचारी भरत थापा बताउछन् । उनकाअनुसार डेनड्राइड खाने लतका कारण त्यो लत छाड्न नसकेर समेत बालबालिका सडकमै फर्कने गरेका हुन् । यसकारण आउछन् बालबालिका सडकमा दुई बर्ष देखि सडकमा जीवन बिताउँदै आएका दमक घर बताउने १३ बर्षीय बालक राम भुजेल घरको पारिवारिक अवस्था नाजुक भएको र बिहान बेलुका हात मुख जोर्न समेत कठिन भएको कारणले गर्दा मिठो खान र राम्रो लगाउन पाउने आसामा घर छाडेर हिडेको बताउछन् । रातदिनको आमा बुवाको झगडा र आफूहरुलाई बेवास्ता गरिएका कारण दिक्क भएर घर छोडेका रामले कयौं दिन भोकभोकै बिताउनु परेको छ । पेट पाल्नकै लागि सडकमा पैसा माग्दै हात पसार्ने गरेका उनलाई धेरैले गाली गरेर खेदाउने गरेका छन् ।

भ्वाइस अफ चिड्रेन इटहरीका कर्मचारी प्रकाश परियार बालबालिका सडकमा आउनुको प्रमुख कारण गरिबी नै हो भन्छन् । उनकाअनुसार सडकमा हुर्कदै आएका अधिकांश बालबालिका आफ्नो किसिमको जीवनशैली अपनाउन थाल्छन् । फोहोरमा प्mयाँकिएका समानहरु संकलन गर्ने भएका कारण सीसा, टिन, फलाम लगायतले काटेका घाउहरु जताततै हुनु सडक बालकको पहिचानजस्तो बनेको छ ।

बाल अधिकारकर्मी निराजन पाण्डे भन्छन्, “इटहरीमा सामाजिक समस्या बन्दै गएको सडक बालबालिका रहरले सडकमा आएका भने होइनन् । परिवार र समाजको बिभिन्न परिवन्धमा परेर उनीहरु सडकमा जीवन बिताउन बाध्य छन् । आमाबाबुको काखमा हासीखुसी रहने र कापीकिताब लिइ विद्यालय जाने उमेरका यी केटाकेटीले सडकमा अव्यवस्थित जीवन बिताउनु स्थानीय तह र सिङ्गो राष्ट्रको लागि पनि दुःखद कुरा होे ।”
पारिवारिक हिंसा, साथीसंगत, राजनीतिक अस्थिरता, सामाजिक, पारिवारिक विखण्डन, अशिक्षा, बसाइसराइ, लगायतको कारणले पनि बालबालिका सडकमा आएको पाइन्छ ।

केही सडक बालबालिका खलासी हुने, पत्रपत्रिका बेच्ने, प्लाष्टिक बटुलेर बेच्ने, निर्माण कार्यमा सहयोग गरी जीवन निर्वाह गरिरहेका पनि देखिन्छन् । तर अधिकांशमा उपेक्षित वातावरणमा रहनु पर्दा अपराधिक मानसिकताको विकास हुने गरेको सडक बालबालिकालाई नजिकबाट नियाली रहेका इटहरीका बिशाल रिजाल बताउछन् ।

 उदासिन सरकारी संयन्त्र

अधिवक्ता निराजन ओझा हरेक बालबालिकाले बुवाआमाको मायाँ ममताका साथमा असल शिक्षा प्राप्त गर्न पाउनु नैसर्गिक अधिकार रहेको बताउछन् । उनका अनुसार घर परिवारको अलावा बालबालिकाप्रतिको जिम्मेवारी राज्यको नै हो । उमेर पुगेपछि नागरिकता प्रदान गर्दैमा राज्यको भूमिका पर्याप्त हुदैन । राज्य बालबालिकाको अधिकारप्रति ज्यादै संवेदनसिल हुनुपर्छ , आजका बालबालिका भबिष्यका कर्णधार हुन् भन्ने कुरा भुल्न नहुने र बुवाआमा भएका बालबालिकाको अतिरिक्त बेसाहारा अनाथ बालबालिकाको समेत राज्य अभिभावक बनेर उनीहरुको बसाइ, शिक्षा, स्वास्थजस्ता विषयमा सचेत भै त्यसको उचित ब्यबस्थापन गरिदिनुपर्ने ओझाको धारणा छ ।

इटहरी उप–महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि सार्बजनिक गरेको नीति तथा कार्यक्रममा नै इटहरीलाई २०७५ भित्रमा सडक बालबालिका मुक्त शहर बनाउने जनाएको छ । उपप्रमुख लक्ष्मी गौतमले स्थानीय निकाय बाट नै सडक बालबालिकालाई मनोवैज्ञानिक परामर्श, तालिम, शिक्षा, खाना, कामको व्यवस्था, पारिवारिक, सामाजिक पुनःमिलन गराउन पहल गरेर इटहरीलाई २०७५ भित्रमा सडक बालबालिकामुक्त सहर बनाउन अभियान संचालन गर्ने बताइन् । उनले कागजी रुपमा र सामाजिक सञ्जालमा तस्बिर रंगाउन मात्र अभियान नचलाएर योजनाबद्ध ढंगले अघि बढ्न सके इटहरीलाई नेपालमै सडक बालबालिकामुक्त नमूनाशहर बनाउन सकिने बताइन्।

नागरिक समाज इटहरीका उपाध्यक्ष दिनेश रसाइली निजी विद्यालयहरुले आफ्ना विद्यालयका १० प्रतिशत गरिव जेहन्दार विद्यार्थीहरुलाई छात्रवृति दिएर अनिवार्य पढाउनुपर्ने राज्यको नीति अन्र्तगत इटहरीका २३ जना सडक बालबालिकाको ब्यवस्थापन गर्न सकिने उपाय सुझाउछन् । २३ वटा विद्यालयले एक एक जना सडक बालकलाई पढाउनु राम्रो हुन्छ त्यसकालागि नागरिक समाजले पनि पहल गर्छ रसाइलीले थपे ।

निजी विद्यालयहरुको छाता संगठन प्याप्सन सुनसरीका अध्यक्ष सुमीत थापा सडक बालबालिकाको विषयमा के गर्न सकिन्छ योजना बनाउने तयारीमा रहेको बताउछन् । तर अभिभावक नभएका कारण तत्कालै उनीहरुलाई निजी विद्यालयले सवै जिम्मा लिएर संरक्षण गरिहाल्ने अबस्था भने नरहेको जनाए । सर सल्लाह गरेर निश्चित योजना बनाएर भने अघि बढ्न सकिने उनको भनाइ छ ।

मानवअधिकार सञ्चाल सुनसरीका अध्यक्ष रमेश भट्टराई सुरुमा केहि समय सडक बालबालिकालाई मनोसामाजिक परामर्श दिनुपर्नेमा जोड दिन्छन् । उनीहरुको स्वास्थ्य परिक्षण गरेर केहि समस्या भए उपचारको ब्यवस्था स्थानीय तहले मिलाउनु पर्ने उनको भनाइ छ । मनोपरामर्श र स्वास्थ्य उपचार पछि उनीहरुको पढाईको ब्यवस्था निजी विद्यालयहरुसँग परामर्श गरेर गर्न सकिनेमा भट्टराईको पनि जोड छ । उनकाअनुसार बर्सेनि कति सडक बालक इटहरीमा आउछन्, उनीहरु खास सडकमा आउनु पर्ने कारण के हो ? त्यो पत्ता लगाएर परिवारमा पुनःस्थापना गर्न सकिने र परिवार नभएकाको हकमा स्थानीय सरकार नै अभिभावक बनेर उनीहरुको उचित ब्यवस्थापनका लागि नीति बनाइनुपर्छ ।

इटहरी उप–महानगरपालिकाका शिक्षा शाखा प्रमुख भुपेन्द्र कोइराला पनि सडक बालबालिकालाई निजी शैक्षिक संस्थाहरुमा पढ्ने ब्यवस्था मिलाउन उपमहानगरपालिकाले पहल गर्ने प्रतिवद्धता जनाए । प्रत्येक बर्ष विद्यालय भर्ना अभियान सञ्चालन गरिन्छ, तर ती अभियानले समेत सडक बालबालिकालाई समेट्न सकेको छैन । आफ्नै उमेरका बालबालिका चिटिक्क परेको स्कूल गएको देख्दा आफूहरुलाई पनि विद्यालय जान रहर लाग्ने गरेको उनीहरु सुनाउछन् । शिक्षाको अभावमा उनीहरु अनुशासनहिनबवन्ने गरेका छन् । उनीहरुले बोल्ने कतिपय शब्दहरु सुन्नै असहज हुने गरेको बटुवा सुमन आचार्य बताउछन् ।

भोकभोकै हुदा खान मन लाग्छ तर खानेकुरा छैन, राम्रा लुगा लगाउन मन लाग्छ, तर लुगा छैन, पढ्न मन लाग्छ तर पढन पाएको छैन, निन्द्रा लाग्छ तर सुत्ने ठाँउ छैन, बिरामी हुदाँ दवाइ खान मन लाग्छ तर कसले दिने ? सडक बालबालिकाको प्रश्न छ खै त हाम्रो बालअधिकार ?
इटहरीका २३ जना भन्दा वढी सडक बालकहरुको बालअधिकारको संरक्षणका लागि इटहरीवासी, यहाँका संघ, संस्था र इटहरी उपमहानगरपालिका निश्चित कार्ययोजनाका साथ जिम्मेवार ढंगले लाग्न जरुरी छ । (यस समाचारमा सडक बालकको नाम परिवर्तन गरिएको छ ।)

Purbeli TV

तपाईको प्रतिक्रिया